प्रो सञ्जयको टिमलाई उपाधि

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेका छन् । शनिबार धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो सञ्जयको टिमले १६७ अंक प्राप्त गर्यो । प्रो सञ्जयले ४१ तथा एमेच्योर भुवनेश लिम्बूले ४३, विना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक बनाए ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो भयो । भुवनले ३९ अंक बनाउँदा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर्णबहादुर राई र बलबहादुर राईले समान ४०–४० अंक बनाए । प्रो नीरज तामाङको टिम १५५ अंकसहित तेस्रो भयो । नीरजले ३८ अंक जोडे । एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९–३९ अंक जोडे । 

महिलातर्फ ४२ अंक जोडेर विना सापकोटाले उत्कृष्ट खेलाडीको पुरस्कार जितिन् । प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लंगेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जिते । प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गरे । प्रो–एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कुल ६० खेलाडीले भाग लिएका थिए ।

शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनमा नीरज तामाङले १७ अन्डर १९३ सहित उपाधि जितेका थिए । उनले शुक्रबहादुर राईको कुलतर्फको रेकर्ड स्कोर बराबरी गर्दै करिअरको दोस्रो उपाधि जितेका हुन् । नीरजले पहिलो दिन ८ अन्डर ६२ खेल्दै नयाँ कोर्स रेकर्ड बनाए ।

विष्णुप्रसाद शर्मा ७ अन्डर २०३ स्कोरसहित दोस्रो तथा बलभद्र राई ३ अन्डर २०७ सहित तेस्रो भए । प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रहेको थियो । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन महिना पोखरास्थित हिमालयन गल्फ कोर्समा आयोजना हुनेछ । 

See More On

सुझावित समाचार