प्रथम कंकेदेउराली महोत्सव : कृषि प्रदर्शनीसहित लोकभजन र मदाने लोकतारा

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

गुल्मीको मदाने गाउँपालिका गुल्मीकाे आयोजनामा तीन दिनसम्म सञ्चालित प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सकिएको छ । गुल्मी, अर्घाखाँची र प्युठानको संगमस्थलमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र कंकेदेउरालीको प्रचारप्रसार तथा कृषि प्रदर्शनीलाई जोड दिँदै महोत्सवको आयोजना गरिएको थियो ।

पुस ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको महोत्सवको नारा ‘घुम्न जाऔँ यसपालि कंकेदेउराली’ भन्ने राखिएको थियो । महोत्सव १५ हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ।  

खुला लोकभजन 

कंकेदेउराली महोत्सवमा खुला लोकभजन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आध्यात्मिक जागरण सांस्कृतिक समाज प्रथम, म्यालपोखरी भजन मण्डली द्वितीय र पुर्कोट महिला भजन मण्डली तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय समूहले क्रमश १५, १० र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको कंकेदेउराली पर्यटन पूर्वाधार विकास समितिका उपाध्यक्ष सुनील थापाले जानकारी दिए । भजन प्रतियोगितामा अपेक्षित समूहको सहभागिता रहेन । 

सुनार बनिन् प्रथम मदाने लोकतारा 

मदाने गाउँपालिकाले स्थानीय कला सस्कृतिको संरक्षणसँगै लोकप्रतिभा उजागर गर्न पनि महोत्सव आयोजना गरेको थियो । गाउँपालिकाभित्रका सातवटा माविका ८० जना प्रतियोगीले लोकताराका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा रियाले माध्यमिक विद्यालयकी  कमला सुनार प्रथम मदाने लोक तारा बनेकी मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

त्यस्तै, सोही विद्यालयकै वर्षा परियार उपविजेता अर्थात् द्वितीय स्थान प्राप्त गर्न सफल भएकी छिन् । उनले १० हजार र प्रमाणपत्र पाएकी हुन् । पृथ्वी माध्यमिक विद्यायकका छात्र अनुपम विक तेस्रो र अग्लुङ माध्यमिक विद्यालयका छात्रा जालापा खत्री सान्त्वना भएको खडकाले जानकारी दिइन् । तृतीय हुने विकले आठ हजार र सान्त्वना हुने खत्रीले पाँच हजार नगदसहित प्रमाणपत्र पाएका छन् । त्यस्तै, महोत्सवमा गाउँपालिकास्तरीय कृषि तथा पशुपक्षी मेला प्रदर्शनी गरिएको थियो । मेलामा सबै वडाबाट कृषि तथा पशुपक्षी मेला प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

मदाने गाउँपालिका कृषि शाखा प्रमुख हुमबहादुर थापाका अनुसार महोत्सवमा पालिकाभित्रबाट एक सय आठ कृषि उपजहरू राखिएको थियो। कृषि प्रदर्शनीमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने कृषकलाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्टमध्येबाट प्रथम हुनेले तीन हजार, द्वितीयले दुई हजार पाँच सय, तृतीयले दुई हजार र सान्त्वनाले आठ सय प्राप्त गरेको कृषि शाखा प्रमुख थापाले बताए ।  

एक दर्जनभन्दा बढी कलाकारको सांस्कृतिक प्रस्तुति 

महोत्सवमा वरिष्ठ लोक तथा दोहोरीगायक बोमबहादुर कार्की, गायिका मन्जु पौड्याल, लोकदोहोरी गायक तुल्सिङ, रनपछाई, विक्रमबाबु विश्वकर्मा, अनिल खत्रीलगायत राष्ट्रियस्तरका कलाकारकाे बेजोड प्रस्तुति रहेको थियो। 

कंकेलाई पर्यटकीय गन्तव्य बनाउन जोड 

कंकेदेउराली पर्यटनको दृष्टिकोणले उत्कृष्ट गन्तव्य बनाउने जोडमा मदाने गाउँपालिमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए । त्यसका लागि योजना निर्माण र प्रचारप्रसारको काम गरिरहेको कुँवरले बताए ।  महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएकोे अध्यक्ष कुँवरले दाबी गरे । महोत्सवकै लागि गाउँपालिकाले तीन लाख सहयोग गरेको छ । त्यसबाहेक अरू कार्यक्रम पनि जोडिएर गरेकाले पालिकाको सहयोग अझै धेरै रहेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । उनले कंकेको लागि करिब एक करोडको काम पालिका आफैँले गरेको बताए । घेराबार, टावर, चिल्ड्रेन पार्कसहितका पर्यटकीय संरचना निर्माणमा पालिकाले काम गरेको पन्थीले बताए । उनले रोजगारमार्फत सिडिचौपारीको काम पनि गरिएको बताए ।

सुझावित समाचार