काठमाडौं महानगरपालिकाले पाँच दिनदेखि सडकमै पुगेर सवारीसाधनको प्रदूषण परीक्षण गरिरहेको छ । पाँच दिनमा प्रदूषण परीक्षण गरिएका १२० मध्ये ६९ वटा फेल भएका छन् । आइतबार टेकु क्षेत्रमा परीक्षण गरिएका ४० मध्ये ३३ वटा फेल भएका थिए ।
महानगरका अनुसार प्रदूषण फेल हुनेमा डिजेलबाट चल्ने ६३ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारीसाधन छन् । एक सयवटा डिजेलबाट चल्ने र २० वटा पेट्रोलबाट चल्ने सवारीसाधन परीक्षण गरिएको थियो । ४ माघमा सिनामंगल क्षेत्रमा २० वटा सवारीसाधनको परीक्षण गर्दा १० वटा प्रदूषण मापदण्डबाहिरका फेला परेका थिए । ३ माघमा पानीपोखरी क्षेत्रमा २० वटा सवारीसाधनको चेकजाँच गर्दा १४ वटा फेल भएका थिए । २ माघमा जमल क्षेत्रमा २० वटाको परीक्षण गर्दा ६ वटा फेल भएका थिए । यस्तै, २९ पुसमा बबरमहलमा २० वटा सवारीसाधन परीक्षण गर्दा ६ वटा फेल थिए । परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको छ । अर्कोपटकको परीक्षणमा गल्ती दोहोरिए जरिवाना गर्ने महानगरका वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन् ।
वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारीसाधनबाट निस्कने प्रदूषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ । सडकमा गुड्ने अन्य सवारीसाधनसँग आफैँले प्रयोग गर्ने सवारीसाधनको गुणस्तरका लागि प्रशासन विभागले मातहतका विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई ४ माघमा परिपत्र गर्दै अन्तर्गत सञ्चालनमा रहेका सवारीसाधनको प्रदूषण जाँचपास गरेर हरियो स्टिकर राख्न तथा सवारीसाधन दर्ता प्रमाणपत्र साथमै राख्न निर्देश गरेको छ । महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७, प्रदूषण नियन्त्रण मापदण्ड ०८१, फोहोरमैला संकलन तथा ढुवानी कार्यविधि ०८१ जारी गरेको छ ।
यस्तो छ प्रदूषण परीक्षण मापदण्ड
मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । तीनपांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ । दुईपांगे्र सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।