मुक्तिनाथले मनायो १८औँ वार्षिकोत्सव

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेड १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले देशभर रक्तदान, चित्रकलालगायत कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ ।  

बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रमबाट कुल ६ सय ११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरूलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीबिच राष्ट्रव्यापी चित्रकला प्रतियोगितासमेत गरेको छ ।

कुल चार सय ७६ विद्यार्थी सहभागी रहेको प्रतियोगितामा सर्वोत्कृष्ट चित्रकार जुलेन गुरुङ बने, जसले ५० हजार नगद  र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, हरेक क्षेत्रीय कार्यालयअन्तर्गतका उत्कृष्ट चित्रकारलाई जनही १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।  

बैंकले कृषि क्षेत्रमा कलम चलाउने तीनजना पत्रकारलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मानित गरेको छ । उक्त पुरस्कार सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौं) र माधवप्रसाद अर्याल (पाल्पा)ले प्राप्त गरे । उनीहरूलाई क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । बैंकको केन्द्रीय कार्यालय काठमाडांैमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरे ।

सुझावित समाचार