काभ्रेको महाभारत क्षेत्रमा तीन दिनदेखि डढेलो

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण
काभ्रेको महाभारत क्षेत्रमा तीन दिनदेखि डढेलो

खानीखोला– १ थामको लेकबाट सुरु भएको  डढेलो बेथानचोक गाउँपालिका– ५, ३, २ हुँदै १ सम्म आइपुगेको छ ।

काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सीमा क्षेत्र थामलेकस्थित महाभारत सामुदायिक वनमा तीन दिनदेखिको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

मंगलबार अपराह्न २ बजेदेखिको डढेलो नियन्त्रणका लागि नेपाली सेना र प्रहरी टोली परिचालन भए पनि भिर र सुकेका पातपतिंगर धेरै भएकाले समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । खानीखोला– १ थामको लेकबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका– ५, ३, २ हुँदै १ सम्म आइपुगेको छ । ‘जंगलको डढेलो निभाउन सकिने स्थिति छैन, सेना र प्रहरीले स्थानीयसँग समन्वय गरेर बस्तीमा डढेलो आउन नदिने गरी काम गरिरहेका छन्,’ प्रजिअ ढकालले बताए।

बेथानचोक गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाका अनुसार चार किलोमिटरभन्दा धेरै क्षेत्रमा डढेलो फैलिसकेको छ । ‘बस्तीतिर बढ्न सक्ने सम्भावना छ, पानी नपरेकाले डढेलो नियन्त्रणमा लिन सक्ने अवस्था पनि छैन,’ उनले भने।

डढेलो बस्तीदेखि तीन–चार किलोमिटर दूरीनजिक आइसकेको काभ्रे प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले बताइन् । यद्यपि, बुधबार रातिको तुलनामा बिहीबार डढेलो फैलने क्रम कम भएको उनको भनाइ छ। 

डढेलो नियन्त्रणका लागि बिहीबार डिभिजन वन कार्यालयमा सुरक्षा समितिको बैठक पनि बसेको छ । वन उपभोक्ता समूह, सुरक्षा निकायसँगै वनसँग आबद्ध अन्य सरोकारवालासँगको समन्वयमा डढेलो लागेको क्षेत्र र मानवबस्तीको दूरी यकिन गरी सूचना प्रवाह गर्ने निर्णय भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी सरिता लामाले बताइन्।

बेथानचोक नारायणस्थान मन्दिर क्षेत्रमा यात्रामा रोक
बेथानचोकमा रहेको बेथानचोक नारायणस्थान मन्दिर क्षेत्रमा यात्रा नगर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ । पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत बेथानचोक गाउँपालिका– १, २, ३ र ५ का केही क्षेत्रसमेत डढेलोको जोखिममा रहेकाले डढेलो नियन्त्रणमा नआउन्जेलसम्म त्यस क्षेत्रमा यात्रा नगर्न सूचना जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए। 

गत वर्ष डढेलोले रोशी गाउँपालिका– ४ सानुपोटा गाउँमा १५, डाँडागाउँमा एउटा र माटेमा दुई गरी १८ घर नष्ट गरेको थियो।

डढेलो र आगलागी बढ्यो
माघ लागेयता वन डढेलो र आगलागीका घटना बढेका छन् । अमेरिकी अन्तरिक्षसम्बन्धी संस्था नासाको मोडिज भूउपग्रहले संकलन गरेको तथ्यांक हेर्दा एक सातायता दैनिक औसतमा एक सय ठाउँमा डढेलो लागिरहेको छ । पश्चिमी वायुका कारण सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रका केही क्षेत्रमा हल्का वर्षा हुँदा बिहीबार भने घटना केही कम भएका छन् । यद्यपि, २४ घण्टामा ७४ ठाउँमा डढेलो देखिन्छ । अघिल्लो दिन ११० ठाउँमा डढेलो थियो । अहिले चुरे, पहाड र उच्च पहाडी क्षेत्रका वनजंगलमा बढी डढेलो देखिन्छ । वन डढेलो अध्येता सुन्दरप्रसाद शर्माले हिउँदमा पनि कम पानी परेकाले डढेलो लाग्न सहयोग पुगेको र अझ बढ्न सक्ने बताए । ‘अब झन् सुक्खायाम, हावाहुरी चल्ने समय सुरु भइरहेको छ, चैत–वैशाखमा कस्तो होला भन्न सकिने अवस्था छैन । डढेलो नियन्त्रणका योजना सरकारले तुरुन्त बनाउनुपर्छ । डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरेर अग्निरेखा बनाउनतिर लाग्नुपर्छ,’ उनले भने।

१० दिनमा १०२ ठाउँमा आगलागी, २५ घरमा क्षति
माघको १० दिनमा मात्र ४६ जिल्लाका १०२ ठाउँमा आगलागी भएको छ । आगलागीमा परी बारामा एकजनाको ज्यान गएको छ । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ११ घर पूर्ण र १४ घर आंशिक गरी २५ घरमा क्षति पुगेको छ । १८ गोठ जलेका छन् भने १७८ चौपाया मरेका छन् । कम्तीमा चार करोड ४२ लाखको क्षति आकलन गरिएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै सप्तरीमा सात ठाउँमा आगलागी भएको छ।

मिनी संसद्ले गृह र वन मन्त्रालयलाई भन्यो–डढेलो नियन्त्रणका लागि कार्ययोजना ल्याऊ 
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गृह र वन मन्त्रालयलाई १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

समितिको बुधबारको बैठकले डढेलो नियन्त्रण गर्न तथा डढेलोबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि थप प्रभावकारी काम गर्ने गरी कार्ययोजना बनाई पेस गर्न र एकीकृत रूपमा कार्यान्वयन गर्न वन तथा वातावरण र गृह मन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको हो । ‘सुक्खा मौसममा वनजंगलमा डढेलोले प्रकोपको रूप लिने गरेको छ, सावधानी अपनाउनुपर्ने देखिन्छ,’ समिति सभापति कुसुमदेवी थापाले भनिन्, ‘डढेलो नियन्त्रणमा खटिँदा सुरक्षा सावधानीसहितको तालिमप्राप्त जनशक्ति र आवश्यक यन्त्र, उपकरणको पर्याप्त व्यवस्था गर्न पनि भनेका छौँ।’ 

यसपालि पनि डढेलो फैलिन्छ भन्ने अनुमान थिएन : सुन्दरप्रसाद शर्मा वन डढेलो अध्येता
गत वर्ष देशभरका वनजंगलमा डढेलो लागेकाले यसपालि अनुमान थिएन । किनकि वनमा रहेका ढलापडा र सुक्खा काठ, दाउरा, पातपतिंगर, बुट्यान गत वर्ष नै डढिसकेका थिए।

तर, माघ लागेयता हरेक दिन सय ठाउँमा डढेलो लागिरहेको छ । हिउँदमा पनि कम पानी पर्‍यो, अब झन् सुक्खायाम, हावाहुरी चल्ने समय सुरु भइरहेको छ, चैत–वैशाखमा कस्तो होला भन्न सकिने अवस्था छैन।

डढेलो नियन्त्रणका योजना सरकारले तुरुन्त बनाउनुपर्छ । डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरेर अग्निरेखा बनाउनतिर लाग्नुपर्छ। 

See More On

सुझावित समाचार