नेपाल कबड्डी लिगमा धनगढी वाइल्डक्याट्सले पहिलो जित निकालेको छ । दशरथ रंगशालाको कभर्डहलमा बुधबार पोखरा लेकर्सलाई ३८–३३ ले हराउँदै लिगमा पहिलो जित हात पारेको हो । धनगढीले जित निकाल्ने क्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ अंक जोडेको थियो । यसविपरीत पोखराले रेडबाट १५, ट्याकलबाट ११, अलआउटबाट २ र बोनसबाट ५ अंक हात पारेको थियो । जितसँगै धनगढी स्पष्ट ५ अंक थप्दै चौथो स्थानमा उक्लिएको छ ।
धनगढीले तीन खेलबाट कुल ६ अंक पुर्याएको छ । समान खेल खेलेको पोखरा ३ अंकसहित अंकतालिकाको पुछारमा छ । ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरा मात्रै हो । पहिलो हाफमै धनगढीले २३–१२ को फराकिलो अग्रता लिएको थियो । प्रतिस्पर्धाको पहिलो हाफमा धनगढी सबै क्षेत्रमा पोखराभन्दा अब्बल देखिएको थियो । तुलनात्मक रूपमा धनगढी दोस्रो हाफमा फितलो देखियो । धनगढीले पहिलो हाफमा रेडबाट १३, ट्याकलबाट ६ र अलआउटबाट ४ अंक हात पारेको थियो । धनगढीले पहिलो हाफमा पोखरालाई दुईपल्ट अलआउट गरेको गर्यो । पोखरा पहिलो हाफमा निरीह बन्यो । उसले रेडबाट ५, ट्याकलबाट ४ र बोनसबाट ३ अंक बटुल्यो । दोस्रो हाफमा एकपल्ट अलआउट गर्दै पोखराले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो ।
यसपल्ट पोखराको रेड पनि अब्बल देखिएको थियो । पोखराले रेडबाट १०, ट्याकलबाट ७, अलआउटबाट २ र बोनसबाट २ अंक बटुलेको थियो । दोस्रो हाफमा धनगढीले रेडबाट २, ट्याकलबाट ८ र बोनसबाट ५ अंक बटुल्यो । दोस्रो हाफमा धनगढीले १५ र पोखराले २१ अंक बटुलेका थिए । तर, पहिलो हाफमा लिएको फराकिलो अग्रताले धनगढीलाई पहिलो जित दिलायो ।