गण्डकी प्रदेश सभामा रिक्त एक सदस्यमा कांग्रेसले स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले रिक्त पदमा थापालाई पठाउने निर्णय गर्दै उनको नाम अनुमोदन गरेको हो।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेको नामबाट आदिवासी, जनजाति महिला कोटामा थापालाई पठाउने निर्णय पार्टीले गरेको हो। यसअघि समानुपातिकतर्फ उक्त कोटामा निर्वाचित म्याग्दीकी विमला गौचनको डेंगुका कारण २८ कात्तिकमा मृत्यु भएपछि उक्त पद रिक्त थियो। बैठकको निर्णयपछि थापाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको छ।
कांग्रेसले आयोगमा पेस गरेको बन्दसूचीमा आदिवासी, जनजाति महिला कोटमा म्याग्दीकी गौचनको नाम पहिलो नम्बरमा थियो। त्यसपछि पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो भने थापाको नाम पाँचौँ नम्बरमा थियो।
०४९ सालमा स्याङ्जाको चापाकोटमा जन्मेकी सुनीताले ६ कक्षामा अध्ययन गर्दैगर्दा श्रवण शक्ति गुमाएकी थिइन्। उनी पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। अपांगता अधिकारका लागि क्रियाशील थापाले स्नातकसम्म अध्ययन गरेकी छिन्।