विदेश नीतिमा कार्टरको प्रतिष्ठा र विश्वले सिक्नुपर्ने पाठ

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

सन् १९७८ को डिसेम्बरमा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले विदेशमा अमेरिकी रणनीतिक निर्णयहरू मानव अधिकारको पालनाद्वारा आकार दिनुपर्छ भन्ने आफ्नो विश्वासलाई रेखांकित गरे । ‘मानव अधिकार हाम्रो विदेश नीतिको आत्मा हो । किनभने मानव अधिकार हाम्रो राष्ट्रियताको भावनाको आत्मा हो,’ यही २९ डिसेम्बरमा १०० वर्षको उमेरमा निधन भएका कार्टर बारम्बार भन्ने गर्थे । उनको विचार सदैव सान्दर्भिक देखिन्छ ।

विदेश मामिलामा अमेरिकी राष्ट्रपतिको रूपमा कार्टरको एक कार्यकाल (१९७७–१९८१) मा केही उल्लेखनीय उपलब्धि भएका थिए । सबैभन्दा महत्वपूर्ण उपलब्धि सन् १९७८ मा भएको ऐतिहासिक क्याम्प डेभिड सम्झौता थियो । कार्टर, इजरायली प्रधानमन्त्री मेनाकेम बेगिन र इजिप्टका राष्ट्रपति अनवर सादातले एक सम्झौतामा हस्ताक्षर गरे, जसमा बेगिन इजिप्टसँग शान्ति र पूर्ण कूटनीतिक सम्बन्धको बदलामा १९६७ को ६ दिने युद्धमा इजरायलले कब्जा गरेको सम्पूर्ण सिनाई प्रायद्वीप त्याग्न सहमत भयो । यसले अमेरिकी कूटनीतिको शक्तिमा कार्टरको विश्वास र अमेरिकी राष्ट्रपतिहरूले शान्ति स्थापनाको कठिन कार्यलाई साहसका साथ किन ग्रहण गर्नुपर्छ भन्ने उदाहरण दिन्छ ।

पच्चीस वर्षपछि र दोस्रो खाडी युद्धको पृष्ठभूमिमा कार्टरलाई उक्त सम्झौतामा उनको भूमिकाको लागि मान्यता दिइयो र २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरियो । राष्ट्रपति जर्ज डब्लु बुसले इराकमा आक्रमण गर्ने योजना बनाइरहेका वेला ‘पूर्वराष्ट्रपति जिमी कार्टरलाई शान्ति वार्ता, मानव अधिकारका लागि अभियान र सामाजिक कल्याणका लागि काम गरेकोमा शान्ति पुरस्कार प्रदान गरिएको,’ नोबेल समितिले बतायो । ‘अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानव अधिकारलाई अगाडि बढाउन र आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्नका लागि कार्टरको दशकौँको अथक प्रयासको कदरस्वरूप यो पुरस्कार दिइएको समितिले बतायो ।

सन् १९८१ को जनवरीमा पद छोड्दा कार्टरले सबैभन्दा महत्वपूर्ण विषय र कारणमा संलग्न हुन पूर्वराष्ट्रपतिको रूपमा आफ्नो पोजिसन प्रयोग गर्न खोजे । उनले व्यक्तिगत कूटनीतिको आफ्नै मार्ग पछ्याउन कार्टर सेन्टर स्थापना गरे । सन् १९८२ देखि सुरु भएको सेन्टरले ३९ देशमा एक सय दशभन्दा बढी निर्वाचनको अनुगमन गरेको छ । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको अगाडि र तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प शान्तिपूर्ण संक्रमणका लागि प्रतिबद्ध हुन अस्वीकार गर्दा कार्टर सेन्टरले अमेरिका प्रतिगमनतर्फ बढेको टिप्पणी गर्यो ।

नैतिक कूटनीति
एक निष्ठावान् इसाईका रूपमा कार्टरले पूर्वविश्व नेतासँग प्रजातन्त्र र मानव अधिकारको प्रवर्द्धन गर्न, रोगहरूको उन्मूलनमा वैज्ञानिक कार्यको समर्थन गर्न र द्वन्द्व रोक्न सम्भव भएसम्म मध्यस्थताका लागि आफ्नो व्यक्तिगत सम्बन्धको अधिकतम उपयोग गरे । कार्टरको सक्रियतालाई उनका ह्वाइट हाउसका केही उत्तराधिकारी (दुवै रिपब्लिकन र डेमोक्य्राटहरू)ले सधैँ सराहना गरेनन् । पूर्वराष्ट्रपतिको कूटनीतिको व्यक्तिगत ब्रान्डले समकालीन अमेरिकी कूटनीतिक पहललाई प्रायः जटिल र विरोधाभास बनाएको डार्टमाउथ कलेजका प्राध्यापक र्यान्डल बाल्मर बताउँछन् ।

कार्टर शान्ति प्रवर्द्धन, सामाजिक न्याय, जलवायु परिवर्तन र विश्वव्यापी मानव अधिकारमा काम गर्ने विश्वव्यापी नेताको स्वतन्त्र समूह द एल्डर्सका सदस्य थिए । आफ्नो सक्रिय सदस्यताका वर्षमा कार्टरले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा महत्वपूर्ण ऊर्जा समर्पित गरे । एल्डर्सको कामलाई समर्थन गर्न धेरै अवसरमा यस क्षेत्रको भ्रमण गरे । सन् १९९० को प्रारम्भमा पूर्वराष्ट्रपतिले अमेरिकी विदेश मन्त्रालय र उत्तर कोरिया र लिबियालगायत धेरै बदमास राज्यबिच मध्यस्थता कार्यमा संलग्न भए ।

सन् १९९४ मा कार्टरले उत्तर कोरियाली नेता किम इल सुङसँग बढ्दो तनावपूर्ण आणविक हतियारको अवस्था समाधान गर्न अमेरिकी सरकारको कूटनीतिक प्रयासलाई समर्थन गरे । कार्टरले जुन १९९४ मा किमसँग भेट गरे र उक्त देशको भ्रमण गर्ने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बने । उनको उक्त भ्रमणले उत्तर कोरिया र अमेरिकाबिचको द्विपक्षीय सम्झौताको आधार तयार पारेको छ । यो दुई देशबिचको सम्बन्धमा कोसेढुंगा साबित भएको छ । सम्झौताअनुसार उत्तर कोरियाले आफ्नो प्लुटोनियम हतियार कार्यक्रम फ्रिज गर्ने वाचा गर्यो भने अमेरिकाले प्योङयाङलाई भरपूर सहयोग गर्न सहमति जनायो ।

९० को दशकमा पनि उत्तिकै सक्रिय
कार्टरले आफ्नो ९० को दशकमा समसामयिक भूराजनीतिक घटनाबारे राम्रोसँग आफ्नो प्रस्ट धारणा राखे । सन् २०१८ मा ट्रम्पले ओबामा प्रशासनले सन् २०१५ मा गरेको इरान आणविक सम्झौताबाट न्युयोर्कलाई बाहिर निकाल्ने घोषणा गर्दा उनले खुलेरै आलोचना गरेका थिए । उनले ट्रम्पको कदमलाई ‘गम्भीर गल्ती’ भने । कार्टरले अमेरिकी राष्ट्रपतिले गरेको अन्तर्राष्ट्रिय सम्झौता आफ्ना सबै उत्तराधिकारीका लागि बाध्यकारी हुनु आवश्यक रहेको र इरान सम्झौताबाट पछि हटेर अमेरिकाले भूल गरेको टिप्पणी गरे ।

राष्ट्रपति कार्यालय छाडेपछि पूर्वराष्ट्रपति कार्टरका प्रमुख उपलब्धिमध्ये एक स्वास्थ्य सेवामा उनको सेन्टर (कार्टर सेन्टरको) योगदान थियो । विशेषगरी गिनी–वर्म (एक लामो परजीवी किरा, जुन ग्रामीण अफ्रिका र एसियामा संक्रमित मानिस र अन्य स्तनधारी जनावरको छालामुनि बस्छ) ­रोगको उन्मूलनमा कार्टर सेन्टरले महत्वपूर्ण योगदान दिएको छ । यो दूषित पानी पिउँदा हुने परजीवी संक्रमण हो । रोगको नतिजा घातक नभए पनि यसको संक्रमणले पीडितलाई कमजोर बनाउन सक्छ र कुनै अवस्थामा स्थायी संक्रमितमा अपांगता निम्त्याउन सक्छ ।

कार्टर सेन्टर एक लाख गाउँमा स्वास्थ्य सेवाकर्मीलाई तालिम दिन, शिक्षा कार्यक्रममा लगानी गर्ने र मानिसलाई परजीवीको संक्रमणबाट जोगाउन पानी फिल्टरहरू उपलब्ध गराउन प्रतिबद्ध छ । यस कार्यक्रमले धेरै सफलता प्राप्त गरेको छ । सेन्टरका अनुसार ‘गिनी वर्म रोगका केसहरू सन् १९८६ मा अनुमानित ३.५ मिलियनबाट घटेर सन् २०२३ को अन्त्यसम्ममा केवल १३ मा झरेको छ । यो रोग १७ देशमा निर्मूल भएको छ । मानव अधिकारप्रति जिमी कार्टरको प्रतिबद्धतामा कहिल्यै पनि कमी आएन । मानव अधिकार केन्द्रित विदेश नीतिको उनको अवधारणा विश्वव्यापी वार्तालापमा स्थायी रूपमा अंकित छ । 

रिचर्ड क्विन्स युनिभर्सिटी बेलफास्टको सेन्टर फर द स्टडी अफ एथनिक कन्फ्लिक्टमा भिजिटिङ रिसर्च फेलो हुन् ।

–द कन्भर्सेसनबाट

सुझावित समाचार