पहिलो जितको लक्ष्यमा रहेको लुम्बिनीलाई सुदुरपश्चिमले दियो १८८ रनको लक्ष्य

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

 नेपाल प्रिमियर लिगको १२ औं खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको हो । २० ओभरमा चार विकेट गुमाउँदै सुदुरपश्चिमले १८७ रन बनाएको हो। 

लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गरेको थियो । सुरुका दुई खेल हारेको लुम्बिनी पहिलो जितको लक्ष्यमा छ भने सुदुरपश्चिम तेस्रो जितको प्रयासमा छ। 

इंग्ल्यान्डका २६ वर्षीय सैफ जैबको अर्धसतकप्रेरित सुदूरपश्चिम रोयल्सले उच्च स्कोर बनाएको हो । 

बायाँ हाते ब्याटिङ्  अलराउन्डर जैबले ६१ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ९० रन बनाए । उनी प्रतियोगितामा ९० रन बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि रोहितकुमार पौडेल र आन्द्रेस गौसले ९० रन कटाएका थिए । अमेरिकाबाट खेल्दै आएका गौसले भने सतक नै बनाए । जैबले यसअघि  विराटनगरविरुद्ध १४ तथा काठमाडौंविरुद्ध ११ रन मात्रै बनाएका थिए । 

कप्तान दीपेन्द्रले १९ बलमा चार चौका र २ छक्कासहित अविजित ३९ रन बनाए । दीपेन्द्र र जैवबीच तेस्रो विकेटको लागि ५३ रनको साझेदारी भएपछि सुदूरपश्चिमले विहानी खेलमै ठूलो स्कोर बनाएको थियो । 

अर्का ओपनर विनोद भण्डारी १७ रन बनाएर आउट भएका थिए । जैव र विनोदबीच पहिलो विकेटको लागि ४९ रनको साझेदारी भएको थियो । तेस्रो नम्बर क्रिजमा आएका ब्रान्डन म्याकमुलेनले २३ रनको योगदान गरे । आरिफ शेख गोल्डेन डक आउट भए । स्कट कुगेलेइनले ६ बलमा एक छक्कासहित अविजित ११ रन बनाएका हुन् । 

बलिङतर्फ लुम्बिनीका रमोन सिमन्ड्ले चार ओभरमा ३२ रन दिएर दुई विकेट लिएका थिए। रोहित पौडेल र विवेक यादबले पनि १/१ विकेट लिएका छन्। रोहितले किफायती बलिङ गर्दै चार ओभरमा २२ रन मात्र दिएका थिए। 

सुझावित समाचार