पोखरा महानगरपालिका–१७, घारीपाटनस्थित हिमालयन बोर्डिङ स्कुल र पोखरा–१६ लामाचौरस्थित सरस्वती आदर्श विद्याश्रम १८औँ प्याब्सन कास्की स्पोर्टस् मिट–०८१ को च्याम्पियन बनेका छन्। प्याब्सन कास्कीको आयोजनामा पाँच दिनसम्म चलेको प्रतियोगितामा समान १२-१२ अंक प्राप्त गर्दै दुई विद्यालय च्याम्पियन बनेका हुन्।
आइतबार आयोजित समापन समारोहमा विजेता विद्यालयहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट, हिमालयनका प्रिन्सिपल डा. टेकनारायण पौडेल र सरस्वतीका स्वागतमानसिंह भण्डारीलाई रनिङ सिल्ड हस्तान्तरण गरेका थिए।
टिम इभेन्टतर्फ ह्यान्ड बलमा दुवै स्कुल विजेता र उपविजेता भएका थिए। हिमालयन गर्ल्सतर्फ पहिलो र ब्वाइजमा दोस्रो हुँदा सरस्वती ब्वाइजमा पहिलो र गर्ल्समा दोस्रो भएको थियो।
मिटमा १ देखि १० कक्षासम्मका विद्यार्थीबिच भएको छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्यान्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेलहरूमा चार हजार पाँच सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।
११ र १२ कक्षाका विद्यार्थीबिच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरू भएको अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिए।
९९ विद्यालय सदस्य रहेको प्याब्सन कास्कीअन्तर्गत ७५ हजार विद्यार्थी अध्ययनरत रहेकाे उनले जानकारी दिए।