डा. सिंहले विभिन्न लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन र सरकारमाथि नियन्त्रण एवं सन्तुलन लागू गर्न प्रयास गरेका थिए
मैले डा. मनमोहन सिंहलाई पहिलोपटक प्रधानमन्त्रीकै रूपमा उनको पहिलो कार्यकालमा चिनेको थिएँ । त्यसवेला उनले मोन्टेक सिंह अहलुवालियाको सल्लाहमा मलाई आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए । रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) को गभर्नर हुँदाका वर्षमा मैले उहाँसँग वेला–वेला भेटघाट गर्ने अवसर पाएको थिएँ । एक उत्कृष्ट अर्थशास्त्रीका रूपमा डा. सिंहले प्रगतिशील भारतका लागि साहसी दृष्टिकोणलाई राजनीतिक व्यावहारिकतासँग मिलाउनुभएको थियो । उहाँको नम्र र शालीन स्वभावले मोन्टेक अहलुवालिया र सि. रंगराजनजस्ता प्रतिभावान् व्यक्तिलाई आफ्नो टोलीमा ल्याउन सहयोग गर्यो । प्रधानमन्त्री नरसिंह रावसँगको सहकार्यमा उहाँले अघि सारेका उदारीकरण र सुधारले आधुनिक भारतीय अर्थतन्त्रको जग बसाल्यो र दशकौँसम्मको द्रुत आर्थिक वृद्धिको आधार तयार गर्यो ।
यद्यपि प्रधानमन्त्रीका रूपमा डा. सिंहका आर्थिक सुधार प्रयास गठबन्धन राजनीतिले र पछि विपक्षी असहयोगले सीमित रहे । तथापि, उनको सरकारले राष्ट्रिय खाद्य सुरक्षा ऐन र राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी ऐनजस्ता ऐतिहासिक कानुन पारित गर्यो, जसले प्रायः उपेक्षित वर्गलाई फाइदा पुर्यायो । उनले विभिन्न लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन र सरकारमाथि नियन्त्रण एवं सन्तुलन लागू गर्न प्रयास गरेका थिए, जसमा सूचनाको हक ऐनलाई एक उल्लेखनीय उदाहरणका रूपमा लिन सकिन्छ । उनको सरकारले प्रस्ताव गरेका तर लागू गर्न नसकेका केही सुधार जस्तै– वस्तु तथा सेवा कर (जिएसटी) पछि एनडिए सरकारले कार्यान्वयन गरेको थियो ।
प्रधानमन्त्रीका रूपमा डा. सिंहले उल्लेखनीय प्रशासनिक उपलब्धि हासिल गरेका थिए । पहिलो कार्यकालमा उनले भारत–अमेरिका सम्बन्धलाई सुदृढ गर्दै नागरिक परमाणु सम्झौता सम्भव बनाए । जसले २१औँ शताब्दीको एक महत्वपूर्ण सम्बन्धलाई स्थिर आधार प्रदान गर्यो । दोस्रो कार्यकालमा उनले नन्दन निलेकानीलाई अद्वितीय पहिचान (आधार) परियोजनाको नेतृत्वमा नियुक्त गरे, जसले इन्डिया स्ट्याक र युपिआईजस्ता नवप्रवर्तनका लागि आधार तयार गरेको थियो । यी वर्ष वास्तवमा असाधारण आर्थिक वृद्धिका थिए । विश्वव्यापी आर्थिक संकटपछि उनले अत्यधिक खर्चबाट उत्पन्न जोखिम पहिचान गरी पि. चिदम्बरमलाई अर्थमन्त्रीका रूपमा पुनः ल्याएर आर्थिक स्थिरता पुनस्र्थापित गराए । ‘टेपर ट्यान्ट्रम’ अर्थात् अत्यधिक ब्याजदरले निम्त्याएको कोलाहलपूर्ण समयमा भारतले पनि अस्थिरता अनुभव गरेको थियो । तर, डा. सिंहको दूरदृष्टिले अवस्थालाई थप बिग्रनबाट जोगायो । हाम्रो भेटघाटमा डा. सिंहको जिज्ञासा विशेष रूपमा झल्किन्थ्यो । उनी सधैँ हाम्रो कुराकानी विश्व र मेरो चिन्ताबारे प्रश्न सोधेर सुरु गर्थे, जहाँ उनले आफ्ना विचार नथोपरी अरूका कुरा ध्यानपूर्वक सुन्थे । मैले अध्यक्षता गरेको वित्तीय क्षेत्र सुधारसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्न आयोजित एक कार्यक्रम मेरा लागि स्मरणीय छ । अरू बहसमा व्यस्त रहँदा उनी मौन रहन्थे र खुला छलफलको वातावरण सिर्जना गर्थे । यस किसिमको नम्रता उनीजस्तो ज्ञान, अनुभव र पद भएका व्यक्तिमा निकै दुर्लभ हुने गथ्र्यो । कार्यक्रमको अन्त्यमा उनले सबैलाई धन्यवाद दिएर प्रतिवेदनका कार्यान्वयनयोग्य बुँदाका बौद्धिक सारांश प्रस्तुत गरेका थिए ।
डा. सिंहले कहिल्यै आलोचना वा आलोचकलाई अस्वीकार गर्नुभएन । सन् २०१२ मा इसर अहलुवालियाले आयोजना गरेको एउटा प्यानलको सम्झना अझै छ, जहाँ उनले अर्थमन्त्रीका रूपमा गरिएको सुधारलाई पुनः प्रकाशित पुस्तकमार्फत सम्मान गरिएको थियो । इसरले सन् १९९० को सुधारको प्रशंसा गरेपछि सरकार र अर्थतन्त्रको हालको अवस्थालाई सुधार गर्न आवश्यकताबारे निर्भीक रूपमा आलोचना गरेकी थिइन् । इसरको शैलीलाई पछ्याउँदै टि. एन. निनन र मैले पनि आलोचनात्मक धारणा राखेका थियौँ । जबकि तत्कालीन आरबिआईका गभर्नर सुब्बा रावले सन्तुलित धारणा व्यक्त गरेका थिए । अन्त्यमा डा. सिंहले बोले । उनले कुनै आक्रोश वा रक्षात्मक प्रतिक्रिया दिएनन्, बरु आफूले धेरै मननीय सामग्री पाएको बताउँदै त्यसबारे विचार गर्ने बताए । त्यो विचार–विमर्शबाट वित्त मन्त्रालयलगायत केही सरकारी परिवर्तन प्रेरित भएका थिए भन्नेमा मलाई विश्वास छ ।
त्यो विचार विमर्शले इसर अहलुवालिया र डा. सिंह दुवैबारे धेरै कुरा बताएको थियो र त्यो समय अहिले निकै पुरानो समयजस्तो लाग्छ । इसरले भन्नुपर्ने कुरा भनेकी थिइन् र यसलाई सार्वजनिक रूपमा भनिँदा यसले थप प्रभाव पारेको थियो । डा. सिंहले यसको महत्व बुझेका थिए । जबकि डा. सिंहका लागि प्रशंसा मात्र अपेक्षित थियो, उनले आलोचना पनि स्विकारे र यसलाई शत्रुताको संकेतका रूपमा लिएनन् ।
डा. सिंहको व्यक्तित्वमा अटुट इमानदारी थियो । उनले कहिल्यै आफ्ना कुनै पदको उपयोग व्यक्तिगत फाइदाका लागि वा आफ्नो परिवारलाई लाभ पुर्याउन गरेनन् । यद्यपि उनको दोस्रो कार्यकालमा केही सरकारी मन्त्रालय र गठबन्धन साझेदार भ्रष्टाचार काण्डको घेरामा परे । तर, यसले कदापि उनलाई छुन सक्नेछैनन् । त्यसताका यी घटनाले उनको छविलाई केही धुमिल बनाएको पनि हो । समयसँगै उनीमाथि लागेका आरोप न्यायिक जाँचका लागि पनि उपयुक्त देखिएनन्, जबकि उनका आर्थिक सुधार थप दूरदृष्टिपूर्ण र महत्वपूर्ण देखिन थालेका छन् । पदबाट अवकाश प्राप्त गरेपछि मैले डा. सिंहसँग आफ्नो जीवन र अनुभवबारे पुस्तक किन नलेखेको ? यसले आंशिक रूपमा भए पनि राष्ट्रलाई एक महत्वपूर्ण अभिलेख उपलब्ध गराउँथ्यो कि भनेर बारम्बार प्रश्न गर्थें । उनले सधैँझैँ आफ्नो इतिहास लेख्ने काम मेरो होइन भनेर टार्थे । अहिले अब यो सम्भव पनि छैन, तर मलाई विश्वास छ, इतिहासले उनलाई भारतको एक महान् सन्तानका रूपमा मूल्यांकन गर्नेछ ।
(राजन भारतको रिजर्भ बैंकका पूर्वगभर्नर हुन्) द इन्डियन एक्सप्रेसबाट