रुसले यस साता पूर्वी युक्रेनको प्रचुर स्रोत–साधनयुक्त सहर कुराखोभ कब्जा गरेको दाबी गर्यो । दुवै देशका सेना आआफ्ना अडानका साथ करिब तीन वर्षदेखि आक्रमण र प्रत्याक्रमणमा बढिरहेका वेला रुसको सो दाबी आयो । युक्रेनले रुसको कुस्र्कमा नयाँ आक्रमण सुरु गरे पनि त्यहाँका बासिन्दालाई स्तब्ध पार्दै मस्कोका सेनाले पूर्वीयुक्रेनमा केही फाइदा प्राप्त गरेको छ । रुसको अथक आक्रमणको सामना गर्दै जनशक्ति संघर्षको सामना गर्ने युक्रेनी सेनाको मनोबलमा अराजक युद्धले असर गरिरहेको देखिन्छ ।
युद्धमा मारिएका आश्चर्यजनक नयाँ संख्याले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठुलो द्वन्द्वमा युद्धले दुवै पक्षमा थोपरेको लागतमा तीव्र वृद्धिलाई औँल्याइरहेका छन् । रुसले सन् २०२४ मा मौरिससभन्दा दोब्बर युक्रेनी क्षेत्र कब्जा गरेको विज्ञहरूले बताएका छन् । तर, यो प्रक्रियामा दुवै देशले कति सैनिक गुमाए ?
रुसले कति युक्रेनी क्षेत्र कब्जा गर्यो ?
वासिंटन डिसीस्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आएसडब्लु)ले संकलन गरेको तथ्यांकअनुसार रुसी सेनाले २०२४ मा युक्रेनी भूमिको चार हजार १६८ वर्गकिलोमिटर (एक हजार ६०९ वर्गमाइल) कब्जा गरेको थियो । त्यो हिन्द महासागरको राष्ट्र मौरिससको दोब्बर र न्युयोर्क सहरको क्षेत्रफलको पाँच गुणा हो ।
आइएसडब्लुका अनुसार कुस्र्कमा युक्रेनबाट फिर्ता भएको क्षेत्रबाहेक सन् २०२४ मा रुसी क्षेत्रीय लाभमा धेरै हदसम्म युक्रेनी क्षेत्र र साना बस्ती पर्छन् । थप रूपमा रुसले अभदिभका, सेलिडोभ, भुहेल्डर, कुराकहोभलगायत क्षेत्र कब्जा गरिसकेको छ ।
रुसले कति सैनिक गुमायो, युक्रेनको के भनाइ छ ?
युक्रेनका कमान्डर–इन–चिफ कर्णेल जनरल ओलेक्सान्डर सिस्र्कीका अनुसार सन् २०२४ को डिसेम्बर ३० सम्म चार लाख २७ हजार रुसी सेना युक्रेन युद्धमा मारिए वा घाइते भए । जनवरी २ मा प्रकाशित एक विज्ञप्तिमा युक्रेनको रक्षा मन्त्रालयले रुसतर्फ गत वर्ष ४ लाख ३० हजार ७९० सैनिकलाई क्षति भएको उल्लेख छ ।
हालैको संख्यामा गणना गर्दा सन् २०२४ मा रुसी क्षति प्रतिदिन औसतमा ११ सय ८० हो र प्रति वर्गकिलोमिटर क्षेत्र कब्जा गर्दा झन्डै १०३ जनामा क्षति हुन आउँछ । युक्रेनका अनुसार रुसको घाटा वर्षको अन्त्यतिर बढेको छ । रक्षा मन्त्रालयले नोभेम्बरमा ४५ हजार ७२० र डिसेम्बरमा ४८ हजार ६७० नोक्सानी भएको जनाएको छ । यो प्रस्ट छैन कि यीमध्ये कति रुसी सेना मारिए र कति घाइते भए वा युद्ध मैदानबाट हटे ।
मृत्युको संख्या पुष्टि गर्न किन गाह्रो ?
मृत्युको संख्या पुष्टि गर्न कठिनाइ छ, किनभने ती संख्याले दुवै पक्षका लागि अपार प्रचार मूल्य राख्छन् । ‘दुवै पक्षबाट युद्धबारे विविध विवरण आएका छन् । दुवै पक्षले आफ्नो सफलतालाई मैदानमा देखाउन र अर्को पक्षलाई कमजोर पार्न संख्या प्रयोग गर्छन् । यी विवरण युद्धका हिस्सा हुन्,’ इग्नाटोभले अल जजिरालाई भने ।
२०२२ को फेब्रुअरीमा युद्ध सुरु भएदेखि ४३ हजार युक्रेनी सैनिकको युद्धभूमिमा मृत्यु भएको डिसेम्बर ८ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक टेलिग्राम पोस्टमा घोषणा गरे । अन्तिमपटक फेब्रुअरीमा उनले युद्धमा मारिने युक्रेनीको मृत्युको संख्या घोषणा गरेका थिए । उनले ३१ हजार युक्रेनी सेना मारिएको बताए । यसको मतलब सन् २०२४ मा लगभग १० महिनाको अवधिमा १२ हजार युक्रेनी सेनाको युद्धभूमिमा मृत्यु भएको थियो ।
रुस र युक्रेन दुवैले युद्धमा हराएका सेनाको संख्याबारे नियमित रूपमा तथ्यांक प्रकाशित गरेका छन् । ‘तर, उनीहरू अर्को पक्षलाई आफ्नो सैन्य कारबाही कत्तिको प्रभावकारी छन् भन्ने जानाकारी दिन हिच्किचाउँछन्,’ किंग्स कलेज लन्डनको युद्ध अध्ययन विभागकी अनुसन्धानकर्ता मारिना मिरोनल भन्छिन् । उनका अनुसार यदि सरकारले आधिकारिक रूपमा सेनालाई मृतकको रूपमा स्वीकार नगरेको अवस्थामा मृतकका परिवारलाई क्षतिपूर्ति तिर्न पर्दैन ।
१० वर्षसम्म चलेको सोभियत–अफगान युद्धमा सोभियत सेनातर्फ लगभग १५ हजार हताहत भएका थिए । २० वर्षसम्म चलेको भियतनाम युद्धका क्रममा अमेरिकी सेनाले ५८ हजार २२० सैनिक गुमाएको थियो ।
रुसले कति सैनिक गुमायो, अरूले के भने ?
स्वतन्त्र रुसी वेबसाइट मिडियाजोनाका अनुसार जनवरी १, २०२४ र डिसेम्बर १७, २०२४ को बिचमा कम्तीमा ३१ हजार ४८१ रुसी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । मिडियाजोनाले मृत्यु भएका रुसी सैनिकको नाम संकलन गर्न मृत्युको विवरण प्रमाणित गर्दै खुला स्रोत अनुसन्धानको प्रयोग, आफन्तले प्रेषित गरेका विवरण, स्थानीय अधिकारीको बयान र अन्य सार्वजनिक रिपोर्ट पनि समावेश गर्छ ।
मिडियाजोना वेबसाइटका अनुसार सन् २०२४ युद्धको सबैभन्दा घातक वर्ष थियो । यद्यपि यसलाई आधिकारिक रूपमा प्रमाणित गर्न सकिँदैन, किनकि हताहतको तथ्यांक ढिलो आउँछ । ‘यस्तो देखिन्छ कि मृत्यु हुने रुसीको संख्या एक लाखभन्दा बढी छ,’ लन्डनस्थित थिंक ट्यांक चथम हाउसका टिमोथी ऐसले भने । यद्यपि, डिसेम्बर १७ मा प्रकाशित फ्रान्सेली समाचार आउटलेटले मोन्डेसँगको एक अन्तर्वार्तामा युक्रेनी कमान्डर सिर्सकीले युक्रेनमा मृत्यु हुने रुसी सेनाको संख्या निरन्तर बढिरहेको बताए । सिस्र्कीजस्ता व्यक्तिको टिप्पणीले प्रश्न खडा गरेको क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक ओलेग इग्नाटोभ बताउँछन् । यदि मस्कोले यस्तो विनाशकारी नोक्सान भोगिरहेको छ भने युक्रेनमा रुसी सेनाको संख्या कसरी बढ्दै छ ? उनले अगाडि भने, ‘हामीलाई थाहा छैन कि रुसी भर्ती मोडेल राम्रो छ, अथवा त्यहाँ धेरै रुसीे हताहत दाबी गरिएझैँ छैनन् ।’
रुसी ग्यास बन्द भएपछि ट्रान्सनिस्ट्रियाका लगभग सबै उद्योग बन्द
युक्रेनले आफ्नो भूमि हुँदै युरोप जाने ग्यास आपूर्ति बन्द गरेपछि रुसनिकट ट्रान्सनिस्ट्रिया सबैभन्दा बढी प्रभावित भएको छ । मोल्डोभाबाट एकतर्फी रूपमा अलग भएको घोषणा गरेको ट्रान्सनिस्ट्रिया क्षेत्रमा रुसी ग्यास आपूर्ति बन्द भएपछि खाद्य उद्योगबाहेक सबै कलकारखान बन्द भएका छन् । सन् १९९० को दशकमा सोभियत संघको पतन भएपछि मोल्डोभाबाट अलग भएको यो भेगमा ४५ लाख मानिस बसोवास गर्छन् । मुख्य रूपमा रुसीभाषी बस्ने क्षेत्र गत बुधबारदेखि युक्रेन हुँदै युरोप जाने रुसी ग्यास आपूर्ति कटौती भएपछि सबैभन्दा बढी प्रभावित भएको छ ।
‘खाद्य उत्पादन गर्ने कम्पनीबाहेक सबै उद्योग बन्द भएका छन्,’ ट्रान्सनिस्ट्रियाका प्रथम उपप्रधानमन्त्री सर्गेई ओबोलोनिकले स्थानीय समाचार च्यानललाई भने । युक्रेनले रुसले आफूमाथि करिब तीन वर्षदेखि आक्रमण गरेको भए पनि उसको भूमि हँुदै युरोप जाने रुसी ग्यास आपूर्तिमा अवरोध पुर्याएको थिएन । युक्रेनले उसको भूमिमा रुसी ग्यास पाइप राख्न दिएबापत बर्सेनि एक अर्ब डलर कमाउँदै आएको थियो । तर, वर्षको प्रारम्भबाट पाइपलाइनसम्बन्धी पाँचवर्षे सम्झौता अन्त्य भएसँगै रुसले सम्झौता नवीकरण गर्न अस्वीकार गर्यो ।
स्लोभाकिया र अस्ट्रियाजस्ता युरोपका सबैभन्दा ठुला रुसी ग्यास खरिदकर्ताले वैकल्पिक आपूर्ति सुरक्षित गरेर कटौतीको तयारी गरेका थिए । तर, मस्कोसँग नजिकको सम्बन्ध रहेको र अत्यधिक रूपमा रुसमाथि आश्रित ट्रान्सनिस्ट्रियासँग अन्य विकल्प थिएन । सो भेगमा अझै एक हजार ५०० रुसी सेना तैनाथ छन् । बुधबारदेखि स्थानीय ऊर्जा कम्पनीले घरघरमा जोडिएको ताप ऊर्जा र तातोपानी कटौती गर्यो । सरकारले परिवारलाई एउटै कोठामा भेला भएर झ्याल, पर्दा वा कम्बलले छोपेर र इलेक्ट्रिक हिटर प्रयोग गरेर न्यानोमा बस्न आग्रह गरेको छ ।
रुसले ट्रान्सनिस्ट्रियामा प्रतिवर्ष करिब दुई अर्ब क्युबिक मिटर ग्यास दिँदै आएको थियो । ट्रान्सनिस्ट्रियाले रुससँग भएको मौन सम्झौताअनुरूप धेरै वर्षदेखि रुसी ग्यास कम्पनी ग्याजप्रोमलाई ग्यासको मूल्य तिरेको छैन । उता मस्कोले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेयता युरोपले रुसमाथि ऊर्जा निर्भरता घटाएको छ । युरोपेली मुलुकले नर्वेली ग्यास पाइप र अमेरिका तथा कतारबाट ल्याइएका तरलीकृत प्राकृतिक ग्यासलगायत स्रोतबाट आयात बढाएको छ । रुसले भने यी कदमले युरोपेली मुलुकहरुनै बढी घाटा पर्ने बताएको छ । उसका अनुसार युरोप अहिले महंगो अमेरिकी इन्धनमा आश्रित हुँदै गइरहेको छ ।
अलजजिराबाट