पर्साका दुईजना फुटबलका प्रशिक्षक सुलभजंग राणा र ग्रीष्ममणि शाक्य यू- १६ राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा नियुक्त भएका छन। वीरगन्ज महानगरपालिका- ११, श्रीपुरनिवासी सुलभजंग राणा यू-१६ राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएको अखिल नेपाल फुटबल संघले जनाएको छ।
यस्तै, वीरगन्ज महानगरपालिका- ९ रानीघाटनिवासी ग्रीष्ममणि शाक्य सहायक प्रशिक्षकमा नियुक्त भएको अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले जानकारी दिए।
उनका अनुसार भुटानको यू-१६ राष्ट्रिय महिला टोलीसँग यही डिसेम्बर २० मा हुने मैत्रीपूर्ण खेलको लागि मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा उनीहरूलाई नियुक्त गरिएको हो। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नवनियुक्त प्रमुख प्रशिक्षक राणा र सहायक प्रशिक्षक शाक्यलाई नियुक्ति पत्र हस्तान्तरण गरिएको हो।