नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका १० र ११ को सिमाना भएर बग्ने नारायणी नदीको पानीमाथि डोजर चलाइएको छ । नारायणी नदीले वर्षामा बहाब परिवर्तन गरी चितवनतिर बगेर नवलपुर क्षेत्र सुक्खाग्रस्त भएपछि नदीमा डोजर चलाएर पानीको बहाब परिवर्तन गरी नवलपुर ल्याउन लागिएको हो । जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, पत्रकारलगायतको उपस्थितिमा नारायणीको धार परिवर्तन गर्न लागिएको हो ।
नारायणीको उत्खनन धेरै हुँदा नदी गहिरिएर दक्षिणी भँगालो (चितवन क्षेत्र)मा पानीको बहाब धेरै हुँदा उत्तरी भँगालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । जसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।
‘कोही मरेपछि मलामी जाँदा गाली मात्र पाइन्छ, त्यसैले सकेसम्म मलामी नै जान नपरे हुन्थ्यो भन्ने लाग्छ,’ गैँडाकोट– ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले भने, ‘मलामी गइहाले पनि म त सहभागी भएर फर्किहाल्छु, नत्र जनप्रतिनिधि भएर नदी सुक्खा हुँदा पनि चुप लागेर बसेको भन्दै स्थानीयले गाली गरेर बस्न दिन्नन् ।’
नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्या–पर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताए ।
उत्तरी भँगालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट– ११ का अध्यक्ष सुवेदीले बताए । चितवनतर्फ विकास निर्माण तथा नारायणी नदीको तटबन्धका लागि सेतीदेवी र मजुवा सामुदायिक वनआसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाब दक्षिण भँगालोतर्फ सोझिएको जिल्ला समन्वय प्रमुख बाबुराम विश्वकर्माको भनाइ छ । तर, मध्यवर्ती (नवलपुर क्षेत्र)को अप्ठ्यारो कानुनका कारण नदीजन्य पदार्थ उत्खनन गर्न नपाउँदा उत्तरी भँगालो अग्लो भएर पानी पास हुन नसकेको विश्वकर्माले बताए ।
नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी नदी दुईवटा भँगालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भँगालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि शिख्रौलीसम्मको उत्तरी भँगालो लगभग सुक्खा भएपछि नदी आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो संख्याका सर्वसाधारण समस्यामा परेको देखिन्छ ।
नारायणीको उत्तरी भँगालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि ठुलो समस्यामा परेका छन् । दुईवटा डोजरले कम्तीमा एक हप्ता काम गरेर चितवनतर्फ बगेको नारायणीको एकतिहाइ पानी नवलपुर क्षेत्रमा बग्ने बनाउने गरी काम थालिएको छ ।
तर, कतिपयले भने अहिले यसरी डोजर लगाएर नदीको धार परिवर्तन गराउँदा वर्षायाममा पनि नारायणीले नवलपुर क्षेत्रकै धार समात्यो भने थेग्न नसक्ने गरी क्षति हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिबाट निर्णय गराएर नदीमा डोजर लगाउन पुगेको टोलीले भने त्यसरी आत्तिन नपर्ने बताएको छ । यो हिउँदे कुलोजस्तो भएकाले वर्षामा नदीको वेगले लिने धार फरक पर्ने बताउँछन् जिल्ला समन्वय प्रमुख विशवकर्मा ।