लुम्बिनीको मन्त्रिपरिषद् बैठकद्वारा कार्यविभाजन नियमावली हेरफेर

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले सरकार कार्यविभाजन नियमावलीमा हेरफेर गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक विकास मन्त्रालयमा गाभिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको काम तथा जिम्मेवारीको स्वामित्व लिने, नयाँ बनेको युवा तथा खेलकुद मन्त्रालयलाई काम तथा जिम्मेवारी थप्ने गरी कार्यविभाजन नियमावली हेरफेर गरेकाे हाे। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावलीका ६ वटा विभिन्न विषयहरूमा सामान्य हेरफेर, थपघट गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले जानकारी दिए। ‘यो सामान्य हेरफेर र थपघट गर्ने निर्णय हो। कुनै संरचनामा हेरफेर गरिएको होइन’मन्त्री तिमिल्सिनाले भने, ‘आवश्यकताका आधारमा नियमावली हेरफेरको काम गरिएको छ।’

प्रदेशमा युवा तथा खेलकुद नयाँ मन्त्रालय बनेको र त्यसलाई जिम्मेवारी थप गर्नेबारेमा नियमावलीले सम्बोधन गरिएको छ। मन्त्रालयहरू वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयनमा जुटिरहेको वेला पुरानो कार्यविभाजनले समस्या पारेपछि संशोधन गरेर गाँठो फुकाइएको प्रदेश सरकारले जनाएको छ।

सुझावित समाचार