अन्ततः ४६७ दिनको हिंसापछि हमास र इजरायलबिच बिहीबार युद्धविराम सम्झौता भयो । इजरायली सरकारको स्वीकृति बाँकी रहेकाले आइतबारदेखि सम्झौता कार्यान्वयनमा आएको छ । तर, यो सम्झौताले युद्धको अन्त्य वा शान्ति ल्याउने ग्यारेन्टी छैन । युद्धविराम युद्ध, आघात, विस्थापन, भोक र मृत्युको समाधान होइन । इजरायली र प्यालेस्टिनीले अक्टोबर ७ अघि र पछि पनि यस्ता सम्झौता देखेका छन् । तर विगतमा सम्झौता भंग भएका थिए । तसर्थ यसपटक पनि सम्झौताको पूर्ण पालनामा आशंका छ । यद्यपि यो कथाको अन्त्य होइन । यो युद्धविरामले प्यालेस्टिनीहरू विशेषगरी गाजा र इजरायलीका लागि नयाँ अध्यायको सुरुवात गरेको छ ।
सम्झौताका तीन चरण
यस युद्धविरामका सर्तहरू कम्तीमा पहिलो चरणका लागि विस्तृत छन् । यो युद्धविराम नोभेम्बर २०२३ मा भएको नौ दिनको युद्धविरामसहित गत वर्ष प्रस्तावित अन्य धेरै सम्झौताहरूसँग मिल्दोजुल्दो छ । यद्यपि, त्यो युद्धविरामविपरीत यो सम्झौताका तीनवटा फरक चरण भएकाले लामो समयसम्म चल्ने परिकल्पना गरिएको छ । यो सम्झौता अमेरिकाको सहयोगमा केही महिनाअगाडि नै तय गरिएको आभास हुन्छ । सम्झौताबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘मैले मेमा प्रस्ताव गरेको सम्झौताको सही रूपरेखा हो ।’
सम्झौताअनुसार पहिलो चरणमा इजरायल र हमासद्वारा सैन्य कारबाही अस्थायी रूपमा रोकिनेछ । साथै इजरायली सेना इजरायल र गाजाबिचको सिमानामा पूर्व र घना जनसंख्या भएका क्षेत्रबाट टाढा फर्किनेछन् । जब बन्धकलाई रिहा गरिन्छ, गाजापट्टीमा हवाई गतिविधि पनि अस्थायी रूपमा निलम्बन हुनेछ । प्यालेस्टिनीलाई बमबारीबाट धेरै आवश्यक राहत प्रदान गर्दै यस्तो निलम्बन २०२३ को नोभेम्बरमा युद्धविरामको समयमा पनि भएको थियो ।
सम्झौता लागू भएको पहिलो दिनदेखि ठुलो मात्रामा मानवीय सहायता, राहत सामग्री र इन्धन गाजा प्रवेश गर्न अनुमति दिइनेछ । गाजाको ऊर्जा भट्टी र सरसफाइ प्रणालीको सञ्चालन, भारी मेसिनरी खाली गर्न र भग्नावशेष हटाउनका लागि इन्धन आवश्यक छ । यसले अस्पताल, क्लिनिक र बेकरी –गाजावासीका लागि मुख्य खाद्य स्रोत) सहित गाजापट्टीको ध्वस्त पूर्वाधार पुनर्निर्माण गर्ने लामो कार्य सुरु गर्नेछ ।
जटिल सम्झौता
निःसन्देह यो सम्झौता गर्दा इजरायल र हमासको शक्ति असममित थियो । विगत १५ महिनामा इजरायलले हमासभन्दा धेरै उच्च सैन्य शक्ति रहेको देखाएको छ । साथै, अहिलेसम्म इजरायल तर्कसंगत रूपमा हमासको एउटा राजनीतिक कार्डलाई बेवास्ता गर्न तयार थियो– समूहले अक्टोबर ७ मा बनाएका बन्धकहरूको रिहाई ।
सम्झौताका सर्तलाई सम्भावित रूपमा एकप्रकारको ‘जटिलता’कोे रूपमा हेर्न सकिन्छ, जुन एक पक्ष (इजरायल)ले ठुलो शक्ति असन्तुलनका कारण अर्कोलाई सम्झौता गर्न बाध्य पारेको छ । विगत १२ महिनामा हमासले धेरैपटक युद्धविरामको पाठमा सहमति जनायो । तर, कुनै सम्झौतामा पुग्न सकेन । हमासले युद्धविरामका सर्त पनि परिवर्तन गर्ने प्रयास गरेको छ । तर, हमास इजरायललाई आफ्ना माग स्वीकारका लागि दबाब दिन अपेक्षाकृत असफल भएको छ ।
एउटा सम्झौतामा पुग्न हमासले आफ्ना दुई मुख्य माग त्यागेको छ– गाजापट्टीबाट इजरायली सेनाको पूर्ण फिर्ता र स्थायी युद्धविराम । यो सम्झौता तीन चरणमा छ । पहिलो चरणमा इजरायलले सम्भावित रूपमा ३३ बन्धकको सट्टामा हजारौँ प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ । ६० भन्दा कम बन्धक जीवितै छोडिएको अनुमान गरिएको छ । तर, यसले विगतमा इजरायलले अन्य प्यालेस्टिनीलाई मात्रै गिरफ्तार गरेको वा यस्तै सम्झौताअन्तर्गत रिहा भएका धेरैलाई पुनः गिरफ्तार गरेको बताइरहेको छ ।
सिरियाली गृहयुद्धको समयमा पनि यस प्रकारका ुठला सम्झौता भएका थिए । त्यहाँ, तिनीहरूलाई मेलमिलाप सम्झौताको रूपमा ब्रान्ड गरिएको थियो । त्यहाँ असद शासन र रुसद्वारा विद्रोही–नियन्त्रित समुदायमा जबर्जस्ती युद्धविराम सम्झौता थिए ।
युद्धविराम निरन्तरतामा आशंका
सम्झौता लागू भएको १६औँ दिनमा दुई पक्षबिच अर्को चरणको सम्झौताबारे अप्रत्यक्ष वार्ता हुनेछ । यो नयाँ चरणमा थप बन्धक र बन्दीको रिहाइ र युद्धविरामको निरन्तरता समावेश गर्ने परिकल्पना गरिएको छ । तर, दोस्रो चरणका लागि सहमति नभएको खण्डमा पहिलो चरणभन्दा बाहिर पनि युद्धविराम जारी रहने कुनै लिखित आश्वासन छैन ।
पहिल्यै नै टेबलमा रहेका समान सम्झौताका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रारम्भिक चरणपछि हमासलाई नष्ट गर्न युद्ध जारी राख्ने स्पष्ट गरे । यसबाहेक, युद्धविराम सम्झौताले इजरायली सेनाहरू गाजा र इजरायलबिचको सीमातर्फ पूर्वबाट फिर्ता हुने कुरा निर्दिष्ट गर्दछ । इजरायलसँग युद्धविरामका लागि हमासको मौलिक मागमध्ये एक थियो– इजरायली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता ।
युद्धविराम सर्तअन्तर्गत इजरायली सेना सीमामा रहेको बफर जोनमा स्थायी रूपमा रहनेछन् । तिनीहरू सम्भावित रूपमा फिलाडेल्फी कोरिडोरमा र नेटजारिम एक्सिसमा लामो समयसम्म रहन सक्छन् । केवल ४० किलोमिटर लामो र पाँच र १३ किलोमिटर चौडाइको यो भूमिमा निरन्तर इजरायली सैन्य उपस्थितिको मतलब यो घर वा खेतबारीसहित नागरिक जीवनका लागि प्रयोग गर्न सकिँदैन ।
(सोस्नोवस्की मेलबर्न विश्वविद्यालयकी पोस्टडक्टोरल रिसर्च फेलो हुन्)
–द कन्भर्सेसनबाट