दोस्रो कञ्चनजंघा फुटबलको उपाधि गोधूलि क्लबलाई

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरी धरानको गोधूलि फुटबल क्लबले चुमेको छ। शनिबार भएको फाइनल खेलमा डेभिल्स फुटबल क्लब इलामलाई ४–१ गोल गर्दै गोधूलिले उपाधि उचालेको हो।

खेलको ४५ मिनेटमा विदेशी खेलाडी कार्लोसले गोल गर्दै गोधूलि फुटबल क्लबलाई अग्रता दिलाएका थिए। इलामको डेभिल्सले आक्रामक खेले पनि दोस्रो बन्न सफल भयो। खेलको मध्यान्तरपछि अर्थात् ५२औं मिनेटमा पुनः गोधूलि धरानका शिशिर लेखीले गोल गर्दै २–० बनाउँदै अझै अग्रता दिलाए।

घम्साघम्सीका साथ भएको फाइनल खेलको ६६ मिनेटमा गोधूलिकै संजय श्रेष्ठले गोल गर्दै ३–० बनाएका थिए। फेरि खेलको ७८औँ मिनेटमा दोर्जे शेर्पाले १ गोल थप्दै गोधूलि धरानका पक्षमा ४–० गोल बनाए। तर, डेभिल्स इलामले खेलको ८८औँ मिनेटमा पेनाल्टी पाएपछि १ गोल गर्न सफल भए। इलामका सुगम हजुमले हानेको पेनाल्टी जाली चुमेपछि ४–१ भएको थियो। अन्ततः गोधूलि उपाधि चुम्न सफल भयो। 

प्रतियोगिताका बिजेता सुनसरीको गोधूलि फुटबल क्लबले तीन लाख दुई हजार ८१ रुपैयाँ पाएको छ भने इलामको डेभिल्स फुटबल क्लबले दोस्रो हुँदै एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गरेको छ। 

सुझावित समाचार