वीरगन्जबाट डिजेल आयात घट्यो

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

वीरगन्जबाट डिजेल आयातमा घटेको छ । चालू आर्थिक वर्षको प्रथम चार महिनामा  डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव ०८१/८२ को चार महिनामा रु. २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार ७१९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु. ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए । 
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ ।  

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालू आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए। उनले भने, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।’

त्यसैगरी, चालू आवको चार महिनामा रु. १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार ८६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु. १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
 

सुझावित समाचार