यतिखेर हामीभन्दा बाहिरको विश्व कहाँ पुगिसकेको छ र हामी नेपाली कहाँ छौँ, हाम्रो नेपाल कहाँ छ ? हामी नेपाली के गर्दै छौँ ? हामीले के गर्नुपथ्र्यो र अबका दिनमा हामीले के गर्नुपर्छ ? यी तमाम प्रश्नको उत्तर नखोजी हाम्रो देश नेपाल विकास र समृद्धिको पथमा अघि बढ्न सक्दैन । प्रणालीले नै देशको विकास, निर्माण र समृद्धिलाई अघि बढाउँछ भन्ने हामीले बुझेका थियौँ । तर, यथार्थमा त्यसले मात्र अघि बढ्न सकिँदो रहेनछ ।
बहुदलीय व्यवस्था भएको भारत आज विश्व रंगमञ्चमा कहाँबाट कहाँ पुगिसक्यो ? आर्थिक, सामाजिक, राजनीतिक र विकासका दृष्टिले ऊ विश्वको तेस्रो शक्तिराष्ट्र बन्ने दौडमा छ । उता एकदलीय व्यवस्था भएको चीन विश्वको पहिलो शक्ति बन्ने होडमा अर्थतन्त्र, विकास, प्रविधि, सुशासनलगायत हरेक कोणबाट धेरै अघि पुगिसकेको छ । तर, यी दुई शक्तिशाली देशको बिचमा रहेको तथा विश्वकै अनुपम प्राकृतिक स्रोत र साधन, उर्वर जमिन, अपार जलस्रोत, एकताबद्ध समाज, अनुकरणीय संस्कृति, अद्वितीय पर्यटकीय क्षेत्र आदिले भरिपूर्ण हाम्रो देशका युवा जनशक्ति आज दैनिक लर्को लागेर किन विदेश पलायन भइरहेका छन् ? किन देश वृद्धाश्रममा रूपान्तरित हुने बाटोतिर अघि बढ्दै छ ? जनसंख्या वृद्धिदर किन ऋणात्मक बन्दै छ ?
माथिका प्रश्नको समुचित जवाफको खोजी गर्नु नयाँ पिँढीको गुरुतर दायित्व बनेको छ । नेतृत्वमा इच्छाशक्ति भएन भने कुनै पनि प्रणाली चलायमान हुन सक्दो रहेनछ । प्रणाली चलायमान भएन, देशका राजनीतिक दल गतिशील भएनन्, तिनका नेतृत्व दूरदृष्टियुक्त भएन भने मुलुक अघि बढ्न सक्दो रहेनछ भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन, हाम्रै देशको निकट विगत हेर्दा पुग्छ । हाम्रो पीडामय वर्तमानले उपर्युक्त तथ्यलाई पुष्टि गरिरहेकै छ ।
यतिखेर अन्तर्राष्ट्रिय जगत्मा के भइरहेको छ ? अरू देश के गर्दै छन् ? उनीहरूको प्रगति कहाँ पुगेको छ ? उनीहरूको शिक्षा, स्वास्थ्य, गाँस, वास र कपासको अवस्था के छ ? प्रविधिको विकास र उपयोग कसरी भइरहेको छ ? यस्ता असंख्य प्रश्नको समुचित जवाफ नखोजी हाम्रो आफ्नो अवस्थाबारे बुझ्न सकिन्न । अहिलेको विश्वमा कसैमाथि आधिपत्य स्थापना गर्न होस्, आफ्नो प्रभुत्व देखाउन होस्, ‘न्यायको स्थापना’का लागि होस् या अन्य कुनै घोषित या अघोषित उद्देश्य पूर्तिका लागि नै किन नहोस्, युद्धका भयानक साइरन बजिरहेका छन् । ती युद्धले रचेका विनाशलीला अकल्पनीय छन् । पहिलो र दोस्रो विश्वयुद्धले निम्त्याएको मानवीय विनाशपछि पछिल्ला दिनमा मानवीय विनाश डरलाग्दो रूपमा बढिरहेको छ । मानवीय हितमा उपयोग गरिनुपर्ने वैज्ञानिक उपलब्धि र आविष्कारलाई विनाशकारी बम निर्माण, आणविक तथा रासायनिक हतियार उत्पादनमा प्रयोग गरिँदै छ । मानव कल्याणमा लगाइनुपर्ने विज्ञानका वरदानलाई मानव विनाशमा दुरुपयोग गरिँदा अकल्पनीय मानवीय क्षति भइरहेको छ ।
बढ्दो ‘ग्लोबल वार्मिङ’का कारण अहिले विश्वकै वातावरण दिनदिनै विनाश भइरहेको छ । विज्ञानले प्रविधि विकासमा त सघायो । मानव जीवनलाई सहज र सुविधासम्पन्न त बनायो । तर, त्यसैको उपभोगका कारण हाम्रो पृथ्वी दिनदिनै तात्दै गएको छ । पृथ्वीको बढ्दो तापमानका कारण कुनै दिन यस पृथ्वी नामको ग्रहबाट मानिसलगायत प्राणीको अस्तित्व नामेट नै हुने त होइन ? गम्भीर प्रश्न उठिरहेको छ । यही ग्लोबल वार्मिङकै कारण हाम्रा गाउँघरमा उत्पादन हुने रैथाने कृषिबाली, बोटबिरुवा, जडीबुटी तथा अन्य वनस्पति हराउँदै गएका छन् । यो अवस्थामा हामीले समयमै सुधार ल्याउन र परिवर्तित परिस्थितिसित जुध्न आफूलाई आजैदेखि पूर्ण रूपले तयार बनाउन सकेनौँ भने हामी पनि कुनै वेला अस्तित्वमा रहेका भीमकाय प्राणी डायनोसरजस्तै विलुप्त हुन बेर लाग्नेछैन । पछिल्लो समयमा एआईको विकासले चामत्कारिक परिवर्तन ल्याइरहेको छ । यसको उपयोगले मानिसलाई सुख, सुविधा हुने धेरैको विश्वास छ । मैले दश कक्षामा कम्प्युटरको विकासले बेरोजगारी बढाउँछ भन्ने पढेको थिएँ । अहिलेको एआईको विकास र उपयोगले मानव सभ्यतामा कति परिवर्तन ल्याउने हो, अहिल्यै अनुमान गर्न कठिन छ । कतिपय वैज्ञानिकले मानव सभ्यतालाई नै ध्वस्त पार्ने त होइन भन्ने आशंकासमेत गरेका छन् ।
हाम्रो देश बन्न यहाँका राजनीतिक दलमा रूपान्तरण जरुरी छ । सर्वत्र पुनर्संरचनाको खाँचो छ । संविधान संशोधन गरेर सांसद र मन्त्रीहरूको संख्या घटाउनुपर्छ । काम नगर्ने कर्मचारीको संख्या कटौती गर्नुपर्छ । डाक्टर, इन्जिनियरको दरबन्दी थप्नुपर्छ ।
पछिल्लो समयमा रासायनिक तथा आणविक हतियारको तीव्र विकास भइरहेको छ । शक्तिको उन्मादमा रमाउने बानी परेकाहरू तिनै हतियारको आडमा आफ्नो देश र आफूहरू सुरक्षित रहेको भ्रममा अहिलेसम्म बाँचिरहेका थिए । तर, कोरोनाले तिनीहरू कति गलत थिए भन्ने साबित गरिदिएको छ । अहिलेसम्मका सुपर अत्याधुनिक हतियार, अहिलेसम्म बनेका औषधि, उपचार विधि र प्रविधि खुला आँखाले देख्न नसक्ने एउटा सूक्ष्म भाइरससामु निरीह देखिए । त्यही अदृश्य भाइरसले लाखौँको ज्यान लियो । विश्वलाई एक हिसाबले ठप्प पारिदियो । त्यसले विश्व अर्थतन्त्रलाई ध्वस्त पारेर गयो । जसबाट यो विश्व अझै राम्ररी उठिसकेको छैन, तंग्रिसकेको छैन । अहिलेको पुस्ताले यी सबै चुनौतीबारे राम्ररी बुझ्न र अध्ययन गर्न जरुरी छ ।
वैज्ञानिक आविष्कारको आडमा आजको विश्व विकासको चुलीतिर लम्किँदै छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा अकल्पनीय परिवर्तन भइरहेको छ र अन्य अन्तरिक्षको खोजीमा समेत अगाडि लम्किरहेको छ । आजको यो विश्व परिवेशमा हामी कहाँ छौँ त ? यस प्रश्नको जवाफ हामीले नै खोज्नुपर्ने समय आएको छ । आज हामी नेताका लामा र फोस्रा भाषणबाट थाकिरहेका छौँ । जसले केही गर्न सक्दैन, जसमा केही गर्ने इच्छाशक्ति र दृष्टिकोण छैन, जसमा कुनै दूरदृष्टि छैन, जसमा कुनै भिजन छैन, उसैले अर्थहीन लामा भाषणको जालमा पारेर आमजनतामा निराशा र अन्योल बढाइरहेको छ । यतिखेरका नेतृत्वले न आफ्नो पार्टीमा सुधार ल्याउन सकेका छन्, न त यिनले पार्टीभित्रबाट आशालाग्दा नयाँ अनुहारका नयाँ नेतृत्व नै जन्माउन सकेका छन् । पुरानै सोच, शैली, दृष्टिकोण, आश्वासन, अनुहार र नेतृत्वबाट जनता वाक्कदिक्क भइसकेका छन् । यिनले आमजनतामा चरम निराशा बढाइरहेका छन् । हामीकहाँ कुनै योजना सुरु भइसकेपछि कहिल्यै समाप्त हुँदैनन् र ती दिगो पनि हुँदैनन् । तिनलाई विभिन्न बहानामा लम्ब्याएर, तन्काएर र अल्झाएर दुहुनु गाई बनाउने परिपाटी अन्त्य हुनुको साटो मौलाउँदै गएको छ ।
देशमा भ्रष्टाचारको आकार र क्षेत्र अकल्पनीय रूपमा फैलिरहेको छ । बिहानदेखि साँझसम्म सञ्चार माध्यमबाट आउने समाचारमा भ्रष्टाचारका खबरबाहेक केही भेटिँदैनन् । यसले यति र उसले उति खायो भन्नेबाहेक कुनै सकारात्मक र उत्प्रेरणा जगाउने खालका समाचार सुन्न पाउनु दुर्लभ छ । जो सत्ताको वरिपरि छन्, जसले सत्ताको परिक्रमा गरिरहेका छन्, तिनैले यो देशलाई लुटिरहेका छन्, रसातलमा पु¥याइरहेका छन् । देशको शासन सत्तामा बिचौलियाको रजगज छ । नेताका वरिपरि तिनै छन् । सरकार परिवर्तन पनि तिनैले गराउँछन् । सरकारी जग्गाजमिन तिनैले हत्याउँछन् । हाम्रा संवैधानिक निकायदेखि हतियारको आपूर्तिसम्मका निर्णयमा निर्णायक उनीहरू नै हुन्छन् । नेताहरूको विदेश सयरका सारथीसमेत तिनै बन्छन् । देशको शिक्षामा राज्यले जेजति लगानी गरिरहेको छ, त्यसको ‘आउटपुट’ कहिल्यै देखिएन । हाम्रो शिक्षाले हामीमा विश्वास जगाउन सकेन । यसले हाम्रो समाज, संस्कृति र भूगोललाई जोड्न सकेन । यसले हाम्रो पहिचानलाई माथि उठाउन सकेन । हाम्रा पाठ्यक्रम समयानुकूल बन्न सकेनन् । विश्व रंगमञ्चसामु कसरी प्रस्तुत हुने, कसरी प्रतिस्पर्धा गर्ने भनेर हाम्रो शिक्षाले हामीलाई सिकाउन सकेन । शिक्षा विकासको जिम्मेवारी लिनेहरू स्वयं हाम्रा शैक्षिक कार्यक्रम बेचेर आफू धनी बन्ने गलत काममा लागे । शिक्षाका माध्यमबाट देशलाई निकास दिने दिशामा कसैको ध्यान गएन । हाम्रो शिक्षा श्रमसित कहिल्यै जोडिन सकेन । जसले गर्दा यहाँका शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भइरहेका छन् । हाम्रा विश्वविद्यालयमा हुनुपर्ने समयमा पठनपाठन हुँदैन । समयमै परीक्षा हुँदैन । परीक्षा भइहाले पनि परीक्षाफल प्रकाशित हुँदैन । चार वर्ष लाग्ने कोर्सको पढाइ सकिन पाँच वर्षभन्दा बढी लाग्छ । जसले गर्दा विद्यार्थीमा यहाँको शिक्षाप्रति चरम निराशा र अविश्वास बढ्दै गएको छ । यसलाई सुधार्न कम्मर कसेर लागिपर्ने नेतृत्व हाम्रो शिक्षाले पाउन नसक्नु गम्भीर दुर्भाग्य हो ।
भन्ने वेलामा यो देशलाई कृषिप्रधान देश भनिन्छ । तर, यही देशका किसान र कृषि क्षेत्र सबैभन्दा बढी उपेक्षित छन् । यहाँ राज्यले वास्तविक किसानलाई अनुदान दिँदैन । किसानको नाममा अनुदान बिचौलियाको हातमा जान्छ । वास्तविक किसानले त भनेको वेलामा पैसा तिरेर किन्छु भन्दा पनि मल पाउँदैन । बिउबिजन, औषधि, प्रविधि, प्राविधिक सल्लाह त झनै परका विषय भए । आफ्नै खर्च र बलबुतामा विदेश गई केही सिकेपछि स्वदेश फर्केर कुनै किसानले खेती गर्छ भने पनि उसले बजार पाउँदैन । उसलाई बिचौलियाले लुट्छ, राज्यले किसानलाई होइन, बिचौलियालाई प्रोत्साहन गर्छ । जतिवेला किसान बजारको खोजीमा हुन्छ, त्यतिखेर राज्यले सिमाना खुला गरिदिन्छ, जहाँबाट विषादियुक्त उत्पादन भरमार भित्रिन्छन् र तिनका राज्यले भरपूर अनुदान दिएका विदेशी उत्पादनसित प्रतिस्पर्धा गर्न नसकेर बजारमा नबिकेपछि नेपाली किसानको दुध सडकमा पोखिन्छ, तरकारी सडक र खेतबारीमा फ्याँकिन्छन् । सीमाबाट विनापरीक्षण बेरोकटोक भित्रिने विषादीयुक्त खाद्यान्नले गर्दा आज हामी क्यान्सर, मुटुरोगलगायत घातक रोगका सिकार बन्दै गएको यथार्थप्रति राज्यले आँखा चिम्लिरहेको छ ।
एकातिर विश्वको अवस्था विकासको चरम चुलीमा पुगेको छ भने अर्कातिर हाम्रो अवस्था यस्तो छ । यहाँनेर ‘वसुधैव कुटुम्बकम्’ को मन्त्रमा विश्वास गर्ने हामीले यो मुलुक हामी सबैका लागि हो भन्ने तथ्य भुल्नुहुँदैन । देश अघि बढ्न सुशासन र पारदर्शिता चाहिन्छ । साथै, अहिले विश्वमा विकसित प्रविधिको पनि सही उपयोग हुनु जरुरी छ । देश बन्न हाम्रा राजनीतिक दलमा पनि रूपान्तरण जरुरी छ । अब सर्वत्र पुनर्संरचनाको खाँचो छ । संविधान संशोधन गरेर सांसद र मन्त्रीहरूको संख्या घटाउनुपर्छ । काम नगर्ने कर्मचारीको संख्या कटौती गर्नुपर्छ । डाक्टर, इन्जिनियरको दरबन्दी थप्नुपर्छ । संवैधानिक अंगलाई हिजोका असफल र बदनाम कर्मचारी थुपार्ने ‘डम्पिङ साइट’ बन्नबाट रोक्नुपर्छ । तब मात्र यो मुलुक अघि बढ्न सक्छ । आफैँले आफैँलाई सोधौँ, अझै कतिपटक ढाँट्ने ? विनाकाम कति माला लगाउने ? कहिलेसम्म आफ्नो परिवार र गुटसँग रमाउने ?
(डा. भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन्)