प्रमुख आयुक्तले एकलौटी निलम्बन गरेका स्काउटका कार्यकारी प्रमुख भट्टराई मन्त्रीको आदेशपछि पुनः जिम्मेवारीमा

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले एकलौटी निर्णय गरी निलम्बन गरेका कार्यकारी प्रमुख रामप्रसाद भट्टराई पुनः जिम्मेवारीमा फर्केका छन्। स्काउट ऐनबमोजिम प्रमुख स्काउटसमेत रहने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनपछि भट्टराई पुनः नियमित काममा फर्केका हुन्।

आफूले भनेको नमानेको भन्दै प्रमुख आयुक्त रञ्जितले कार्यकारी प्रमुख भट्टराईलाई स्पष्टीकरण सोधेर गत २६ पुसमा निलम्बन गरेका थिए। भट्टराईलाई निलम्बन गरेर युवा संघका अजित लामालाई उनले सहायक निर्देशकमा नियुक्ति दिएका थिए। आफूलाई प्रमुख आयुक्तले गैरकानुनी रूपमा निलम्बन गरेको भन्दै भट्टराई रुष्ट थिए।

विवाद बढ्दै गएपछि प्रहरीले कार्यकारी प्रमुखको कार्यकक्षमा तालाबन्दी नै गरिदिएको थियो। तर, रञ्जितले विवाद मिलाउन सकेनन्। उनले गलत काम गरेको भन्दै मन्त्री पनि रुष्ट थिए। अन्ततः मन्त्रीले भट्टराईको निलम्बन र गैरकानुनी रूपमा गरिएको कर्मचारी नियुक्ति बदर गर्न निर्देशन दिएका हुन्। 

कार्यकारी प्रमुख भट्टराईलाई कार्यालय प्रमुखका रूपमा नियमित काम गर्न मन्त्री चौधरीले निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि भट्टराई साबिकझैँ नियमित काममा फर्केका छन्। आफूमाथि प्रमुख आयुक्तले लगाएको आरोप पुष्टि गर्नसमेत उनले चुनौती दिएका छन्।

शुक्रबार कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै भट्टराईले आफ्नो कार्यकक्ष अनधिकृत व्यक्तिको कब्जामा गएको र त्यहाँबाट नेपाल स्काउट राष्ट्रिय कार्यकारी समितिको बैठक माइन्युट पुस्तिका हराएकाले त्यसविरुद्ध कानुनी उपचारमा जानेसमेत बताएका छन्।

सुझावित समाचार