अमेरिकाको अधिकार क्षेत्रभन्दा बाहिर क्युबास्थित ग्वान्टानामो हिरासत केन्द्र अमेरिकी संविधान र अन्तर्राष्ट्रिय मान्यतालाई छल्न निर्माण गरिएको थियो
म १४ वर्षसम्म विनाकुनै अभियोग ग्वान्टानामो हिरासत केन्द्रमा राखिएको थिएँ । मलाई १९ वर्षको हुँदा ग्वान्टानामोको कालकोठरीमा जाकियो । मलाई किन, के कारणले थुनियो र म कहिले रिहा हुन्छु भन्नेबारे मलाई केही जानकारी थिएन । ग्वान्टानामोमा रहेका धेरै पुरुष कैदीझैँ मैले पनि मलाई थुन्ने अमेरिकी फौज आफ्नो कानुन र न्यायको आदर्शमा कायम रहनेछन् र मलाई आफ्नो बचाउ गर्ने र निर्दाेषिता साबित गर्ने अधिकार दिनेछन् भन्ने विश्वास गरेको थिए । तर, यो विश्वास पूरा हुन सकेन । ग्वान्टानामोमा मैले यातना र दुव्र्यवहार सहेँ । त्यहाँ रहुन्जेल मानवीय व्यवहार र आधारभूत अधिकारका लागि संघर्ष गरेँ । म त्यहाँबाट १४ वर्षपछि रिहा भएँ । सत्यतथ्य प्रकाशमा आएपछि विश्वले न्यायको माग गर्ला र यो यातना केन्द्र बन्द गरिएला भन्ने आशा गरेको थिएँ । तर, मेरो कथा उजागर भएको नौ वर्ष पुग्दा पनि ग्वान्टानामो हिरासत अझै खुलै छ ।
यो महिना ग्वान्टानामो स्थापना भएको २३ वर्ष भएको छ । यसलाई बन्द गर्ने वाचा गरेका अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो वाचा पूरा नगरी कार्यकाल समाप्त गरेका छन् । राष्ट्र संघका प्रतिवेदन, मानव अधिकार अभियान, मिडिया कभरेज र विभिन्न अनुसन्धान पुस्तकका बाबजुद यो अन्यायको अखडा अझै कायम छ । सन् २००१ को सेप्टेम्बर ११ को हमलापछि स्थापना भएको ग्वान्टानामो अमेरिकाको ‘आतंकविरुद्धको युद्ध’को हिस्सा बन्यो र यसले यातनालाई वैधानिकता दियो । अन्तर्राष्ट्रिय कानुनलाई कमजोर बनायो । एक निश्चित धार्मिक समुदायको अमानवीकरण गर्यो ।
अमेरिकी अधिकार क्षेत्रभन्दा बाहिर क्युबामा अवस्थित ग्वान्टानामो बन्दीगृह संविधान प्रदत्त अधिकारका साथै अन्तर्राष्ट्रिय मूल्य–मान्यतालाई छल्न निर्माण गरिएको थियो । यसले उसलाई कुनै अभियोग वा न्यायिक प्रक्रियाविनै व्यक्तिलाई अनिश्चितकालसम्म थुनामा राख्ने अवसर प्रदान गर्यो । नतिजा विभिन्न न्यायका सिद्धान्त उल्लंघन भए । यसबाहेक यो हिरासतले थुनुवालाई आफ्नो बचाउ गर्ने अवसरबाट वञ्चित गर्दै वर्षौं र कहिलेकाहीँ दशकौँसम्म समाधानविनाको पीडामा बाँच्न बाध्य बनाउँछ ।
ग्वान्टानामोले विश्वभर न्यायाधिकार क्षेत्र बाहिर हुने गिरफ्तारी, यातना र मानव अधिकार उल्लंघनका लागि नजिर सिर्जना स्थापित गरेको छ । यसको बिरासत सिआइएका गोप्य केन्द्रको स्थापना, इस्लामद्वेषको सामान्यीकरण र मानवीय मर्यादा संरक्षण गर्ने अन्तर्राष्ट्रिय मान्यताको क्षयमा देख्न सकिन्छ । विश्वव्यापी आतंकविरुद्धको युद्धको प्रतीकका रूपमा ग्वान्टानामोले मुसलमानलाई अमानवीय बनाउने नीतिलाई संस्थागत गर्यो । इस्लामद्वेषी विचारधारालाई प्रोत्साहन गर्यो । खुफिया निगरानीलाई उचित ठहर्यायो । सम्पूर्ण समुदायलाई सम्भावित खतराका रूपमा कलंकित गर्यो । ग्वान्टानामो यातना गृह उत्कर्षमा रहेको अवस्थामा ग्वान्टानामोमा करिब ६ सय ८० पुरुष र किशोर राखिएका थिए । यसमा ‘आतंककारी’का रूपमा अमेरिकी फौजलाई बेचिएकाहरू पनि थिए । म पनि यस्तै नियति व्यहोर्नेमध्येको एक हुँ ।
हाल ग्वान्टानामोमा १५ जना पुरुष बाँकी छन् र केहीलाई रिहाइका लागि स्वीकृति दिइएको छ । तर, यी अझै अलमलमा छन् । वास्तवमा यो अमेरिकी प्रणालीको असफलता अर्थात् अमेरिकाले आधारभूत मानव अधिकारको रक्षा गर्न नसकेको प्रमाण हो । यी पुरुषका लागि हिरासतका हरेक दिन मानसिक र शारीरिक यातनाको निरन्तरता हो, जहाँ यी बन्दी न स्वतन्त्र छन्, न त औपचारिक अभियुक्त छन् ।
ग्वान्टानामो बन्द गर्ने विषयमा विगत १६ वर्षदेखि निरन्तर वाचा गरिँदै आएका छन् । राष्ट्रपति ओबामाले सन् २००९ मा आफ्नो दोस्रो कार्यकाल ग्रहणका दिनको एक कार्यकारी आदेशमा ग्वान्टानामो बन्द गर्ने आदेश दिएका थिए । त्यस समय उपराष्ट्रपति जो बाइडेन उनीसँगै थिए र यसलाई समर्थन पनि गरेका थिए । सन् २०२१मा बाइडेनले पनि सोही वाचा गरे र उनले पनि अन्ततः त्यसलाई पूरा गरेनन् । यो जेल अझै वर्षको ५४ करोड डलर खर्चमा चलिरहेको छ । ग्वान्टानामोको निरन्तर सञ्चालन केवल नीति असफलता मात्र नभई अमेरिकाका लागि एक नैतिक कलंक पनि हो । यसको अस्तित्वले अमेरिकाको वैश्विक छविलाई कमजोर बनाउँछ । अधिनायकवादी शासनलाई आफ्ना मानव अधिकार दुरुपयोगको न्यायिकता प्रमाणित गर्न प्रोत्साहन दिनेछ ।
ग्वान्टानामो स्थापनाको प्रत्येक वर्षगाँठमा म अन्तर्राष्ट्रिय समुदायको जागरुकता बढोस् र यो सैन्य कारागार बन्द होस् । पीडितलाई न्याय मिलोस् र क्षतिपूर्ति दिइयोस् भन्ने आशा राख्छु । तर, म निरन्तर निराश हुन पुग्छु । ग्वान्टानामो केवल थुनुवा र तिनका परिवारका लागि अपराध मात्र नभई यो दुई दशकभन्दा बढी समयदेखिको प्रणालीगत यातना, अन्यायपूर्ण गिरफ्तारी र विश्वव्यापी मानव अधिकार उल्लंघनको प्रतीक बनिरहेको छ । ग्वान्टानामोले जेनेभा अभिसन्धि उल्लंघन गरेको छ । मुख्यतः मुसलमान कैदीमाथिको निरन्तर हिंसा मानवताविरोधी अपराधका उदाहरण हुन् । नयाँ प्रशासनलाई ग्वान्टानामो बन्द गर्न आग्रह गर्दै अनिश्चितकालीन गिरफ्तारीको अभ्यास रोकिनुपर्छ भन्ने माग गर्छु । यसबाहेक स्थानान्तरणका लागि स्वीकृत व्यक्तिलाई रिहा गरेर बाँकीलाई उचित व्यवहार गरियोस् भन्ने पनि चाहन्छु । यातना, गैरन्यायिक गिरफ्तारी र अन्य दुव्र्यवहारका लागि जिम्मेवार व्यक्तिलाई अनुसन्धान गरी जवाफदेही बनाउनुपर्छ । अन्त्यमा, भए गरिएका अन्यायप्रति माफी माग्दै पूर्वकैदी बन्दीलाई क्षतिपूर्ति दिइनुपर्छ । ग्वान्टानामो बन्द गर्नु केवल एउटा बन्दीगृह बन्द गर्नु होइन, यो त इतिहासको एक अन्धकारपूर्ण अध्यायको अन्त्य हुन्छ । सबै धर्म, सम्प्रदायका व्यक्तिका लागि न्याय, गरिमा र मानव अधिकारको पुनः स्मरण हुन्छ । ग्वान्टानामोले अर्काे वर्षगाँठ नमनाउने आशा गरौँ ।
(अदैफी लेखक, अभियन्ता एवं ग्वान्टानामोका पूर्वबन्दी हुन्) अल जजिराबाट