सडकनाटकमार्फत सचेतना फैलाउँदै सल्यान प्रहरी

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

सल्यान प्रहरीले जिल्लामा हुने सबै किसिमका हिंसा, अपराध तथा अन्धविश्वासका विरुद्ध सडकनाटक अभियान सञ्चालन गरेको छ । स्थानीय तहको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सल्यानले सडकनाटक अभियान सञ्चालन गरेको हो । 

सामाजिक अपराध तथा बालविवाहविरुद्ध विभिन्न कार्यक्रम गरे तापनि घटनामा कमी आउन नसकेपछि सचेतना फैलाउन सडकनाटक अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी केशरकुमार न्यौपानेले बताए । 

प्रशिक्षण तथा कार्यक्रमभन्दा सडकनाटकले सर्वसाधारणलाई छिटो छुने भएकाले सडकनाटकमार्फत सामाजिक अपराधविरुद्ध अभियान सञ्चालन गरेको उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म सबै प्रकारका हिंसा, अपराध, बालविवाह तथा अन्धविश्वास न्यूीकरणका लागि गरिएका कार्यक्रम सभाहलमा निश्चित व्यक्ति सहभागी भएर सम्पन्न हुने गरेका छन् । जसका कारण ग्रामीण क्षेत्रमा बस्दै आएका सर्वसाधारणले थाहा नै पाउँदैनन् । त्यसकारण खुला स्थानमा सडकनाटक देखाउँदा प्रभावकारी देखिएकाले यो अभियान चलाइएको हो ।’ 

जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानमा सचेतनामूलक सडकनाटक देखाइरहेको प्रहरी प्रमुख न्यौपानेले बताए। गत वर्ष अपराध तथा हिंसासम्बन्धी ८६ घटना भएका र चालू आर्थिक वर्षको चार महिनामा १६ मुद्दा परेको प्रहरीको भनाइ छ । 
 

सुझावित समाचार