एनओसीमा अध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

उच्च अदालत पाटनको आदेशविपरीत निर्वाचन प्रक्रिया अगाडि बढाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन अब अध्यक्षका लागि मात्रै प्रतिस्पर्धा हुने भएको छ । सोमबार राति अनलाइनमार्फत मनोनयन दर्ता हुँदा एक अध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । लगातार दुई कार्यकाल पूरा गरेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव नीलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।

एनओसीको गत १७ मंसिरमा भएको विशेषतः साधारणसभाले तीनपटकसम्म पनि अध्यक्ष र महासचिवमा लड्न पाउने  विधान संशोधान गरेको थियो । यसैको आधारमा श्रेष्ठले लगातार तीनपटक कार्यकाल हाँक्न अध्यक्षमा उम्मेदवारी दिएका हुन् । आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दर्ताको अन्तिम दिन सोमबार राति ११ बजेसम्म थियो । मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने प्रावधान थियो । कबड्डीकी तुलसा थापा र जुडोका दीपकहर्ष बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि सात उपाध्यक्ष्य निर्विरोध भएका छन् । 

उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, गोपालसुन्दर लाल कक्षपति, प्रकाशशमशेर राणा, दावा गुरुङ, अनिलप्रसाद शर्मा, अशोकरत्न बज्राचार्य र चतुरानन्द राजवैद्य छन् ।

महासचिवमा नेपाल राफ्टिङ एन्ड कन्नोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निर्वाचित भए । सहमहासचिवमा ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घले चुनिएका छन् । सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भीमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ पनि निर्विरोध चुनिएका छन् । सदस्यमा जिम्न्यास्टिककी गीता राणा, फुटबलका मनीष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भए । विगतमा भन्दा यसपटक पदाधिकारीको संख्या बढाइएको छ । पाँचबाट उपाध्यक्षको‌ संख्या सात पुर्याइएको छ । 

सुनील पछि हटे
एनओसीका उपाध्यक्ष सुनील श्रेष्ठले उच्च अदालत पाटनको आदेशको अवज्ञा, राष्ट्रिय खेलकुद परिषद्को पत्रको उल्लंघन, खेलकुद र गृह मन्त्रालयको आदेशविपरीत भइरहेको निर्वाचन प्रक्रियामा भाग नलिने पत्रमार्फत निर्वाचन समितिलाई जानकारी दिएका‌ छन् । एनओसीको निर्वाचन प्रक्रियामा सोमवार उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।

सातदोबाटोस्थित एनओसी भवनमा सरकारको निर्देशनमा प्रहरीले प्रवेश निषेध गरेको थियो । जसका कारण भौतिक रूपमा उपस्थिति भएर मनोनयनपत्र दर्ता सम्भव भएन । अदालतको आदेशको पालना नगरेको भन्दै सरकारले प्रहरी परिचालन गरेको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)सँगको समन्वय र निर्देशनमा अनलाइनमार्फत नै मनोनयन दर्ता गरिएको हो । 

See More On

सुझावित समाचार