राष्ट्रिय जागृति क्लब इटहरी आयोजक झापा ११ लाई २–० ले निराश बनाउँदै पहिलो झापा कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा निराशाजनक प्रदर्शन गरी झापा प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएको हो । सेमिफाइनल प्रवेशका लागि जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ ।
झापा ११ विरुद्ध जागृतिका मिलन राई नायक बने । उनले नै दुई गोल गरेका थिए । पहिलो हाफमा झापाले जागृतिलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफको नौ मिनेट खेल सम्हाल्न नसक्दा झापाले दुई गोल खायो । मिलनले खेलको ५३औँ मिनेटमा जागृतिलाई १–० का लागि गोल गरे । खेलको ६२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । मिलनले पहिलो गोल उत्कृष्ट फ्रिकिकमा गरेका हुन् ।
झापाका डिफेन्डर विशाल दर्जीले मिलन राईमाथि फल गरेपछि पोस्ट भन्दा २० यार्डबाट मिलनले सुन्दर फ्रिकिक गोल गरे । उनले फ्रिकिकबाट प्रहार गरेको बल झापाका गोलरक्षक सन्दीप लिम्बूले जज गर्न सकेनन् । जागृतिले दोस्रो गोल झापाका गोलरक्षक सन्दीपको गल्तीमा गरेको हो । झापाका डिफेन्डर दिवस उरावले डिबक्समा हेडिङबाट दिएको ब्याक पासमा गोलरक्षक सन्दीपले नियन्त्रणमा लिन नसकेको फाइदामा मिलनले सहज गोल गरेका थिए ।
राष्ट्रिय खेलाडीले भरिएको झापा
राष्ट्रिय खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा अपेक्षकृत प्रदर्शन गर्न सकेन । अनुभवी खेलाडी भए पनि झापाले फितलो खेल प्रस्तुत ग¥यो । सुरुदेखि नै रक्षपंक्तिलाई खुकुलो बनाउँदै आक्रामक खेल्ने प्रयास गरेको झापाको त्यही गल्तीमा जागृतिले मौका बनायो । खेलको पहिलो हाफ दुवै टोलीले फितलो खेल खेले । झापाले आक्रामक खेल प्रस्तुत गरे पनि फिनिसिङमा कमजोर देखियो ।
८१औँ मिनेटमा दुई रातो कार्ड
झापा र जागृतिबिचको अन्तिम दश मिनेटको खेल तनावपूर्ण भएको थियो । झापाले गोल खाएपछि खेलाडी आक्रामक देखिन्थे । प्रतिस्पर्धामा उनीहरूले केही रफ खेले । खेलको ८१औँ मिनेटमा झापाका आयुष घलान र जागृतिका विदेशी खेलाडी एलेक्सबिच हात हालाहालसम्म भयो । फिफा रेफ्री श्याम दनुवारले दुवैलाई रातो कार्ड दिँदै मैदानबाहिर पठाए । म्यान अफ दी म्याच जागृतिका गोलकर्ता मिलनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताको सोमबारको पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबिच हुनेछ । यसअघि आर्मीले पहिलो खेलमा मोरङको एलएक्स सिटी एफसीलाई ३–० ले हराएको थियो ।