गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन्। आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए।
वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिए।
‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्,’ गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ, तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ।’ उनले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए।
संविधानको भावनाअनरूप समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधेयक संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने गरी गृह मन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो।
जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृति महिला महासंघलगायतका २६ संस्थाका प्रतिनिधि आएका थिए।