साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुस्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा आउने भएको छ।
२५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ एक हजार २२८ मिटर छ। यसमा एकैपटक तीनजनासम्म खेल्न सकिन्छ। एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले बताए। उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछ।
‘द क्लिफ’ले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्विङ, स्काई साइक्लिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकोमा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले जनाए।
‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ।’ हाल यसको परीक्षण भइरहेको उनको भनाइ छ।