उद्यमी बने ‘फिरन्ते’ महिला

जंगलमा आहारा खोज्दै जीवन गुजार्ने वनकरिया समुदायका महिलाहरू सीप सिकेर उद्यमतर्फ लागेका छन् । २५ महिला सञ्चालक भएर खोलेका छन्– वनकरिया चेपाङ महिला साबुन उद्योग

सोमबार, ८ पुष, २०८१
डिजिटल संस्करण
उद्यमी बने ‘फिरन्ते’ महिला

मनहरी गाउँपालिका– ४, मुसेधापस्थित आफैँले सञ्चालन गरेको ‘वनकरिया चेपाङ महिला साबुन उद्योग’मा काम गर्दै महिला ।

विगतमा जंगल चहार्दै ‘फिरन्ते’ जीवन बिताउने गरेका वनकरिया समुदायका महिलाहरू अहिले उद्यमशीलतामा लागेका छन् । मकवानपुरको मनहरी गाउँपालिका– ४, मुसेधापमा बस्दै आएका लोपोन्मुख जाति वनकरिया समुदायका महिलाहरू साबुन उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएका हुन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चबाट तालिम लिएका २५ महिला मिलेर ‘वनकरिया चेपाङ महिला साबुन उद्योग’ दर्ता गरेका छन् । उद्योगबाट गत मंसिरदेखि नियमित रूपमा साबुन उत्पादन थालिएको छ । जंगलमा खेर गएको जडीबुटीबाट साबुन बनाइरहेको उद्योगको सञ्चालकसमेत रहेकी सन्तोषी 
वनकरियाले बताइन् ।

‘घिउकुमारी, तितेपाती र निमका पातबाट साबुन बनाउँछौँ । हाम्रो साबुन गाउँघरमै खपत भइरहेको छ,’ उनले भनिन् । मञ्चले तालिमसँगै साबुन उत्पादन गर्ने औजार र दुई लाख रुपैयाँ नगद सहयोग गरेकाले महिलाहरू मिलेर उद्योग खोलेको उनले जानकारी दिइन् । ‘साबुनका लागि निमको बोट आफ्नै बारीमा रोपेका छौँ । घिउकुमारी पनि बारीमै छ । तितेपातीको खासै दुःख छैन, जताततै पाइन्छ,’ सन्तोषीले भनिन् । आयुर्वेदिक साबुन भएकाले घाउ, खटिरा र चिलाउने समस्या भएकाले समेत प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

मुसेधापमा अहिले २२ वनकरिया परिवारका ९३ जना बसोवास गर्दै आएका छन् । सरकारले ०६६ देखि लोपोन्मुख १० वटा जातिलाई मुलुकको मूलधारमा ल्याउने उद्देश्यले वनकरिया समुदायलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

सो क्षेत्र (वडा नम्बर ४) का वडाअध्यक्ष प्रकाश थापाले वनकरिया समुदाय उद्यमशीलतातर्फ अग्रसर हुँदा निकै खुसी लागेको बताए । उनले वनकरिया समुदायले उत्पादन गरेको साबुनको बजारीकरण गर्न र अन्य आर्थिक एवं प्राविधिक सहयोग गर्न प्रतिबद्ध रहेकोसमेत बताए ।

सुझावित समाचार