लागुऔषध ब्राउन सुगरसहित पोखराबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय, पोखरा–१ बगर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१ सिद्धनाथ टोलबाट पोखरा–१ बस्ने निसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका–१० घर भई हाल पोखरा–८ नयाँबजार बस्ने दीपक वि.क.लाई पक्राउ गरेको हो ।
सिद्धनाथ टोल क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले श्रेष्ठ र वि.क.लाई खैरो हेरोइन अर्थात् ब्राउन सुगर ०.४९० ग्राम, डाईजापाम तीन एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल दुई गरी जम्मा पाँच एम्पुल, डिजिटल तराजु एक थान र मोबाइल दुई थानसहित पक्राउ परेको शर्माले जानकारी दिए।
यसैगरी पोखरा–२५ हेम्जामा लागु औषधको कारोवार भई रहेको सूचनापछि खटिएको प्रहरीले पोखरा–२५ बस्ने लगिन थापालाई ब्राउन सुगर ०.५०० ग्राम, लागु औषध गाँजा ६ सय ग्राम, १० एमजीको नाइट्रोभेट चक्की १९९ थान र एक थान मोबाइलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको जनाएको छ ।