आइएमई लाइफ इन्स्योरेन्स ‘साफा मेरिट अवार्ड’बाट सम्मानित

आइतबार, १३ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘साफा मेरिट अवार्ड’बाट सम्मानित भएको छ। दक्षिण एसियाका जीवन बिमा कम्पनीहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो।

बंगलादेशको ढाकामा शनिबार आयोजित समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सिएफओ) जगतबहादुर बोहरा र जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले संयुक्त रूपमा अवार्ड ग्रहण गरे। कम्पनीले आर्थिक वर्ष ०८१/८२ को नवौेँ वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको हो।

साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्यांकन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ। वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले आइएमई लाइफलाई उक्त सम्मान प्रदान गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवनकुमार खड्काले यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रति कम्पनीले राख्दै आएको प्रतिबद्धताको मान्यता भएको बताए।

कम्पनीले यसअघि सोही वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदनतर्फ तेस्रो पुरस्कार (कांस्य अवार्ड) प्राप्त गरेको थियो।

सुझावित समाचार