नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयले ७ पुसमा स्वर्ण जयन्ती (५०औँ स्थापना) मनाउने भएको छ। विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण जयन्तीलाई महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।
यसका लागि ३० मंसिरदेखि नै विभिन्न कार्यक्रमको तयारी गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। यस अवसरमा विद्यालयले विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधि गर्ने जनाएको छ।
स्वर्ण जयन्तीलाई सफल बनाउन ६१ सदस्यीय मूल समारोह आयोजक समिति गठन गरिएको छ। जसको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाले गरेका छन्।
आरुखर्क माध्यमिक विद्यालय ७ पुस ०३१ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समुदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।