आज बिहान गएको भूकम्पले संखुवासभामा एक घरमा सामान्य क्षति पुगेको छ। जिल्लाको भोटखोला गाउँपालिका १ किमाथांका बस्ने वर्ष ५२ को तेन्छेबी शेर्पाको ढुंगाको गारो र टिनको छाना भएको २ तले घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । भूकम्पले घरको गारो भत्काएको छ भने मानवीय र पशुचौपयामा क्षति पुर्याएको छैन।
आज बिहान साढे ६ बजे संखुवासभाको सिमानानजिकै रहेको चीनको तिब्बत प्रान्तको देंगी काउन्टीमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले संखुवासभामा सामान्य मात्रै क्षति पुगेको छ।
त्यसैगरी, आज संखुवासभाका विभिन्न भागमा वर्षात् भएको छ। वर्षातसहित हिमपात भएकाले संखुवासभामा चिसो ह्वातै बढेको छ। सदरमुकामलगायत आसपासका क्षेत्रमा पानी परेपछि चिसो बढेको हो।
लामो समयको खडेरीपछि पानी परेकाले किसानहरू भने खुसी भएका छन्। हिउँदे बालीनाली गहुँ, तोरी, सागसब्जी र अलैँचीसमेत सुक्न थालिसकेको अवस्थामा राहतको महसुस भएको स्थानीय खाँदबारी-४ का मानबहादुर गुरुङ बताउँछन्। उनले खडेरी तुवाँलो, हुस्सुलेआकाश ढाकिएकोमा पानी परेपछि खुल्ने, बोटबिरुवा, अन्नबालीले राहत पाएको बताए।