वार्षिक ६० हजार टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने नेपालमा २० हजार टन त्यस्तो फोहोर नदीमा मिसिनु चिन्ताको विषय हो
गत १६ सेप्टेम्बरमा एनबिसी न्युजमा प्रकाशित काइत्लिन सुलिभानको लेखले वैज्ञानिक, चिकित्सा, जनस्वास्थ्य तथा वातावरण क्षेत्रका विज्ञलाई मज्जाले तरंगित बनाइदियो, जसमा ब्राजिलका विज्ञानिकले मानव शवमा गरेका परीक्षणमा मानव मस्तिष्क र त्यसवरपर उल्लेख्य मात्रामा ‘माइक्रोप्लास्टिक’ भेटिएको कुरा उल्लेख थियो । मानव शरीरमा अब प्रशस्त मात्रामा माइक्रोप्लास्टिकले स्थान लिइरहेकोमा कुनै आशंका रहेन । माइक्रोप्लास्टिक कुन स्रोतबाट आएर र मानव शरीरमा कुन माध्यमबाट प्रवेश गर्यो भन्ने मात्र मूल प्रश्न हो । ‘जामा नेटवर्क’ नामक वैज्ञानिक जर्नलको हवाला दिँदै एनबिसी न्युजमा प्रकाशित सो लेखले उल्लेख गरेअनुसार ३३–१०० वर्षको उमेरमा निधन भएका १५ वटा शवको परीक्षण गर्दा तिनको शरीरमा उल्लेख्य मात्रामा माइक्रोप्लास्टिक भेटिएको हो र सबभन्दा धेरै घ्राण प्रणालीको बल्बमा अर्थात् नाकभन्दा माथि गन्ध पहिचान गर्ने (ओल्फ्याक्टरी बल्ब) तन्तुमा भेटियो । यसको कारक वायुमा माइक्रोप्लास्टिकको उपस्थिति धेरै हुन सक्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।
हामीले सास फेर्ने वायुमा बढ्दो प्रदूषण र त्यसमा पनि प्लास्टिकको मात्रा धेरै हुनाले घ्राणतन्तुमा माइक्रोप्लास्टिक धेरै भेटिएको हुन सक्ने वैज्ञानीकहरूको आकलन छ । किनकि, नाक र यसको माथिल्लो तन्तुले कुनै पनि प्रदूषणलाई फिल्टर अर्थात् छान्ने काम गर्छ, ताकि फोक्सोमा स्वच्छ वायु मात्रै जान सकोस् । यसर्थ, त्यही फिल्टर गर्ने तन्तुमा माइक्रोप्लास्टिकको मात्रा शरीरको अन्य अंगहरूमा भन्दा अत्यधिक देखिनु स्वाभाविक हो । तर, त्योभन्दा ठुलो चिन्ताको विषय के छ भने यो तन्तु मस्तिष्कसँग जोडिएको हुन्छ, जसका कारण मस्तिष्कलाई पनि यसले प्रत्यक्ष असर गर्न सक्छ । मानव शरीरमा अहिले उल्लेख्य परिमाणमा माइक्रोप्लास्टिक छन् । त्यसैगरी, टर्कीको सुप्रसिद्ध सुकुरोभा विश्वविद्यालयमा भएको अध्ययनले पनि मानव मस्तिष्कको कुल वजनको ०.५ प्रतिशत माइक्रोप्लास्टिक रहेको पुष्टि गरेको छ । यससम्बन्धी लेख गत २७ अगस्टमा गार्जियनलगायत धेरै अन्तर्राष्ट्रिय छापामा प्रकाशित भएको थियो ।
कुनै समय प्लास्टिकलाई ‘वन्डर अब्जेक्ट अर्थात् गज्जबको वस्तु’ भनी भरमार प्रयोग गर्न थालियो । किनकि, यो उत्पादन गर्न निकै सस्तो, हलुका, घामपानीले नबिग्रिने भएकाले धातु र काठको उत्तम विकल्प मानियो । हामीले प्रयोग गर्ने हरेक वस्तुमा प्लास्टिक उपयोग गर्न थालियो । यस लेखका लेखकले पनि प्लास्टिककै स्क्रिन र बडी भएको ल्यापटपमा यो लेख लेख्दै छ भने ऊ बसेको टेबल र कुर्सी पनि प्लास्टिककै छन् । कार्यालयबाट घर फर्किंदा प्रयोग गर्ने वाहनको पनि आधाभन्दा बढी हिस्सा प्लास्टिकले नै ढाकेको छ । घर पुग्दा ढोका, फर्निचर, पंखा, ओभन, सोफालगायत सबैजसो सरसामानमा प्लास्टिक र प्लास्टिकजन्य वस्तुबाट बनाइएका रुवो (फाइबर) जडित वस्तु छन् । प्लास्टिकमा आज मानवजीवन यतिविधि आश्रित भइसकेको छ कि यसको विकल्प भेटिन गाह्रो प्रतीत हुन्छ । तर, मानव तथा पर्यावरणलाई मध्यनजर गर्ने हो भने यसको व्यवस्थापन हुनु अति नै जरुरी छ ।
अहिले खासगरी सामुद्रिक जीवजन्तुमा प्लास्टिकका मिहिन टुक्राहरू अत्यधिकै भेटिन्छन्, जसका कारण समुद्री जीवजन्तुमा आधारित आहार खानेहरूको शरीरमा पनि प्लास्टिकको मात्रा बढ्दै गएको छ । प्लास्टिक सयौँ वर्षसम्म नगल्ने र नकुहिने तर अत्यन्त मिहिन टुक्रामा क्षयीकरण हुँदै जाने हुँदा पानीमार्फत यो सजिलै जीवजन्तुको शरीरमा प्रवेश गर्छ । फेरि मानवलगायत कुनै पनि जीवमा प्लास्टिक पचाउन सक्ने क्षमता नभएकाले यो शरीरमा प्रवेश गरिसकेपछि त्यहीँ अड्केर बस्छ । सामान्यतः खाना र पानीमार्फत प्लास्टिक मानव शरीरमा प्रवेश गर्ने भएकाले सबैभन्दा पहिले यो पाचन प्रणाली अर्थात् पेटमा पुग्छ । अन्य खानेकुरा पचेर सानो तथा ठुलो आन्द्राको भित्तामार्फत पौष्टिक तत्वहरू रगतमा सोसिने वेला यो पनि सोसिन्छ र रक्तप्रवाहसँगै दौडिन थाल्छ र शरीरका अन्य मुख्य अंगहरू जस्तै– मुटु, मिर्गाैला, फोक्सो तथा मस्तिष्कसम्म पुग्छ र त्यही थुप्रिन थाल्छ ।
आइयुसिएनको एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष ४६ करोड मेट्रिक टनभन्दा बढी प्लास्टिक उत्पादन गरिन्छ । यसमध्ये अनुमानित दुई करोड मेट्रिक टन प्लास्टिक फोहोरका रूपमा प्रत्येक वर्ष खुला बातावरणमा विसर्जित गरिन्छ, जसको अधिकांशजसो हिस्सा पानीमा मिसिन्छ । विश्वबैंकको सन् २०२० को अध्ययनअनुसार नेपालमा वार्षिक ६० हजार टन प्लास्टिकजन्य फोहोर उत्पादन हुन्छ । त्यसमध्ये २० हजार टन नदीमा मिसिन्छ ।
नेपालका नदीमा मिसिएको यो प्लास्टिकजन्य फोहोर अन्ततः भारतको गंगानदी हुँदै बंगालको खाडीमा पुग्छ र समुद्रलाई थप प्रदूषित बनाउन सघाउँछ । समुन्द्रसँग जोडिएका अन्य थुप्रै देश तथा टापुमा पनि प्लास्टिकको प्रयोग अत्यधिक भइरहेकै छ । यसबाट उत्पादित फोहोर र तिनको समुद्रमा मिसावट पनि अत्यधिक छ । यो समस्या आर्थिक रूपमा विकसित मुलुकमा भन्दा विकासोन्मुख र अल्पविकसित देशमा अझै धेरै छ । नकुहिने तर मिहिन चम्किला टुक्रामा क्षयीकरण हुने प्लास्टिक मसिना र चम्किला हुन्छन् र झट्ट हेर्दा यी खाने धुलो नुनजस्तो देखिन्छन् । समुद्रबाट निकालिने नुनमा पनि प्लास्टिकको मात्रा भेटिएको छ । यसैगरी हिलियोन नामक अनलाइन जर्नलमा प्रकाशित ढुंगेल तथा महर्जनद्वारा गरिएको एक अध्ययनमा नेपालमा प्रयोग गरिने एक किलोग्राम धुलो नुनमा ८० देखि १०४० टुक्रासम्म मिहिन प्लास्टिक भेटिएको तथ्य उल्लेख छ ।
समाधानका उपाय : बढ्दो प्लास्टिकजन्य समस्या र यसको विकराल अवस्थालाई हेर्दा तत्काल प्लास्टिकलाई निषेध गर्नुपर्ने देखिन्छ । तर, यो उपाय व्यावहारिक देखिँदैन । एकपटक प्रयोग गरेपछि काम नलाग्ने अर्थात् ‘सिंगल युज’ प्लास्टिकलाई त निमिट्यान्न पार्न सकिएला । तर, समस्त प्लास्टिक जगत्लाई बदल्न भने धेरै चुनौतीपूर्ण छ । यसर्थ, प्लास्टिकको न्यून प्रयोग तथा यसबाट उत्पादित फोहोरको उचित व्यवस्थापनबारे जनचेतना र रिसाइक्लिङको माध्यमद्वारा प्लास्टिकजन्य फोहोरको पुनः प्रयोगमार्फत प्लास्टिकजन्य प्रदूषणलाई उल्लेख्य रूपमा घटाउन सकिन्छ । यसको लाभ वायु र नदी दुवैलाई हुँदै पारिस्थितिकीय प्रणाली र मानव स्वास्थ्यलाई पनि हुनेछ ।
पहलकदमी : पछिल्ला दिनमा नेपालका प्रमुख नदीहरू सरसफाइका लागि केही पहलकदमी भएका छन् । जल तथा वायुमा माइक्रोप्लास्टिकको प्रदूषण कम गर्न बहुआयामिक दृष्टिकोण चाहिन्छ । सामुदायिक विद्यालयका विद्यार्थीमार्फत प्लास्टिकको प्रयोग र यसको व्यवस्थापनबारे ज्ञान दिन सकिन्छ । जनचेतना र पैरवीका लागि प्रत्येक पालिकाका युवासँग साझेदारी गर्न सकिन्छ । त्यसैगरी, नदीसँगै जिउने समुदाय माझी, बोटेहरूलाई पनि नदी सरसफाइ अभियानको मूलधारमा सहभागी बनाउनुपर्छ । विभिन्न श्रम तथा आयमूलक स्वरोजगार, पेसागत र स्वास्थ्यलगायत तालिमसँगसँगै माछा मार्ने तथा प्लास्टिकका बोतल संकलन गर्ने जालीलगायत थुप्रै बहुउपादेयतामूलक सामग्रीको वितरण गर्नु उचित हुन्छ, जसले यी समुदायलाई आफ्नो आय बढाउन र नदीमा रहेका प्लास्टिकजन्य फोहोर संकलन गर्न सहज हुन्छ । यस दृष्टिमा सबैभन्दा महत्वपूर्ण वर्ग भनेको सरसफाइकर्मी हुन्, जसले फोहोर टिप्ने तथा संकलन गर्ने कार्य गर्छन् । यस्ता समुदायलाई पनि पेसागत सुरक्षा, तालिम, आवश्यक सुरक्षित वस्त्र तथा उपकरणद्वारा सुसज्जित गरिनुपर्छ । यसले उनीहरूको कार्य क्षमता र आम्दानी दुवै बढाउन सघाउँछ । थप प्लास्टिकजन्य फोहोरको संकलन र त्यसपछिको रिसाइक्लिङ कार्यमा पनि वृद्धि भई नदी सफाइमा थप लाभ पुग्नेछ । यसरी संकलित प्लास्टिक रिसाइक्लिङ उद्योगमार्फत पुनः बजारमा फर्किई परिचक्रीय आर्थिक व्यवस्थालाई सुधार गर्न मद्दत मिल्छ ।
प्लास्टिकजन्य फोहोरलाई ल्यान्डफिल साइट र नदीबाट उत्पादन मूल्य शृंखलामा परिणत गर्न, प्लास्टिकजन्य फोहोर संकलन संयन्त्रलाई मजबुत पारेर प्रविधिगत नवप्रवर्तनको उपायमार्फत चक्रीय आर्थिक व्यवस्थालाई बलियो बनाउन ध्यान दिनुपर्छ । सबल प्लास्टिक फोहोर मूल्य शृंखला स्थापना गर्न सबै प्रमुख सरोकारवालालाई संलग्न गराउने सहयोगात्मक मोडेल विकास गर्नुपर्छ ।
(वातावरणविज्ञ उपाध्याय ‘क्याप परियोजना’का प्रमुख हुन्)