राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु

अब तीन अन्तर्राष्ट्रियसहित १० विमानस्थलबाट रात्रिकालिन उडान

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन भएको छ। आइतबार बुद्ध एयरले राजविराज विमानस्थलमा पहिलो रात्रिकालीन उडान गरेको छ।

राजविराजसँगै देशभर रात्रिकालीन उडान हुने विमानस्थल १० पुगेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राजविराज विमानस्थलमा पनि इन्स्ट्रुमेन्ट फलाइट ल्यान्डिङ प्रणाली (आएफआर) सञ्चालनमा ल्याएको हो। जसकारण कम भिजिविलिटी भएको अवस्था र रात्रिकालीन समयमा पनि जहाज अवतरण गर्न सकिने भएको हो। 

अब राजविराज विमानस्थलमा २ हजार मिटर भिजिविलिटीमा जहाज अवतरण गर्न सकिन्छ। यसअघि भिज्जुवल फ्लाइट ल्यान्डिङ प्रणाली (भिएफआर)अन्तर्गत जहाज अवतरण गर्नका लागि ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्थ्यो। 

बुद्ध एयरले गत शुक्रबार इन्स्ट्रुमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्सको फिजिविलिटी परीक्षण उडान गरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए।
सो प्रणाली जडानपश्चात् राजविराज विमानस्थलमा २००० मिटर भिजिविलिटीमा र रात्रिकालीन समयमा पनि उडान–अवतरण हुनेछ। 

यसअघि विमानस्थलमा भिएफआर उडान मात्र हुने हुँदा उडानका लागि ५००० मिटरको भिजिविलिटी आवश्यक हुने गरेको थियो। आइएफआर उडान सुरु भएसँगै हिउँदको समयमा कम भिजिविलिटीले गर्दा हुने उडान डिले वा रद्द हुने अवस्था कम भई यात्रुहरूले समयमा नै यात्रा गर्न पाउने सहप्रवक्ता भुलले बताए। 

अहिले राजविराजमा बुद्धले एटिआर–७२ जहाजबाट दैनिक एक उडान गर्दै आएको छ। यसअघि श्री एयरलाइन्सले नियमित उडान गरे पनि अहिले उडान रोकेको छ। विमानस्थलमा १५ सय ९० मिटर लामो धावनमार्ग रहेको छ।  

अब, राजविराजसँगै आइएफआर र रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेका छन्। जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। क्यानका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी, नेपालगन्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराज विमानस्थलमा आइएफआर तथा रात्रिकालीन उडान हुनेछ।

सुझावित समाचार