सार्क बडापत्रका ४० वर्ष : शुभकामना सन्देशमै भारत–पाकिस्तान टकराब

सोमबार, २४ मंसिर, २०८१
डिजिटल संस्करण

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को बडापत्र जारी भएको ४०औँ वर्ष प्रवेशमा सात सदस्य मुलुकका शीर्ष नेताले शुभकामना दिँदै सार्कको महत्वमा जोड दिएका छन् । तर, भारत र पाकिस्तानका प्रधानमन्त्रीले एक–अर्को देशलाई लक्षित गर्दै शुभकामना सन्देशमै टकराब सार्वजनिक गरेका छन् । यद्यपि, उनीहरूले सार्क प्रक्रियामा भने जनाएका छन् । यी दुई देशबिचको तनावका बिच सार्कको १९औँ सम्मेलन अनिश्चित छ ।

प्रधानमन्त्री केपी ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्धिन, प्रमुख सल्लाहकार डा. मुहम्मद युनुस, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइजू, पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहबाज सरिफ, श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके र प्रधानमन्त्री हरिणी अमरासुरियाले सन्देश जारी गरेका छन् । सार्क सचिवालयका अनुसार नेपाल, श्रीलंका र माल्दिभ्सले आइतबार सार्क बडापत्र घोषणा भएको दिनका रूपमा सन्देश जारी गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले शान्ति र सुरक्षाको वातावरण सार्क प्रक्रियाका लागि आवश्यक भएको सन्देशमा भनेका छन् । ‘सार्कको सम्पन्नता र आर्थिक विकास प्राप्त गर्न र क्षेत्रीय सहकार्य अघि बढाउन शान्ति र सुरक्षाको वातावरण आवश्यक छ,’ पाकिस्तानलाई लक्षित गर्दै मोदीको सन्देशमा उल्लेख छ । शान्तिपूर्ण तथा अन्तरसम्बन्धित दक्षिण एसियाको साझा दृष्टिकोणमा काम गर्न भारत तयार रहेको उनले बताए । विविध क्षेत्रमा आपसी सहकार्यका लागि लिइएका पहल अघि बढाउन भारत प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले सार्क अघि बढ्न सार्वभौम समानता र पारस्परिक सम्मानको सिद्धान्त आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘सार्वभौम समानता तथा पारस्परिक सम्मानको सिद्धान्त आत्मसात् गरेर मात्रै सार्कले सम्पन्न, अन्तरसम्बन्धित तथा विकसित दक्षिण एसियाको लक्ष्य प्राप्त गर्न सक्छ, यसका लागि पाकिस्तान तयार छ,’ सरिफले भने ।

बंगलादेशका राष्ट्रपति साहबुद्धिनले दक्षिण एसियाली मुलुकबिच सहकार्य तथा सामाजिक–आर्थिक विकासका लागि सुनौलो अवसरका रूपमा सार्क बडापत्र जारी भएको उल्लेख गरे । उनले वातावरण संरक्षण, प्रकोप तयारी, जनस्वास्थजन्य, गरिबी निवारणका क्षेत्रमा सार्कले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । उनले सार्कको आदर्शप्रति बंगलादेश प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सार्कमा धेरै उपलब्धि भएको, तर अझै काम गर्न बाँँकी रहेको बताए । सार्क दृष्टिकोणका लागि प्रतिबद्धता नवीकरण गर्ने बाध्यकारी आवश्यकता रहेकोमा पनि जोड दिए । शान्तिपूर्ण, सम्पन्न र समावेशी सार्क अघि बढाउन प्रस्ताव गरेका छन् ।

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले शान्ति र समुन्नतिका लागि सहकार्य र मित्रतामा जोड दिएका छन् । उनले साझा समझदारी वृद्धि गर्न सार्कले सबैलाई मञ्च उपलब्ध गराएको भन्दै सबै मिलेर सार्कको प्रारूपअन्तर्गत काम गर्नुपर्नेमा जोड दिए । उनले सार्क प्रक्रियाप्रति प्रतिबद्धता पनि जनाए ।

श्रीलंकाका राष्ट्रपति दिसानायकेले गरिबी निवारण, दिगो विकास, आर्थिक एकीकरण र सामाजिक प्रगति हासिल गर्ने प्रयासमा जोड दिएका छन् । उनले दक्षिण एसियालाई गतिशील क्षेत्र बनाउन सबै मिलेर काम गर्नुपर्ने पनि उल्लेख गरे । श्रीलंकाकै प्रधानमन्त्री अमरासुरियाले क्षेत्रीय सहकार्यले मात्रै भविष्यका चुनौतीहरू पराजित गर्न सकिने र जनताको समुन्नति हासिल गर्न सकिनेतर्फ ध्यानाकर्षण गराएकी छिन् ।

सार्कका महासचिव गोलाम सरबरले इतिहास, संस्कृति र भूगोलले दक्षिण एसियालाई एक ठाउँमा राखेको उल्लेख गर्दै सबै मिलेर साझा अवसर सदुपयोग गर्नुपर्ने र साझा चुनौती सामना गर्नुपर्नेमा जोड दिएका छन् ।

१९औँ सम्मेलन अनिश्चित
सार्कको १९औँ शिखर सम्मेलन भारत र पाकिस्तानबिचको तनावका कारण अहिलेसम्म हुन सकेको छैन । सार्कको १८ औँ शिखर सम्मेलन २०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको थियो । त्यसयता नेपाल सार्कको अध्यक्ष मुलुक छ । सार्कको ३५ वर्षे इतिहासमा १८ वटा शिखर सम्मेलन भएका छन् भने पाँचवटा शिखर सम्मेलन मात्रै तोकिएको समय र देशमा सम्पन्न भएका छन् । पाँचवटा सम्मेलन समयमै भएका छन् । तर, पूर्ववत् सहमतिभन्दा फरक देशमा सम्पन्न भएका छन् । आठवटा शिखर सम्मेलन भने समयमै भएका छैनन् । नेपालले आयोजना गरेका दुईवटा शिखर सम्मेलन तोकिएभन्दा दुई वर्ष ढिलो भएका छन् ।

सहमतिमा सम्मेलन गरौँ : ओली 
प्रधानमन्त्री एवं सार्कका अध्यक्ष केपी ओलीले सहमतिका आधारमा सार्कको १९औँ शिखर सम्मेलन आयोजना गर्न प्रस्ताव गरेका छन् । ‘सहमतिका आधारमा सार्कको १९औँ शिखर सम्मेलन गरी सार्कलाई गतिशील बनाउनुपर्छ । विश्वव्यापी भूराजनीतिमा भएको गतिशील परिवर्तन, अन्तर–राज्य सम्बन्धको जटिलता तथा एआईलगायत प्रविधिको विकासलाई ध्यानमा राख्दै सार्कलाई महत्वपूर्ण क्षेत्रीय मञ्चका रूपमा अघि बढाउनु आवश्यक छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । उनले बलियो सहयोगको प्रारूप अँगाल्नुपर्ने तथा जलवायु परिवर्तन, गरिबी, अन्तर्राष्ट्रिय संगठित अपराधका कारण उत्पन्न हुने चुनौती सम्बोधन गर्नुपर्ने बताए । ‘सार्क अध्यक्षका रूपमा नेपाल बडापत्रको स्पिरिटका आधारमा सहमति, मित्रता तथा आपसी एकताको आधारमा अन्य सदस्य मुलुकहरूसँग सहकार्य गर्न तयार छ,’ ओलीले भने । 

सुझावित समाचार