चराको वासस्थान लोप हुँदै

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

राप्ती सोनारी गाउँपालिका– १ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुवात गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ती नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । ‘प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ,’ उनले भने, ‘यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन् ।’ निकुञ्ज प्रमुख कँडेलका अनुसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् ।

चरा गणनाका लागि राप्तीमा पुगेका चराविद् राम शाहीले पछिल्लो समयमा चराको वासस्थान लोप हुँदै गइरहेको बताए । नदी, सिमसार क्षेत्र तथा जलाशयमा मानवबाट हुने गतिविधिले गर्दा चराको वासस्थान लोप हुन पुगेको उनको भनाइ छ । ‘खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको वासस्थान लोप हुँदै गइरहेको छ,’ उनले भने ।

विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए । उनका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलाशयमा आगन्तुक चराको समेत वासस्थान रहेको पाइएको छ ।

चराको वासस्थानमा भइरहेका निर्माणकार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतका कारण चराको वासस्थान लोप भएर संख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताए । ‘मानवीय गतिविधिका कारण चरको वासस्थानमा धेरै नै अवरोध हुँदै गइरहेको छ,’ उनले भने, ‘हामी संरक्षण गर्नेहरू मात्र नभई स्थानीय र नदी वरपर बस्ने रैथाने पनि सजग हुन आवश्यक देखिन्छ ।’

चराविज्ञ, संरक्षणकर्मी, निकुञ्जका अधिकारी, सुरक्षाकर्मीलगायत टोली शनिबारदेखि राप्ती नदीमा चरा गणनाका लागि परिचालित भएको छ । उक्त टोलीले बाँकेमा रहँदा बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, सिमसार क्षेत्र तथा जलाशयमा पुगेर चरा गणना गरिने बाँके निकुञ्जले जनाएको छ । गणनाका क्रममा उक्त टोली बाँकेको नेपालगन्जस्थित कान्ति ताल, बैजनाथमा रहेको सुतैया ताल, बर्दियाका सीमाक्षेत्र मानखोलालगायत स्थानमा पुग्ने चराविद् शाहीले जानकारी दिए । उनका अनुसार नेपालगन्जस्थित कान्ति तालमा संरक्षित पक्षी सारसको समेत वासस्थान रहेको छ । बाँकेमा योसहित तेस्रोपटक चरा गणना गरिएको छ ।

सुझावित समाचार