क्यानडालाई डोनाल्ड ट्रम्पबाट अस्तित्वकै चुनौती

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडालाई वास्तविक देश नभई केवल अर्को अमेरिकी राज्यको संज्ञा दिँदै मजाक बनाएका छन्

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने आफ्नो विचार फेरि दोहोर्याएका छन् । उनले क्यानडाका व्यवसायी केभिन ओ’लिरीको यस्तै व्यहोराको सामाजिक सञ्जाल पोस्टलाई साझा गरेका छन् । ट्रम्पको यो विचारलाई धेरैले मजाकको विषय बनाएका भए पनि क्यानडाका लागि यो पोस्ट संवेदनशील समयमा आएको छ, किनभने लिबरल सरकार क्रिस्टिया फ्रिल्यान्डले अर्थमन्त्री र उपप्रधानमन्त्रीबाट दिएको राजीनामापछि समस्यामा परेको छ । राजीनामा पत्रमा फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोको आलोचना गर्दै ट्रम्पको सम्भावित दोस्रो कार्यकालको चुनौतीको सामना गर्न क्यानडा असुरक्षित रहेको बताएकी छिन् । त्यसमाथि डोनाल्ड ट्रम्पले फ्रिल्यान्डलाई ‘विषाक्त’ भन्दै ट्रुडो स्वायत्त राष्ट्रका नेता नभई अमेरिकी राज्यको गभर्नरका रूपमा उल्लेख गरेर तनाव बढाएका छन् । उनले एक अर्को पोस्टमा क्यानेडेलीलाई कर र सैन्य सुरक्षामा ठुलो बचत हुने दाबी गर्दै ५१औँ राज्य बन्न सुझाव दिएका छन् ।

आर्थिक एवं लोकतान्त्रिक पतनक्रममा : आगामी क्यानेडेली प्रधानमन्त्रीले ट्रम्पले अघि सारेको मुलुकको अस्तित्वमै संकट खडा गर्ने धम्कीलाई अहिलेको ट्रुडोको लिबरल सरकारले भन्दा प्रभावकारी ढंगले सम्बोधन गर्नुपर्नेछ । ट्रम्पले क्यानडाको स्वतन्त्रतालाई खुला रूपमा अपमानित गर्दै यसको सार्वभौमिकता र पहिचानलाई चुनौती दिइरहेका छन् । अमेरिकामा गाभ्ने उनको धम्कीले क्यानडाको अर्थतन्त्र, लोकतन्त्र र सार्वभौमिकतामाथि निरन्तर चुनौती खडा गरिरहेको छ जसको सामना गर्न स्पष्ट एवं दृढ प्रतिक्रिया आवश्यक छ । ट्रम्पले क्यानेडेली निर्यातमा प्रस्ताव गरेको २५ प्रतिशत करले दुवै देशको अर्थतन्त्रलाई ठुलो क्षति पुर्याउन सक्छ र त्यसमाथि क्यानडाको सानो अर्थतन्त्रका कारण यसको प्रभाव थप ठुलो हुनेछ । लोकतान्त्रिक मान्यताप्रति उनको बेवास्ता पनि त्यत्तिकै चिन्ताजनक छ किनभने उनी यी मान्यतालाई सिद्धान्तभन्दा अवरोधका रूपमा हेर्छन् । उनको ‘प्रतिशोध यात्रा’मा मिडिया संस्था र तिनका सर्वेक्षक परेका छन् । यी सर्वेक्षकले अमेरिकी चुनावको अन्त्यतिर कमला ह्यारिसले चुनावमा अग्रता लिइरहेकी छिन् भन्ने रिपोर्ट गरेका थिए । पुनः ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले विपक्षीलाई दण्डित गर्न सार्वजनिक संस्थाको प्रयोग गर्ने वाचा गरेका छन् । यसले उनलाई आपराधिक कार्यका लागि एकपक्षीय सर्वोच्च अदालतको निर्णयले पनि संरक्षण दिनेछ । लोकतान्त्रिक संस्थाप्रति उनको बेवास्ताले विश्वव्यापी रूपमा लोकतान्त्रिक क्षयीकरणलाई तीव्र बनाएको थियो । दोस्रो ट्रम्प प्रशासनले यी प्रवृत्तिलाई अझै बलियो बनाउने सम्भावना छ र क्यानेडेली राजनीतिमा उनको सम्भावित हस्तक्षेपले गम्भीर चिन्ता उत्पन्न गरिरहेको छ । 

क्यानेडेली सार्वभौमसत्तालाई खतरा : ट्रम्पका अभिव्यक्तिले उनी ती व्यक्तिका लागि कुनै सम्मान राख्दैनन्, जसलाई उनी असहाय मान्छन् र हाल क्यानडा यसमा पर्छ भन्ने बारम्बार देखिन्छ । उनले क्यानडालाई वास्तविक देश नभई केवल अर्को अमेरिकी राज्य भएको संज्ञा दिँदै मजाक बनाएका छन् । यो धम्कीलाई हाँसेर खारेज गर्नु मात्र पर्याप्त हुँदैन । अहिलेसम्म क्यानडाले यसो गर्दै आएको छ, जसले ट्रम्पको भनाइलाई सहीजस्तो बनाउँछ । क्यानडाले आफ्नातर्फको सीमा सम्बन्धमा प्रभावकारी व्यवस्थापन गर्नुको सट्टा सीमामा एक अर्बभन्दा बढी थप खर्च गर्ने वचन दिएको छ । क्यानडाको नेतृत्वले ट्रम्पको धम्कीलाई एक गुन्डाको दादागिरीका रूपमा लिएर खण्डनसमेत गर्न सकेको छैन । ट्रम्पको भन्सार करसम्बन्धी धम्कीको सामना गर्दा ट्रुडोले अप्रत्यासित रूपमा फ्लोरिडा यात्रा गरेर राष्ट्रपति निर्वाचितलाई भेट्न र क्यानडाको पक्षमा दलिल राख्न गएका थिए । यसक्रममा सामान्य प्रोटोकल (कूटनीतिक संहिता) पालना गरिएको थिएन । यसले ट्रुडोलाई एक अनुग्रह माग गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्यो न कि सरकार प्रमुखका रूपमा ।

ट्रम्पलाई उपद्र्याहा एवं आक्रामक स्कुले बालकका रूपमा हेरिन्छ, जसले अन्य मुलुकबाटै अमेरिकाको सीमा सुरक्षा गराउन चाहन्छ । जब कि अमेरिकाको सीमा सुरक्षा त्यहाँकै राष्ट्रपतिको दायित्व हो । जवाफ नदिनाले धम्कीलाई थप प्रोत्साहन गर्छ । ट्रुडोले समानताका आधारमा व्यवहार गर्ने वाचा गर्दै गर्दा ट्रम्पले उनलाई ५१औँ अमेरिकी राज्यको गभर्नर भन्दै उपहासका पात्र बनाए । सबैले क्यानडाको जवाफ कुरेर बसेका छन् । इज्जत जोगाउन क्यानडाले आफ्नो सार्वभौमिकता, समृद्धि र मूल्यको रक्षा गर्न दृढ रहनुपर्छ चाहे यसका लागि व्यापार युद्धमै होमिन किन नपरोस् ।

शक्ति असन्तुलन : अमेरिका एक शक्तिशाली राष्ट्र भए पनि एक शताब्दीयता क्यानडा र अमेरिका एक–अर्काका सहयोगी एवं साझेदार बन्दै आएका छन् र साझा मूल्यमा आधारित बलियो सम्बन्ध बनाएका छन् । तर, ट्रम्पले क्यानडाको सार्वभौमसत्तामाथि अमेरिकी शक्तिलाई प्राथमिकता दिनुको अर्थ क्यानडा अमेरिकामा आर्थिक र सैन्य रूपमा निर्भर छ भन्ने हो । तर, अमेरिका एवं क्यानडाबिचको गहिरो सम्बन्ध अमेरिकी सत्ताका लागि पनि सहज छैन ।

क्यानडाको ओन्टारियो प्रान्तका प्रमुख डग फोर्डले भनेजसरी ऊर्जा निर्यात रोकियो भने यसले अमेरिकाको अर्थतन्त्रलाई क्षति पुर्याउन सक्छ । उदाहरणका लागि क्यानेडेली पेट्रोलियममा कर लगाउँदा महँगी बढ्नेछ । यदि अमेरिका क्यानडाको सार्वभौमिकतालाई बेवास्ता गर्छ भने अन्य राष्ट्रलाई पनि जोखिम हुनेछ । विश्वका मुलुकले यस्तो दादागिरीको सामना गर्नका लागि उपाय खोज्नुपर्छ र क्यानडाले आफ्ना मित्र राष्ट्रसँग मिलेर काम गर्नुपर्छ । ट्रम्प पुनः राष्ट्रपति बन्न गइरहेका छन् र क्यानडामा जोसुकै नेतृत्वमा पुगे पनि मुलुकको सार्वभौमिकता जोगाउन तम्तयार रहनुपर्छ ।

(प्रेस्ट ब्रिटिस कोलम्बिया विश्वविद्यालयका राजनीतिशास्त्रका लेक्चरर हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार