कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई एनपिएलमा १७१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७० रन बनायो ।
कप्तान रोहितले ५९ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९५ रन बनाए । तीन रन लिने क्रममा उनी अन्तिम बलमा रनआउट भएका थिए । यसअघि रोहितले ३५ बलमा अर्धशतक बनाएका थिए । उनले विराटनगरसँग ४६ रन बनाएर आउट भएका थिए । रोहित नै प्रतियोगितामा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनी प्रतियोगितामा अर्धशतक बनाउने दशाैँ खेलाडी पनि हुन् । यसअघि नेपालकै लोकेश बम, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरीले अर्धबतक बनाएका थिए ।
रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको बलियो साझेदारी गरेका थिए । रनआउट भएका टमले ३८ बलमा समान दुई चौका र छक्कासहित ४५ रन बनाए । यसअघि ओपनर आसुतोष घिरैया र भारतलाई यू–१९ विश्वकप जिताएका ओपनर उन्मुक्त चन्द डकआउट भएका थिए । २.२ ओभरमा लुम्बिनीले १४ रन जोड्दा दुई विकेट गुमायो । ६.१ ओभरमा ४६ रन बनाउँदा तेस्रो विकेटको रूपमा सन्दीप जोरा व्यक्तिगत १८ रन बनाएर आउट भए ।
पोखराका विपिन खत्रीले दुई तथा म्याट क्रिच्लीले एक विकेट हात पारे । प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो । पोखरा भने जनकपुरसँग सात विकेट तथा चितवनसँग ८७ रनको हारेको थियो । आज नै भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ ।