मेटाको तथ्य–जाँच रोक्ने निर्णय दुःखद

मेटाको तथ्य–जाँच रोक्ने निर्णय अनलाइन मिथ्या सूचना र भ्रामक जानकारी फैलावटविरुद्धको लडाइँका लागि सकारात्मक संकेत होइन

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

मेटाले आफ्नो तथ्य–जाँच कार्यक्रम त्याग्ने घोषणा गरेको छ र यसको सुरुवात अमेरिकाबाट हुनेछ । यो कार्यक्रम फेसबुक, इन्स्टाग्राम, थ्रेड्सजस्ता मेटाका सामाजिक सञ्जाल मञ्च प्रयोग गर्ने तीन अर्बभन्दा बढी मानिसमा अनलाइन मिथ्या सूचना प्रसार रोक्नका लागि चलाइएको थियो । एक भिडियोमा कम्पनीका प्रमुख मार्क जुकरबर्गले तथ्य–जाँचले ‘धेरै सेन्सरसिप (नियमन)’ ल्याएको बताएका छन् । उनले मेटा ‘अभिव्यक्ति स्वतन्त्रताका पक्षमा फर्कने समय’ भएको पनि बताएका छन् । यो भनाइ विशेषतः हालै अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि आएको छ । जुकरबर्गले यसलाई ‘सांस्कृतिक पुनरागमन बिन्दु’को संज्ञा दिँदै ‘अभिव्यक्तिमा प्राथमिकता दिन थालिएको’ भनेका छन् ।

व्यावसायिक तथ्य–जाँचकर्तामा भर पर्नुको सट्टा विशाल प्राविधिक कम्पनीले अब सामाजिक सञ्जालका सामग्री नियमन गर्न ‘कम्युनिटी नोट्स’ मोडेल अपनाउनेछ, जुन एक्स (पहिले ट्विटर) ले प्रयोग गरेको मोडेलसँग मिल्दोजुल्दो छ । यो मोडेल सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै पोस्टमा प्रसंग वा चेतावनी थप्छ वा थप्दैन भन्नेमा भर पर्छ । हाल यो मोडेलको प्रभावकारिताबारे युरोपियन युनियनले अनुसन्धान गरिरहेको छ । मेटाको यो नाटकीय परिवर्तन अनलाइन मिथ्या सूचना र भ्रामक जानकारीको फैलावटविरुद्ध लडाइँका लागि सकारात्मक संकेत होइन ।

मेटाले आफ्नो स्वतन्त्र र तेस्रो पक्षद्वारा सञ्चालित तथ्य–जाँच कार्यक्रम सन् २०१६ मा सुरु गरेको थियो । यो कार्यक्रम त्यस्तो समयमा सुरु गरिएको थियो, जब सूचना सत्यतामाथिको चिन्ता तीव्र रूपमा बढेको थियो । यो डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति निर्वाचनसँगै र सामाजिक सञ्जाल मञ्चले गलत सूचना र भ्रामक जानकारी फैलाउन खेलेको भूमिकाबारे आएको विवादबिच देखिएको थियो । कार्यक्रमअन्तर्गत मेटाले रोयटर्स तथ्य–जाँच, अस्ट्रेलियन एसोसिएटेड प्रेस, एजन्स फ्रान्स–प्रेस, पोलिटिफ्याक्टजस्ता तथ्य–जाँच गर्ने साझेदारलाई आफ्नो सामाजिक सञ्जाल मञ्चमा पोस्ट गरिएका समस्याग्रस्त सामग्रीको स्वतन्त्र मूल्यांकन गर्न आर्थिक सहयोग गरेको थियो । कुनै सामग्री गलत वा भ्रामक ठहरिएमा त्यसमा चेतावनी सूचना जोडिन्थे । यसले प्रयोगकर्तालाई अनलाइनमा देखिएको सामग्रीबारे राम्रोसँग जानकारी लिन सहयोग पु¥याएको थियो ।

जुकरबर्गले मेटाको तथ्य–जाँच कार्यक्रमले कम्पनीका प्लेटफर्ममा फैलिएको मिथ्या सूचनालाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको, अभिव्यक्ति स्वतन्त्रता दबाएको र व्यापक सेन्सरसिपको कारण बनेको दाबी गरेका छन् । तर, इन्टरनेसनल फ्याक्ट–चेकिङ नेटवर्ककी प्रमुख एन्जी ड्रबनिक होलानले यसको खण्डन गरेकी छन् । मेटाको निर्णयप्रति प्रतिक्रिया जनाउँदै उनले ‘फ्याक्ट–चेकिङ पत्रकारिताले कहिल्यै सामाजिक सञ्जाल पोस्ट सेन्सर (नियमन) वा हटाएको छैन, यसले विवादास्पद दाबीबारे थप जानकारी र प्रसंग प्रदान गरेको छ । र, गलत सामग्री तथा षड्यन्त्र सिद्धान्तको खण्डन गरेको छ । मेटाले प्रयोग गर्ने तथ्य–जाँचकर्ताले गैरपक्षपातिता र पारदर्शिता आवश्यक पर्ने कोड अफ प्रिन्सिपल्स (सिद्धान्तको संहिता) पालना गर्छन्’ जवाफ दिएकी छिन् ।

होलानको मतलाई समर्थन गर्न व्यापक प्रमाण उपलब्ध छन् । सन् २०२३ मा मात्र अस्ट्रेलियामा मेटाले फेसबुकमा ९२ लाखभन्दा बढी विभिन्न सामग्री (पोस्ट, तस्बिर र भिडियो) र इन्स्टाग्राममा पाँच लाख १० हजारभन्दा बढी पोस्ट (पुनः सेयरसमेत) मा चेतावनी देखाएको थियो । यी चेतावनी मेटाका तेस्रो–पक्षीय तथ्य–जाँच साझेदारले लेखेका लेखमा आधारित थिए । धेरै अध्ययनले यस्ता चेतावनीले गलत सूचनाको फैलावटलाई प्रभावकारी रूपमा मत्थर गर्ने देखाएको छ । मेटाको तथ्य–जाँच नीतिले पनि साझेदार तथ्य–जाँच संस्थालाई राजनीतिक व्यक्तित्व र सेलिब्रेटीद्वारा व्यक्त सामग्री एवं विचार त्यसैगरी राजनीतिक विज्ञापनको खण्डनबाट बच्न आग्रह गरेको थियो ।

तथ्य–जाँचकर्ताले राजनीतिक नेताका दाबीको सत्यता परीक्षण गर्न र आफ्नै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत निष्कर्ष साझा गर्न सक्छन् । तथापि, तथ्य–जाँच गरिएको सामग्री मेटाका प्लेटफर्ममा देखिएकै थियो र सेन्सरसिपको अधीनमा पर्दैनथे । कोभिड–१९ महामारीले फेसबुकमा स्वतन्त्र तथ्य–जाँचको महŒवलाई उजागर गरेको थियो, जसले भाइरस र खोपबारेको गलत सूचना तथा भ्रामक जानकारी रोक्न महŒवपूर्ण भूमिका खेलेको थियो । यसबाहेक मेटाको तथ्य–जाँच कार्यक्रम अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा गलत सूचनाविरुद्धको विश्वव्यापी प्रयासको आधारशिला बन्यो, जसले विश्वभरका ९० वटा मान्यता प्राप्त तथ्य–जाँच संस्थालाई आर्थिक सहयोग गरेको थियो ।

स्वतन्त्र तेस्रो पक्षद्वारा तथ्य–जाँचलाई ‘कम्युनिटी नोट्स’ मोडेलसँग साट्नुले अनलाइन गलत सूचना र भ्रामक जानकारीविरुद्धको लडाइँलाई समस्यामा पार्न सक्छ । उदाहरणका लागि गत वर्ष, वासिंटन पोस्ट र अमेरिकन सेन्टर फर काउन्टरिङ डिजिटल हेटका प्रतिवेदनले देखाएअनुसार एक्सको कम्युनिटी नोट्स सुविधा सो मञ्चमा झुट र मिथ्या सूचनाको बहावलाई रोक्न असफल भइरहेका छन् ।

मेटाको वित्तीय समर्थनविना स्वतन्त्र तथ्य–जाँचकर्तालाई अन्य संस्थाले तथ्य–जाँचलाई आफ्नै उद्देश्यका लागि हतियारका रूपमा प्रयोग गर्ने प्रयास रोक्नमा कठिनाइ हुन सक्छ । उदाहरणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै ‘रुसी मूल्य’का आधारमा एक सरकारी तथ्य–जाँच नेटवर्कको स्थापना घोषणा गरेका छन्, जसलाई अन्तर्राष्ट्रिय तथ्य–जाँच नेटवर्कले स्विकारेको छैन । यसले स्वतन्त्र तेस्रो पक्षद्वारा तथ्य–जाँचको थप आवश्यकताको माग गर्छ, तर मेटा यसमा असहमत देखिएको छ ।

(वाट क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका डिजिटल मिडियाबारेका विद्यावारिधि अनुसन्धाता, रेडलिंगर डिजिटल मिडियाका उपप्राध्यापक र निनो मेलबर्न विश्वविद्यालयमा पत्रकारिताका लेक्चरर हुन्) 

द कन्भर्सेसनबाट

सुझावित समाचार