‘पुष्पा २’ : निम्छरो कथा बोकेको भव्य चलचित्र

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

पुष्पा चलचित्र पुरुष अहंकारको सिनेमाटिक उत्सव हो, जहाँ शीर्षपात्रले आफ्नो जीवनमन्त्रका रूपमा ‘झुकेगा नहीं’लाई अँगालेको छ

तीन वर्षअघि प्रदर्शनमा आएको ‘पुष्पा : द राइज’ चलचित्रको शीर्ष नायक पात्रको भूमिका खेलेका अल्लु अर्जुनले बोलेको डाइलग ‘पुष्पा फ्लावर नहीँ फायर है में’ (पुष्पा भनेर फूल नसम्झिनू म आगो हुँ) चर्चित बनेको थियो । र, बहुप्रतीक्षित सिक्वेल ‘पुष्पा २ : द रुल’मा नायकपात्र अब आफूलाई ‘आगो’कै संज्ञामा चित्त बुझाएका छैनन्, उनी अब आफूलाई ‘वाइल्ड फायर’ (दावानल) को संज्ञा दिन्छन् ।

पुष्पा जो दैनिक मजदुरबाट सुरु हुँदै रक्तचन्दन तस्करीको शक्तिशाली गिरोह प्रमुख बनेझैँ यो सिक्वेलको महत्वाकांक्षा र स्तर पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । कथावस्तु गौणजस्तो लाग्छ र यो चलचित्र मुख्यतः पुष्पा पात्रमै केन्द्रित हुन्छ, जहाँ उसलाई एक पौराणिक छवि र असाधारण शक्तिको धनी बनाइन्छ । नतिजा– हातखुट्टा बाँधिएको अवस्थामा पनि पुष्पा दुस्मनको फौजसँग लड्न सक्छ । करिब दुई सय मिनेटको यो चलचित्र खुलेआम नायकपूजा र देवत्वकरणमा लिप्त छ । यो चलचित्र पुरुष अहंकारको सिनेमाटिक उत्सव हो, जहाँ पुष्पाले आफ्नो जीवनमन्त्रका रूपमा ‘झुकेगा नहीं’ (कहिल्यै झुक्दिनँ वा सम्झौता गर्दिनँ) लाई अँगालेको छ ।

सन् २०२४ को अन्त्य अर्थात् एक यस्तो वर्ष अन्त्यतिर जब हिन्दी चलचित्र उद्योग दर्शकको अपेक्षाअनुसार ‘चल्न’ संघर्ष गरिरहेको थियो, तब ‘पुष्पा २ : द रुल’ सफल भएजस्तो देखिन्छ । बक्स अफिसमा आँधी आउने संकेत पुष्पा २ को ट्रेलर सार्वजनिक भएदेखि नै स्पष्ट थियो । यो चलचित्रको प्रभाव झनै बलियो भएको छ, किनभने यसले अखिल भारतीय रूप लिएको छ । यसको ट्रेलर चलचित्र रिलिज हुनुभन्दा झन्डै तीन सातअगाडि पटनास्थित गान्धी मैदानमा सार्वजनिक गरिएको थियो, जहाँ मुख्य कलाकार अल्लु अर्जुन र रश्मिका मन्धानाको एक झल्को हेर्न विशाल भिड उपस्थित भएको थियो । यो भव्य प्रचार कार्यक्रमका लागि पटनाजस्तो स्थान छान्नु पक्कै पनि संयोग मात्र थिएन । यो एक सोचविचारपूर्वक गरिएको निर्णय थियो, जसले पुष्पा २ लाई केवल ‘दक्षिण भारतीय चलचित्र’का रूपमा मात्रै वर्गीकृत गर्न नहुने सन्देश दिन खोजेको थियो । सुरुदेखि नै यो चलचित्रलाई भारतभरका दर्शकलाई सिनेमा हलसम्म तान्ने उद्देश्यले तयार पारिएको अखिल–भारतीय आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो ।

यो योजना सफल भएको देखिन्छ । ‘बुक माई सो’ले खुलासा गरेअनुसार पुष्पा २ ले इतिहास रचेको छ । पुष्पा २ ले अग्रिम बिक्रीमा ३० लाख टिकट पार गर्दै भारतमा अहिलेसम्मकै सबैभन्दा ठुलो कीर्तिमान कायम गरेको छ । ‘स्याकनिक डट कम’का अनुसार चलचित्रको रिलिजपूर्वको व्यापार करिब १० अर्ब (भारतीय) रुपैयाँ पुगेको अनुमान गरिएको थियो, जसमा विश्वव्यापी रूपमा ६ अर्बको सिनेमाहलको चलचित्र प्रदर्शन अधिकार समावेश छ । नेटफ्लिक्सले यसको ओटिटी अधिकार दुई सय ७५ करोडमा खरिद गरेको छ र स्याटलाइट अधिकार ८५ करोडमा बेचिएको छ । चलचित्रको संगीत अधिकार पनि करिब ६५ करोडमा बेचिएको छ । यसअघि पुष्पाः द राइजले करिब चार अर्ब कमाएको थियो ।

सुरुदेखि नै पुष्पाका निर्माताले यसलाई वास्तविक जीवनसँग मेल नखाने ठुलो मनोरञ्जक चलचित्रका रूपमा परिकल्पना गरेका थिए भन्ने तथ्यले मद्दत गरेको छ । जसरी बाहुबली १ः द बिगिनिङ (२०१५) कटप्पाले अमरेन्द्र बाहुबलीलाई मारेको दृश्य देखाउँदै अन्त्य हुन्छ, पुष्पाः द राइज पनि एक रोचक कथानक मोडमा समाप्त हुन्छ । कथाको अन्त्यमा नायकले आफ्नो अपमानको बदला लिँदै आइपिएस अधिकृत भँवर सिंह सेखावत (फहाद फासिल) लाई निर्वस्त्र बन्न बाध्य गराउँछ । यसले भारतका दुई ठुला कलाकारको पर्दामा हुने आमनेसामने टकरावको मञ्च तयार पारेको थियो ।

पहिलो चलचित्रले निर्माण गरेको कथा र अपेक्षित परिणामले सिक्वेललाई कमजोर बनाएको छ । अर्जुनले निभाएको ‘पुष्पा’ पात्रले अधिकांश समय पर्दामा कब्जा गर्छ, जबकि फहादको भ्रष्ट प्रहरीको भूमिका कार्टुनजस्तो खलपात्रमा मात्रै सीमित रहन्छ । सम्भवतः सन् २०२१ को मूल चलचित्रको अप्रत्याशित अखिल भारतीय सफलताले प्रेरित सिक्वेलले आफ्नो मुख्य पात्रलाई ‘देवता’सँग तुलना गर्दै यसको औचित्यलाई नै समाप्त गरिदिएको छ । अर्थात्, पात्रले रक्तचन्दनका वन नष्ट गरेको छ र विरोध गर्नेलाई निर्दयतापूर्वक मार्नुबाहेक केही गरेको छैन । पुष्पालाई आफ्नो बुबाको नाम प्रयोग गर्न नपाएको आघातले सताएको देखाइन्छ । तर, यस पीडाको गहन अभिव्यक्ति देखिँदैन । उनका चम्किला एवं फूलबुट्टे सर्ट र सुनका गहना ‘अवैध सन्तान’ भनेर गरिएको उपहासलाई ढाकछोप गर्ने प्रयासजस्तो लाग्छ ।

पुरुष पात्रको लाज र ग्लानिको भार बोकेको कथावस्तु भएको चलचित्र नयाँ भने होइन । सन् १९७५ को दिवार चलचित्रमा ‘मेरा बाप चोर है’ (मेरो बुबा चोर हो) लेखिएको खलपात्रको पीडा वा सन् १९७८ को मुकद्दरका सिकन्दरको अनाथ पात्रको जीवन समेट्ने कथाले गहिरो प्रभाव छोडेका थिए । तर, पुष्पा २ ले आफ्नो मुख्य पात्रको ठुला जीवन्त छविका लागि कथाको गम्भीरतालाई बलि चढाएको छ । उल्लिखित पुराना चलचित्रको जस्तो गहिराइ यो चलचित्रले बोक्दैन । बरु यो चलचित्रले पुष्पाको शैली अर्थात् प्रख्यात ‘झुकेगा नहीं’ भन्ने डाइलग, कोरियोग्राफ गरिएका एक्सन दृश्य, भव्य नृत्य र ठुलो बजेटका सेटिङमा भर परेको छ । अर्थात्, जब पैसा ओइरिन्छ र कीर्तिमान तोडिन्छन्, नयाँ सिक्वेल पुष्पा ३ः र्याम्पेजको आधार तयार गरिनेछ ।

(साहनी चलचित्र समालोचक एवं इन्डियन एक्सप्रेसकी वरिष्ठ सम्पादक हुन्) द इन्डियन एक्सप्रेसबाट
 

सुझावित समाचार