देश छोडेर भागेका असद रुसको शरणमा

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

सिरियाको विद्रोही समूह हयात तहरिर अल साम राजधानी प्रवेश गरेपछि राष्ट्रपति असद र उनको परिवार मस्को पुगेको रुसी सञ्चारमाध्यमले जनाएका छन् 

सिरियाका राष्ट्रपति बसर अल–असद दमास्कसबाट भागेर मस्को पुगेका छन् । तीव्र विद्रोहपछि देश छाडेर भागेका असद रुस पुगेको बिबिसीले जनाएको छ । रुस असदको सत्ताको प्रमुख साझेदारमध्ये एक थियो । कुर्दिस इस्लामवादी नेतृत्वको विद्रोही समूह दमास्कसमा प्रवेश गरेपछि देश छाडेर भागेको केही घण्टापछि नै असद र उनको परिवार मस्को पुगेको रुसी सञ्चार माध्यमले जनाएका छन् । तर, रुसी प्रशासन क्रेमलिनले भने असद भागेर मस्को पुगेको भन्ने समाचार पुष्टि गरिसकेको छैन ।

आइतबार दमास्कस आफ्नो कब्जामा लिएपछि विद्रोही समूह हयात तहरिर अल साम (एचटिएस)ले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको थियो । देशको तेस्रो ठुलो सहर होम्सलाई नियन्त्रणमा लिएको केही घण्टापछि विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए ।  सिरियामा सन् २०११ मा असदको शासनविरुद्ध विद्रोह भएको थियो । सुरुमा शान्तिपूर्ण भएको आन्दोलन गृहयुद्धमा परिणत भएको थियो । युद्धमा विभिन्न क्षेत्रीय समूह र वैश्विक शक्ति सहभागी थिए । सिरियाली सेनालाई रुस र इरान समर्थित लडाकु समूहले असदको सेनालाई सहयोग गरेको थियो भने अमेरिकाले कुर्दिस विद्रोहीलाई सरकारविरुद्धको संघर्षमा साथ दिएको थियो । गृहयुद्धमा पाँच लाखको मृत्यु भएको छ भने एक करोडभन्दा बढी मान्छे विस्थापित भएका छन् ।

के भन्छ रुस ?
रुसी प्रशासन क्रेमलिनले असद दमास्कसबाट भागेर मस्को पुगेको भन्ने विवरण पुष्टि भने गरेको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘असद कहाँ छन् भन्नेबारे केही भन्न सक्दिनँ ।’ असदलाई शरण दिने वा नदिने भन्ने निर्णय राष्ट्रपति भ्लादिमिर पुटिनमा रहेको उनको भनाई थियो । ‘यदि रुसले असद र उनको परिवारलाई शरण दियो भने यो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लिने निर्णय हुनेछ,’ पेस्कोभले भने, ‘राष्ट्रप्रमुखविना यस्ता निर्णय गर्न सकिँदैन, यो पुटिनले गर्ने निर्णय हो ।’ रुसले युक्रेनका पूर्वराष्ट्रपति भिक्टर यानुकोभिचसहित कैयौँ अपदस्थ नेतालाई आश्रय दिएको छ । असदका छोरा पनि रुसको राजधानी मस्कोमा अध्ययन गरिरहेका छन् ।

पछिल्ला केही दिनयता सिरियामा भएका नाटकीय घटनाबाट क्रेमलिन आश्चर्यचकित भएको पेस्कोभले बताए । उनले भने, ‘जे भयो, त्यसले पूरै विश्वलाई आश्चर्यचकित बनाएको छ । यस मामिलामा हामी पनि अपवाद होइनौँ ।’ रुसले सिरियामा रणनीतिक रूपमा महत्वपूर्ण सैन्य र नौसैनिक शिविरहरू राखेको छ । तिनै शिविरहरूबाट मस्कोले सन् २०१५ मा असदको पक्षमा सैन्य हस्तक्षेप सुरु गरेको थियो । रुसकोे सैन्य अखडाको अवस्थाबारे उनले भने, ‘अहिले नै केही भन्न सकिने अवस्था छैन । यो सिरियामा सत्तामा रहने जोकोहीसँग छलफलको विषय हो ।’ उनले  ती अखडाको सुरक्षा निकै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘हामी सुरक्षा प्रदान गर्न सक्ने व्यक्तिसँग सम्पर्क गर्न सम्भव र आवश्यक सबै काम गरिरहेका छौँ । हाम्रो सेनाले पनि सावधानीका उपाय अपनाइरहेको छ ।’ पेस्कोभले सिरियामा विद्रोही सेनालाई समर्थन गर्ने टर्किएसँग रुस वार्तामा रहेको बताए ।

सिरियाको भविष्य सिरियालीले निर्धारण गर्नेछन् : गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएका छन् । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे । महासचिव गुटेरेसले ‘यस संवेदनशील घडीमा शान्ति कायम गर्न, हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न’ आह्वान गरेका छन् । सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई पुनस्र्थापित गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । 

सिरियामा राजनीतिक समाधान खोजियोस् : चीन
सिरियामा राजनीतिक समाधान खोज्न चीनले आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको जनाउँदै बसर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि राजनीतिक समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

बेइजिङले हालैका वर्षमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ । असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्वबाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङ र असदले दुई देशबिच ‘रणनीतिक साझेदारी’को घोषणा गरेका थिए । बेइजिङले ‘सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

‘सम्बन्धित सबै पक्ष सिरियाली जनताको आधारभूत हितका आधारमा अगाडि बढ्नेछन् र देशमा स्थिरता कायम गर्न यथाशीघ्र राजनीतिक समाधान खोज्नेछन्,’ प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने । आफ्नो परिवारसहित रुस भागेका असदसँग चीनको सम्पर्क छ कि छैन भन्ने प्रश्नको सीधा जवाफ भने माओले दिएनन् ।

सिरियाका हतियार प्रणालीमा इजरायलको हमला 
इजरायलले सिरियाका हतियार प्रणालीमा हमला गरेको छ । इजरायली विदेशमन्त्री गिडियोन सारले यसको पुष्टि गरेका हुन् । ‘बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू चरमपन्थीहरूका हातमा नपरून् भनेर हामीले रणनीतिक हतियार प्रणालीमा आक्रमण गर्‍यौँँ,’ उनले भने ।

बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सोमबार इजरायली सेनाले तटीय र दक्षिणी सिरियामा रातभर आक्रमण गरेको बताएको छ । ‘पूर्वशासनको पतनको घोषणा भएदेखि इजरायलले जानाजानी हतियार र गोलाबारुदका भण्डारहरू नष्ट गर्दै सघन हवाई आक्रमण गर्न थाल्यो,’ अब्जर्भेटरीले भन्यो । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि इजरायलले मुख्यतया सेना र इरान समर्थित समूहलाई लक्षित गर्दै देशमा सयौँ आक्रमण गरेको छ ।

See More On

सुझावित समाचार