पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ सम्भावनालाई बलियो बनाएको छ।
जितसँगै काठमाडौंले ६ खेलमा ६ अंक जोडेको छ। पराजित पोखराको समान खेलबाट चार अंक छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौंका लागि स्टेफन स्किनाजीले ६०, माइकल लेभिटले ३२, जेरार्ड इरास्मसले अविजित २५ र भीम सार्कीले २२ रन बनाए।
यसअघि पोखराका लागि रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित ४१ तथा दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बनाए।
काठमाडौंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समान एक-एक विकेट लिए।