मस्कको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी स्पेसएक्सले पृथ्वीको कक्षमा वैज्ञानिक उपकरण पुर्याउने अभियानको लागत झन्डै १० गुणाले घटाइसकेको छ
१३ अक्टोबरमा विश्वको सबैभन्दा ठुलो र शक्तिशाली रकेट स्टारसिप अमेरिकाको टेक्सासस्थित रकेट प्रक्षेपण केन्द्र (लन्चप्याड)बाट अन्तरिक्षतर्फ उड्यो । रकेटको मुख्य बुस्टर पृथ्वीको सतहबाट ६५ किमि उचाइसम्म पुगेर पुनः फर्किन लाग्यो । फर्किंदा त्यसको वेग ध्वनिको गतिभन्दा तीव्र थियो । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले बनाएको उक्त रकेट पृथ्वीको सतहनजिक आइपुग्यो, यसको बन्द इन्जिन पुनः प्रज्ज्वलित भयो । त्यसपछि त्यो बिस्तारै सात मिनेटअघि टेक्सासको जुन टावरबाट उडेको थियो, सोही टावरमा अवतरण गर्न थाल्यो । अवतरणपछि टावरका दुई सनासोजस्तो भागले विशाल लन्चरलाई बलियोसँग समात्यो । लन्चर पुनः प्रक्षेपण गर्न योग्य अवस्थामा थियो ।
‘यो दिनलाई इन्जिनियरिङको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ,’ स्पेसएक्सकी इन्जिनियर केट टिसले भनिन् । प्रतिष्ठित अनुसन्धान जर्नल साइन्सले यस उपलब्धिलाई उत्साहजनक भन्यो । ‘यस उपलब्धिले भारी सामान बोक्ने सस्तो रकेटको नयाँ युग सुरु गराउनेछ । अन्तरिक्ष अनुसन्धानको लागतमा धेरै कटौती हुन सक्छ,’ जर्नलले गत महिना स्टारसिपको अक्टोबर उडानलाई वर्षको उल्लेखनीय उपलब्धिमध्ये एकको रूपमा चर्चा गर्दै भन्यो ।
अक्टोबरको उडान सफलताअघि नै मस्कको कम्पनीले पृथ्वीको कक्षमा सामान पुर्याउने अभियानको लागत झन्डै १० गुणाले घटाइसकेको उक्त जर्नलले खुलासा गरेको छ । र, हालसम्मकै सबैभन्दा शक्तिशाली लन्चर तथा छिटो पुनः प्रयोग गर्न सकिने स्टारसिप पूर्ण रूपमा सञ्चालनमा आएपछि खर्च उत्तिकै दरमा कटौती हुने अपेक्षा गरिएको जर्नलले सोही समय भनेको थियो । स्पेसएक्सको पछिल्लो सफलतामा सबै अन्तरिक्ष इन्जिनियरले उत्साहित छन् । उनीहरू यस वर्षको अन्त्यसम्म स्पेसएक्स प्रयोगमा आउन थालेपछि त्यसलाई प्रत्येक दुई वा तीन हप्तामा प्रक्षेपण गर्न सकिने बताउँछन् ।
स्पेसएक्सले सन् २०२५ मा कुल २५ उडान गर्ने योजना छ, जुन आफैँमा महत्वाकांक्षी कार्यतालिका हो । ‘इजरायल इन्स्टिच्युट अफ टेक्नोलोजी’अन्तर्गतका एस्ट्रोफिजिसिस्टका प्राध्यापक एहुद बेहारले ‘स्पेस डट कम’ वेबसाइटलाई बताएअनुसार स्टारसिपले आगामी दिनका लागि सार्वजनिक गरेको तालिका आफैमा ठुलो सफलता हो । वैज्ञानिकका लागि स्टारसिपका स्पष्ट फाइदा छन् । पुनः प्रयोग गर्न मिल्ने लन्चर प्रक्षेपण हुन थालेपछि उडान खर्च घट्ने र अन्तरिक्षमा हाल गर्न नसकिएका महँगा वैज्ञानिक अनुसन्धानसमेत सहज हुने उनीहरूको आशा छ । स्टारसिपको उपलब्धिको यो पक्ष महŒवपूर्ण भएको ‘साइन्स’ जर्नलले आफ्नो सम्पादकीयमा भनेको छ ।
पहिले अन्तरिक्ष प्रक्षेपणको असफलताको खतरालाई धेरै नै महँगो ठानिन्थ्यो । त्यसैले नासाका अन्तरिक्ष मिसनमा प्रयोग गरिने सामग्रीको बारम्बार परीक्षण गरिन्थ्यो । यसले मिसनको खर्च झन् बढाइदिन्थ्यो । अब मंगल ग्रहमा ठुलो संख्यामा रोभर पठाउन सकिनेछ, अहिले पठाएको जस्तो एक–दुई मात्र होइन । त्यस्तै, अन्तरिक्षमा विशाल ऐनालाई निश्चित संरचनामा पठाएर माथि आफैँ ‘एसेम्बल’ हुने व्यवस्था गरेर टेलिस्कोप निर्माण गर्न सकिने भएको छ । त्यस्तो सम्भावनाले रोमाञ्चित बनाउँछ, तथापि मस्कको कम्पनीका अँध्यारा पाटा पनि छन् । पहिलो त स्टारसिपले नासाको आफ्नै रकेट प्रणाली र तथा महँगो ‘अन्तरिक्ष प्रक्षेपण प्रणाली (एसएलएस)’लाई नष्ट गर्ने सम्भावना छ । नासाले दशकौँदेखि यस प्रणालीमा काम गर्दै आएको छ । नासाका रकेट एकपटक मात्र प्रयोग गर्न सकिने खालका छन् र प्रत्येक ‘एसएलएस प्रणाली’को प्रक्षेपणमा अर्बौं अर्ब डलर खर्च हुन्छ । जबकि मस्कले उनको कम्पनीको रकेट प्रणालीको खर्च एक करोड डलरमा सीमित गर्ने योजना बनाएका छन् । धेरै वैज्ञानिकले स्टारसिपले केही वर्षभित्रै ‘एसएलएस प्रणाली’लाई अनावश्यक बनाइदिने भविष्यवाणी गरेका छन् । स्पेसएक्ससँग जोडिएका अर्को समस्या यसका मालिक मस्कको राजनीति हो ।
धेरै वैज्ञानिकले मस्कको दक्षिणपन्थी राजनीति र डोनाल्ड ट्रम्पसँगको उनको घनिष्ट सम्बन्धलाई स्विकार्न सकिरहेका छैनन् । मस्क अमेरिकाको वर्तमान आप्रवासन नीतिको मुखर आलोचक हुन् भने उनी धेरै प्रजातान्त्रिक राजनीतिज्ञलाई घृणा गर्छन् । अहिले आएर ट्रम्पले उनलाई अमेरिकी संघीय बजेटबाट ५०० अर्ब डलर कटौती गर्ने जिम्मेवारी दिएका छन् । खासमा, स्टारसिपसँग मस्कको अपेक्षा वैज्ञानिक अनुसन्धानमा सहयोगी हुनेभन्दा मंगल ग्रहमा मानव वस्ती बसाउने सपनासँग जोडिएको छ । गत सेप्टेम्बरमा उनले स्पेसएक्सले दुई वर्षभित्र मंगल ग्रहमा पहिलो मानवविहीन स्टारसिप मिसन प्रक्षेपण गर्ने घोषणा गरेका थिए । मस्कका अनुसार सो मिसन सफल भएमा त्यसको चार वर्षमा चालक दलसहितको उडान भरिनेछ । ३० वर्षभित्रमा मंगल ग्रहमा मानव बस्ती बनिसक्ने र बसोवास गर्ने मानिसको जनसंख्या १० लाख मानिस पुग्ने परिकल्पना मस्कले गरेका छन् ।
विवादास्पद अर्बपति मस्कको मंगल ग्रहमा बस्ती बनाउने योजनाले धेरैको ध्यान तानेको छ । केहीले मजाक गरेका छन् । पक्कै पनि २२.५ करोड किमि दूरीमा रहेको मंगल ग्रहसम्मको मानव यात्रा निकै कठिन हुनेछ । बिचमा खतरनाक ब्रह्माण्डीय विकिरणबाट गुज्रिएर पानी नभएको ग्रहमा अन्न उब्जाउने उपाय खोज्नु आफैँमा ठुलो चुनौती हो । अझ यस कठिनाइलाई यस ग्रहको न्यून वायुमण्डलीय दबाबले बढाउँछ । त्यहाँ पृथ्वीको समुद्र क्षेत्रको वायुमण्डलीय दबाबको तुलनामा एक प्रतिशतभन्दा कम दबाब छ । पृथ्वीबाट मंगल ग्रहको यात्रा ‘एउटा अव्यवस्थित कोठा छाडेर विषाक्त फोहोरको डङ्गुर गए’जस्तो हुने केली र ज्याक वाइनर स्मिथले आफ्नो पुस्तकमा लेखेका छन् । ‘ए सिटी अन मार्स : क्यान वी सेटल स्पेस, सुड वी सेटल स्पेस र ह्याभ वी रियल्ली थट दिस थ्रु’ नामक सो पुस्तकले सन् २०२४ को ‘रोयल सोसाइटी त्रिवेदी विज्ञान पुस्तक’ पुरस्कार जित्न सफल भयो । यस्तै तर्क खगोलशास्त्री मार्टिन रिज पनि गर्छन् ।
मार्टिन रिज सुरुदेखि मस्कको मंगल ग्रह अभियानविरुद्ध छन् । ‘पृथ्वीबाट ठुलो संख्याका मानिस मंगल जानेछन् भन्ने आशा नगरे हुन्छ । अन्तरिक्षमा गएपछि पृथ्वीको समस्याबाट मुक्ति पाइनेछ भन्ने सोच आफैँमा खतरनाक भ्रम हो । हामीले पहिले यहाँका समस्या समाधान गर्न ध्यान दिनुपर्छ ।
– द गार्जियनबाट