सुदूरपश्चिममा भुवाको रौनक (तस्बिरसहित)

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण
सुदूरपश्चिममा भुवाको रौनक (तस्बिरसहित)

धनगढीको खुला मञ्चमा प्रदर्शन गरिएको भुवा खेल ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा भुवा पर्वको रौनक सुरु भएको छ। पौराणिक भुवा खेल खेलेर यो मनाउने गरिन्छ। सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङलगायतका पहाडी जिल्लामा यो पर्व पुसे औँसीको अघिल्लो दिन सुरु गरी तीन दिनसम्म मनाइन्छ। 

द्वापर युगमा पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि खुसियाली मनाएको दिनलाई स्मरण गर्दै भुवा खेल खेल्ने गरिन्छ। यो खेलमा परम्परागत पहिरन लगाएर ढाल र तरबार नचाएर युद्धकौशल प्रदर्शन गरिन्छ। 

सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै नभई कैलाली, कञ्चनपुरमा बसाइँसराइँ गरी आएकाहरूले केही वर्षयता तराईमा समेत भुवा पर्व धुमधामसँथ मनाउन थालेका छन्। उनीहरू धनगढीको खुलामञ्चमा जम्मा भई भुवा पर्व मनाउने गर्छन्। यस वर्ष पनि बाजुरेली सेवा समाजको आयोजनामा खुलामञ्चमा तीन दिनसम्म भुवा खेलेर पर्व मनाउन लागिएको हो। बाजुराबाट बसाइँ सरी आएकाहरूको अगुवाइमा केही वर्षयता खुलामञ्चमा भुवा खेल खेलेर भुवा पर्व मनाउँदै आएको समाजका सचिव भरत केसीले बताए। भुवा प्रदर्शनीसँगै भुवा खेल प्रतियोगितासमेत सञ्चालन हुने उनले जानकारी दिए।

भुवा खेल्ने पुरुषले टाउकोमा पगरी, सेतो भोटो, जामा तथा कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादरजस्तो पहिरन लगाउँछन्। कतिपयले भने परम्परागत पोसाकविनै पनि भुवा खेल्छन् । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको भुवा खेलमा दमाहाको तालमा ढाल र तरबारले युद्धकला प्रदर्शन गर्ने भुवा पर्वका जानकारी बजिरसिंह धामी बताउँछन्।

उनका अनुसार युद्धकौशलता प्रदर्शनी गरिने भुवा खेल प्राचीनकालीन युद्धको भाका पनि हो। महाभारतकालदेखि मनाइँदै आएको यो पर्व पाण्डवको जितको खुसियालीस्वरूप मनाउने गरिएको धामीले बताए।   

आज पुसे १५ मनाइँदै
सुदूरपश्चिममा आजै यहाँको मौलिक पर्व पुसे १५ समेत मनाइँदै छ। १५ पुस राति तरुल, सखरखण्डलगायत कन्दमूल तथा परम्परागत मिठा परिकार खाने, रातभर जाग्राम बसेर दन्त्य कथा सुन्ने गरिन्छ।

रातभर लोककथा, दन्त्यकथा सुन्ने सुनाउने पर्वका रूपमा पनि यसलाई लिइन्छ। सुदूरपश्चिमका सबैजसो क्षेत्रमा पुसे १५ मनाउने गरिन्छ। 

सुझावित समाचार