‘डकविड’ अर्थात् सूक्ष्म झार पछिल्ला दिनमा दिगो, सुलभ एवं वातावरणमैत्री नवीन औद्योगिक बालीका रूपमा स्थापित हुँदै गइरहेको छ
प्रकृति आफैँमा विचित्र र रहस्यमय छ । प्रकृतिका नियम बुझी आफ्नो सुख, शान्ति र कल्याणबाट सभ्यतालाई थप उचाइमा पुर्याउन मानव जाति तल्लीन छ । वास्तवमा समस्त मानव, जीवजन्तु र चराचुरुंगीको बाँच्ने मूल आधार पानी र वानस्पतिक स्रोत हुन् । वानस्पतिक विविधतामा फूल नफुल्ने सूक्ष्म लेउदेखि फूल फुल्ने विशाल वृक्षसम्मको अस्तित्व छ । लेउ र झ्याउजस्तो देखिने, पानीमा उत्रेको अवस्थामा पाइने, तीव्र गतिमा बढ्ने, फूल फुल्ने सूक्ष्म वनस्पति हो हंसझार (डकविड) । यो पृथ्वीकै सबैभन्दा सानो फूल फुल्ने वनस्पति हो, जुन ‘लेम्नासी’ वानस्पतिक परिवारभित्र पर्छ । यो वनस्पति मरुभूमि र हिउँले छोपिने क्षेत्रबाहेक पृथ्वीको सबै स्थानमा पाइन्छ । सिमसार, धान खेत, ताल–तलैया, पोखरी, कुण्ड, घोल, बिस्तारै बग्ने नहर डकविडका प्रमुख वासस्थान हुन् ।
विश्वमा डकविडका पाँच जाति (स्पाइरोडेला, ल्यान्डोल्सिया, लेम्ना, वोल्फाइला र वुल्फिया) र ३६ प्रजाति पाइन्छन् । नेपालमा हालसम्म वोल्फाइलाबाहेकका चारवटा जाति पाइन्छन् । यिनको आकार ०.५ मिमिदेखि १.५ सेमिसम्म लम्बाइको हुन्छ । दुई जाति वोल्फाइला र वुल्फियामा भने जरा नै हुँदैन । यही सूक्ष्मता र सरल संरचनामा रहेको जीवनको कुतूहल मेटाउन वैज्ञानिक जगत्मा यसलाई ‘मोडेल रिसर्च प्लान्ट’का रूपमा उपयोग गरिएको छ । तसर्थ, फिजियोलोजी, मोलिकुलर बायोलोजी, बायोटेक्नोलोजी, जिनोमिक्स, फाइटोरिमिडेसन, इकोलोजी र इभोलुसनजस्ता आधारभूत विज्ञानको खोजमा यो वनस्पतिको उपयोगिता बढ्दो छ । यही सूक्ष्मतामा रहेका विभिन्न जैविक प्रक्रियाको अध्ययनबाट प्राप्त ज्ञान र बुझाइबाट वस्तुको उत्पादन तथा वितरण भई मानव कल्याणमा उपयोगी देखिएका छन् ।
डकविड केवल अध्ययन, अनुसन्धान र प्रकाशनमा मात्र सीमित छैन, यसका कैयौँ व्यावहारिक उपयोगका पक्षलाई उजागर गरी जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न सक्ने सामथ्र्य देखिन्छ । यसको उपयोग सिमसारको शुद्धीकरणदेखि घरेलु, कृषिजन्य तथा डेरीजन्य फोहोर पानीको शुद्धीकरण र त्यसबाट उपलब्ध हुने बायोमासको विविध प्रयोग (प्रांगारिक मल, जैविक इन्धन)मा समेत हुने गर्छ । प्रोटिन मात्र होइन, स्टार्चको मात्रा बढी, तर ‘लिगनिन’को मात्रा कम भएकाले दिगो जैविक इन्धन बाली (सस्टेनेबल इनर्जी क्रप)का रूपमा यसको परीक्षण र प्रयोग भइरहेको छ । यसबाट जलवायु परिवर्तनको एक कारकका रूपमा रहेका हरितगृह ग्यासको उत्सर्जन घटाउनलाई सहयोगसमेत पुग्नेछ । विश्वका प्रमुख सभ्यताहरूमा डकविडकोे वर्णन गरिएको पाइन्छ । खासगरी ईश्वरसँग पुग्ने माध्यम तथा ज्वरो र सुन्निएको औषधिका रूपमा पनि यसको नाम उल्लेख गरिएको छ । परम्परागत रूपमा दक्षिण–पूर्वी एसिया खासगरी थाइल्यान्ड, लाओस, म्यानमार र भियतनाममा ‘खाई नाम’ अर्थात् (पानीमा पाइने सुलभ अन्डा)का रूपमा यसको उपयोग गरिन्छ । यसमा औसत स्टार्च ३०४०, प्रोटिन १०४५, बोसो ४९, फाइबर ८१० र खरानी १४१७ प्रतिशत रहने गर्छ । यसका अतिरिक्त ओमेगा ३, फ्याटी एसिड, आइरनलगायत अन्य खनिज तथा फाइटोकेमिकल्स (लुटिन, बिटा क्यारोटिन, जियाज्यान्थिन) आदि पनि पाइन्छन् । यी तत्वको मात्रा वनस्पतिको अनुवंश, उमेर, हुर्किएको वातावरण (प्रकाश, सिजन, पानीको गहिराइ र बहाव), नाइट्रोजन, फस्फोरसलगायत पोषण तत्वको उपलब्धता, अन्य वनस्पति र सूक्ष्मजीवीय अन्तक्र्रिया), संकलन गर्ने र सारतत्व निकाल्ने विधिमा भर पर्छ । भियतनाम, भारत, बंगलादेश, फिलिपिन्सलगायत देशमा यसको प्रयोग दाना तथा मलमा भइरहेको छ । चीनमा धानखेती गर्दा डकविड, धान र हाँसपालनको एकीकृत एवं वातावरणमैत्री अभ्यास गरिन्छ, जुन दिगो कृषि प्रणालीको नमुना पनि हो ।
विश्व खाद्य संगठनले सन् २०१९ लाई ‘ग्रिनिङ द ब्लु’ अर्थात् पानीमा कृषि हरियाली अभियान अघि सार्यो । यसको मूल उद्देश्य कृषि भूमिका लागि वन विनाशबाट जोगाउनु थियो । उदाहरणका लागि भटमास र मकै उत्पादनका लागि हजारौैँ हेक्टर वन फँडानी तथा रासायनिक मल प्रयोग हुने गरेका छन्, दुवै कार्यबाट वातावरणीय समस्या निम्तिएका छन् । उक्त मकै र भटमास उत्पादनको ठुलो अंश मासु उत्पादनका लागि दाना र जैविक इन्धनमा प्रयोग हुने गर्छ । यसबाट विश्वमा बढ्दो जनसंख्यामा दिगो खाद्य तथा पोषण सुरक्षामा जोखिम बढेको छ । तर, डकविड (हंसझार)ले पशुपक्षी तथा माछाको दानाका रूपमा प्रयोग हुने भटमास, गहुँजस्ता अन्नबालीलाई कम्तीमा १० प्रतिशत मात्र प्रतिस्थापन गर्दा मासु उत्पादनमा कम लागत पर्नुका साथै वातावरणमैत्री उत्पादनसमेत हुने सम्भावना छ । अर्थात्, वनस्पतिमा आधारित वैकल्पिक प्रोटिन स्रोत बन्न पुगेको छ, डकविड । साथै, डकविडले उत्पादनका लागि अन्य बालीसँग भूमिका लागि प्रतिस्पर्धा गर्दैन । बरु सीमान्तकृत जलकुण्ड र सिमसारहरूबाट नाइट्रोजन, फस्फोरसजस्ता तत्वलाई सोसेर पानीको शुद्धीकरण, प्रोटिन सुपरफुड र जैविक इन्धनको विकल्पका रूपमा योगदान दिएको छ ।
यद्यपि, यसको प्रयोग गर्नुअघि प्रयोगशालाबाट सुरक्षा, गुणस्तरीयता र प्रभावकारिताको परीक्षण गर्नु भने जरुरी छ । यसलाई जिएम (जेनिटिकल्ली मोडिफाइड) फ्री र कमप्लिट प्रोटिन (सबै एमिनो एसिड उपलब्ध) भएको ब्रान्डेड प्रडक्टका रूपमा अमेरिका, इजरायल, जर्मनीले खाद्य कम्पनी स्थापना गरेका छन् । यहाँ उत्पादन भने नियन्त्रित वातावरणमा हुने गर्छ । हाल पश्चिमी मुलुकमा शाकाहारी र वातावरण संवेदनशील हुने लहर पनि चलेकाले यसको उत्पादन (पाउडर, जुस, मिट सब्स्टिच्युट)ले राम्रो बजार पाएको छ । उत्पादन लाभ र लागतको तुलना गर्दा प्रतिकेजी मासु उत्पादन गर्न लाग्ने दाना, घाँस, पानी र हरित ग्यास उत्सर्जनभन्दा डकविडको लागत झन्डै ११ गुना कम पर्न जान्छ ।
डकविड स्पेस फुड, खाद्य सुरक्षा, पानी शुद्धीकरण, औषधि (एन्टिमाइक्रोबिएल तथा एन्टिअक्सिडेन्ट), लामखुट्टे भगाउने धुप, जैविक इन्धन, माछा तथा पशुपक्षीको दानाको दिगो विकल्प बनेर आएको छ । आजकल भर्टिकल फार्मिङ, अक्वारियम तथा इन्डोर डेकोरेसनमा पनि यसको प्रयोग बढ्दो छ । मुख्य ध्यान दिनुपर्ने विषय भने सहरी तथा औद्योगिक हानिकारक फोहोर पानीको उपचार गरेको डकविडले गह्रौँ धातु (हेभी मेटल)लगायत अन्य विषयुक्त रसायन पनि सोस्ने हुनाले खानका लागि उपयुक्त हुँदैन । तसर्थ, उद्देश्यअनुसार यसको संकलन, खेती तथा प्रयोग गर्नुपर्छ । यसै सन्दर्भमा सन् २०१० पछि डकविडको अध्ययन–अनुसन्धान तथा ज्ञान र अनुभवको आदान–प्रदान गर्न अन्तर्राष्ट्रिय रूपमा संगठित प्रयास सुरु भएको छ । इन्टरनेसनल कन्फेरेन्स अन डकविड रिसर्च एन्ड एप्लिकेसनले हरेक दुई वर्षमा सम्मेलन गर्दैै आएको छ । त्यसअनुरूप चीन (२०११), अमेरिका (२०१३), जापान (२०१५), भारत (२०१७), इजरायल (२०१९), जर्मनी (२०२२) र थाइल्यान्ड (२०२४) नोभेम्बरमा सम्मेलन सम्पन्न भइसकेको छ ।
नेपालको वर्तमान अवस्थामा डकविडको स्पाइरोडेला र लेम्ना जाति सहजै पाइने र चिन्न सकिने खालका छन् । यी दुवैलाई प्राज्ञिक र व्यावहारिक प्रयोगमा ल्याउन सकिन्छ । करिब १५० देखि १५ सय मिटरको उचाइसम्म यसको राम्रो सम्भावना देखिन्छ । घरेलु तथा पशुपालन, दुधडेरी उद्योगबाट निष्कासन हुने फोहोर पानीको उपचार गर्दा राम्रो फाइदा लिन सकिन्छ । खासगरी मत्स्यपालनसँग एकीकृत रूपमा डकविडको खेती प्रवद्र्धन गर्दा बाह्रै महिना अधिकतम लाभ लिन सकिन्छ । दाना राख्दा पोखरीको पानीमा न्युट्रियन्ट्स (पोषण तत्वहरूबाट) हुने प्रदूषणलाई शुद्धीकरण गरी स्वस्थ माछा उत्पादन हुने र बायोमासलाई सजिलै संकलन गर्न सकिने दानाको प्रतिस्थापक (पूर्ण भने होइन)का रूपमा प्रयोग गर्दा कृषकको दानामा हुने लगानी बचत गर्न सकिन्छ । यस किसिमका क्रियाकलापबाट केही मात्रामा भए पनि राष्ट्रिय मत्स्य विकास नीति, २०७९ का उद्देश्यअनुरूप रोजगारी, खाद्य तथा पोषण सुरक्षा, प्रतिस्पर्धी र वातावरणमैत्री मत्स्य क्षेत्र बनाउन योगदान पुग्ने देखिन्छ । यसका लागि सरकार (संघ, प्रदेश र स्थानीय तह), वनस्पति विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरू, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, औद्योगिक निजी एवं बैंकिङ क्षेत्रबिच सहकार्य र समन्वय जरुरी छ । साथै, साना कृषक समूह, मझौला तथा ठुला कृषि उद्यमीलाई शिक्षा, तालिम र अध्ययन भ्रमणबाट क्षमता विकास गर्नु आवश्यक छ । यसपछि मात्र एक्सन रिसर्च (क्रियागत अध्ययन), अनुसन्धान गरी हरित बजार र रोजगारी सिर्जना गर्न सकिन्छ ।
वास्तवमा डकविड (हंसझार)मा जलीय वासस्थान, बाह्रै महिना पानी शुद्धीकरण गर्दै तीव्र गतिमा बायोमास वृद्धि हुने, कार्बनडाइअक्साइड सोस्ने र अक्सिजन दिने गुण छ । त्यो बायोमास प्रोटिन, स्टार्च र खनिजमा प्रचुरता भएकाले अन्तरिक्ष (स्पेस क्राफ्ट)मा मल्टिफंसनल लाइफ सपोर्ट सिस्टमका स्पेस फुडदेखि मानव खाना, पशुपक्षी र माछाको दाना अनि जैविक इन्धनदेखि प्रांगारिक मलसम्म बहुआयामिक उपयोग गरी आय–आर्जन गर्न सक्ने सम्भावना छ । तसर्थ, डकविड (हंसझार)ले खाद्य सुरक्षा, वातावरणीय र आर्थिक पक्षमा वैकल्पिक स्रोतका रूपमा योगदान दिई समग्र मानव कल्याणका लागि विशाल सम्भावना बोकेको छ । अनि एक दिगो, सुलभ एवं वातावरणमैत्री नवीन औद्योगिक बालीका रूपमा स्थापित हुँदै गइरहेको छ ।
(बस्नेत वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वैज्ञानिक अधिकृत हुन्)