एनपिएलका १५ खेलको प्रदर्शन

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रिमियर लिगमा अहिलेसम्म चारै खेल जित्ने जनकपुर र समान खेल गुमाउने लुम्बिनी, पोखराका एन्ड्रेस गौसका नाममा एक शतक

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार पहिलो ब्रेक लाग्यो । लगातार आठ दिनसम्म खेल भएपछि आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले सहभागी आठै फ्रेन्चाइज टोलीलाई आराम दिइएको हो । यो आठ दिनमा कुल १५ खेल भए । स्वदेशमा मात्र नभएर एनपिएल विदेशमा समेत चर्चा भइरहेको छ । एसोसिएट राष्ट्रहरूले आयोजना गर्ने फ्रेन्चाइज लिगमध्ये पहिलो संस्करणको एनपिएल अब्बल रहेको विदेशी क्रिकेटरहरूले जनाएका छन् । 

इंग्ल्यान्डदेखि अस्ट्रेलियाका पूर्वक्रिकेटरले समेत एनपिएलको प्रशंसा गरेका छन् । उनीहरूले त्रिवि मैदानको सौन्दर्य तथा दर्शकका कारण नै पहिलोपटकको प्रतियोगिताले सफलता पाएको दाबी गरेका छन् । एक दिनको विश्रामअघि आठमध्ये दुई टोलीले तीन र बाँकी ६ टोलीले चार खेल खेलेका छन् । पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले तीन खेल मात्र खेले । जनकपुर बोल्ट्सबाहेक सबै टोलीले हारको सामना गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले लगाचार चार खेल गुमाएको छ । प्रतियोगिताको आइतबार शीर्ष स्थानमा जनकपुरसँग एक रनको नमीठो हार लुम्बिनीले व्यहोरेको थियो । 

जनकपुरविरुद्ध लुम्बिनी जितको एकदम नजिक थियो । अर्को अर्थमा लुम्बिनीले हातमा आएको खेल आफ्नै गल्तीका कारण गुमाएको हो । जनकपुरले चार खेलमा शतप्रतिशत जित मात्र निकाल्यो । जनकपुरले ब्याटिङमा केही कमजोर प्रदर्शन गरे पनि बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । एक मात्र खेल गुमाउने धनगढी रोयल्स हो । लगातार तीन खेल जितेको धनगढी चौथो खेलमा चितवन राइनोजसँग पराजित भयो ।

पहिलो इनिङ्समा धेरै योगफल बनाउने लुम्बिनी 
एनपिएलमा पहिलो ब्याटिङ गरी सर्वाधिक योगफल बनाउने रेकर्ड लुम्बिनीले राखेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध १९१ रनको विशाल योगफल तयार पार्‍यो । तर, लुम्बिनीले विशाल योगफल रक्षा गर्न सकेन । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले लुम्बिनीलाई सनसनी रूपमा इनिङ्सकै अन्तिम बलमा पराजित गर्‍यो । यस खेलमा विराटनगरका लोकेश बलमे केवल ४७ बलमा तीन चौका र ६ छक्काको सहयोगमा ७१ रन जोडेका थिए ।

सर्वाधिक रनमा रोहित अगाडि 
चार खेलमा लुम्बिनीले सबैका आशाविपरीत नतिजा निकाल्यो । तर, कप्तान रोहितले भने आफ्नो ब्याटिङमा निराश कसैलाई पारेका छैनन् । उनी अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् । उनले चार खेलमा १ सय ८१ रन बनाएका छन् । रोहितले ४५.२५ को स्ट्राइकमा ब्याटिङ गरेका छन् । नेपाली खेलाडीमध्ये व्यक्तिगत सर्वाधिक रन बनाउने उनी मात्र हुन् । उनले पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको व्यक्तिगत स्कोर खडा गरेका थिए । शतकीय इनिङ्स खेल्न उनी पाँच रनले पछि परे । रोहितलाई जनकपुरका श्रीलंकाली पूर्वखेलाडी लाहिरू मिलन्थाले पछ्याइरहेका छन् । लाहिरूले चार खेलमा १ सय ६८ रन जोडेका छन् । चितवनका इंग्लिस खेलाडी रवि बोपारा १ सय ५७ रनका साथ तेस्रो स्थानमा छन् । विदेशी प्रशिक्षकहरूले वाहवाही पाएका भने सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा छन् । आक्रामक ब्याटिङ गरी उनले १ सय ४० रन बनाएर चौथो स्थान बनाएका छन् ।

स्ट्राइकमा दीपेन्द्रसिंह अगाडि
आइसिसी टी–२० अलराउन्डको वरीयतामा दीपेन्द्रसिंह दोस्रो स्थानमा छन् । उनले आफ्नो छविअनुसारै एनपिएलमा प्रदर्शन गरिरहेका छन् । सुदूरपश्चिमले सुरुका तीन खेल जित्दा उनको आक्रामक ब्याटिङसाथ पाएको थियो । दीपेन्द्रसिंहले चार खेलमा एक सय १४ रन बनाउँदा दुई सय स्ट्राइकमा ब्याटिङ गरिरहेका छन् । उनले चार खेलमा ७० बल मात्र सामना गरे । यसक्रममा एक अर्धशतक पनि रह्यो । उनले १० चौका र नौ छक्का प्रहार गरेका छन् । जनकपुरका नसिम दोस्रो स्थानमा छन् । उनले तीनमध्ये दुई खेलमा नटआउट रही १९० स्ट्राइकमा ब्याटिङ गरेका थिए । पोखराका अमेरिकन खेलाडी एन्ड्रेस गौसले दुई खेलमा १७४ स्ट्राइकमा ब्याटिङ गरे । एनपिएलमा पहिलो शतकीय इनिङ्स उनकै नाममा छ । गौसले १५ चौका र ६ छक्का प्रहार गरेका छन् ।

पाकिस्तानी तनविर धेरै विकेट लिने बलर
पाकिस्तानका पूर्वराष्ट्रिय खेलाडी सोहेल तनविरले एनपिएलमा चितवनबाट सनसनी मच्चाइरहेका छन् । उनले सुरुवाती दुई खेलमा आठ विकेट लिएर विपक्षी ब्याट्सम्यानहरूलाई तर्साएका थिए । उनले चार खेलमा १४.२ ओभर बलिङ गरी सर्वाधिक नौ विकेट लिएका छन् । यसक्रममा उनले २१ रन खर्चेर पाँच विकेटको प्रदर्शन गरेका थिए । तनविरले प्रतिओभर ४.६७ रनरेटमा बलिङ गरिरहेका छन् । पाकिस्तानलाई सन् २००९ मा आइसिसी टी–२० विश्वकप र राजस्थान रोयल्सलाई पहिलो संस्करणको इन्डियन प्रिमियर लिग उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । एनपिएलमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । उनीपछि सुदूरपश्चिमका नरेन साउद र जनकपुरका हर्ष थाकरले पाँच विकेट लिएका छन् । दोस्रो स्थानमा ललितनारायण राजवंशीले आठ र हर्षले आठै विकेट लिँदै तनविरलाई पछ्याइरहेका छन् । सुदूरपश्चिमका स्कट कुगेलेइन सात विकेटका साथ चौथो स्थानमा छन् । कर्णाली याक्सका विपिन शर्मा ६ विकेटका साथ पाँचौँ स्थानमा छन् ।

एक शतक, १६ अर्धशतक
एनपिएलमा १५ खेलको छिनोफानो हुँदा एक शतक तथा १६ अर्धशतकीय इनिङ्स भएका छन् । एनपिएलमा एक मात्र शतक पोखराका गौसले लुम्बिनीविरुद्ध १०४ रनको अविजित इनिङ्स खेले । सुदूरपश्चिमका सेफ जैब ९० रनमा आउट भए । चितवनका बोपाराले दुईपटक ५० रनभन्दा माथि रन बनाए । जनकपुरका मिलन्था र कप्तान अनिल शाह, सुदूरपश्चिमका दीपेन्द्रसिंह र ब्रेन्डन म्याकमुलन, कर्णाली याक्सका शिखर धवन, लुम्बिनीका विवेक यादव, विराटनगरका लोकेश र मार्टिन गप्टिल, चितवनका हसन इसाखिल अर्धशतक प्रहार गरेका छन् । 

See More On

सुझावित समाचार