विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीसहित तीन पक्राउ

विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल विक, सफाइ कर्मचारी राजन यादव र कतारबाट सुन लिएर आएका जनार्दन गुप्ता पक्राउ

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

बरामद भएकाे सुनकाे मूल्य करिब १७ लाख बराबरको छ

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीसहित तीनजना पक्राउ परेका छन् । कतारबाट आएका युवकले ल्याएको सुन पास गराउन प्रहरीलाई नै प्रयोग गरिएको हो । विमानस्थलमा कार्यरत प्रहरी जवान बाबुलाल विक, विमानस्थलका सफाइ कर्मचारी राजन यादव र कतारबाट सुन लिएर आएका जनार्दन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । 

विमानस्थल स्रोतका अनुसार गत २३ मंसिरमा फ्लाई दुबईको उडानमार्फत कतारबाट आएका गुप्ताले सो सुन ल्याएका थिए । उनले प्रहरी जवान विकलाई शौचालयमा सुन दिए । सो सुन लिएर निस्कन खोज्ने क्रममा प्रहरीले नै उनलाई नियन्त्रणमा लिएको हो । सुन लिएर आएका गुप्ता शौचालयमा अकमकिएपछि त्यहाँ रहेका सफाइ कर्मचारी राजनले जवानलाई दिनु भनेका थिए । जस आधारमा यादवको समेत यसमा मिलेमतोको आशंका गरिएको छ । 

सो दिन प्रहरी जवान बाबुलालको ड्युटी विमानस्थलको आन्तरिक टर्मिनलतर्फ थियो । आन्तरिकतर्फ खटिएका उनलाई अन्तर्राष्ट्रिय टर्मिनलको भन्सार क्षेत्रमा देखेपछि ड्युउटीमा रहेका अर्का प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट तस्करीको सुन बरामद भएको हो । 

प्रहरीले प्रहरी जवानसहित सुन ल्याउने जनार्दन र सफाइ कर्मचारी राजनलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रारम्भिक छानबिनमा सुन ल्याउने व्यक्ति भरिया हुन् । उनी वैदेशिक रोजगारबाट फर्किएका हुन् । सुन तस्करी गर्ने गिरोहले विमानस्थलमा कार्यरत सफाइ कर्मचारी र प्रहरीसँग मिलेर गौतम बुद्ध विमानस्थलबाट तस्करी सुरु गरेका थिए ।

यो घटनापछि विमानस्थल प्रहरी कार्यालयले प्रहरीकै ड्युटीमा पनि कडाइ थालेको छ । तोकिएकोबाहेक अन्य क्षेत्रमा जान रोक लगाइएको छ । यसरी बरामद सुन करिब १७ लाख मूल्यबराबरको छ । गौतम बुद्ध विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जवानसहित तीनजनालाई पक्राउ गरी भन्सार कार्यालय बुझाइएको र भन्सारबाटै विस्तृत अनुसन्धान भइरहेको बताए । 

सुझावित समाचार