साउदी अरेबियाले सन् २०२४ मा मात्रै तीन सयभन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। गृह मन्त्रालयलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीनजनालाई र अर्का हत्याका एक दोषीलाई मंगलबार पनि मृत्युदण्ड दिएको जनाएको छ। राज्यकै सञ्चारमाध्यमको रिपोर्टमा आधारित तथ्यांकअनुसार योसहित यस वर्षका लागि मृत्युदण्डको कुल संख्या तीन सय तीन पुगेकाे छ।
राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो। यसले हालका हप्ताहरूमा मृत्युदण्डको गति तीव्र रहेको देखाउँछ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा साउदी अरेबियाले चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीहरूलाई मृत्युदण्ड दिएको थियो।
यसअघि सन् २०२२ मा देशमा एकै वर्षमा मृत्युदण्डको रेकर्ड संख्या १९६ पुगेको थियो। लन्डनस्थित मानव अधिकार समूहले सन् १९९० मा वार्षिक तथ्यांक दर्ता गर्न थालेको बताएको छ।
बर्लिनस्थित युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (इएसओएचआर) का कानुनी निर्देशक ताहा अल–हज्जीले सन् २०२४ मा मृत्युदण्डको ‘रकेट गति’ को निन्दा गर्दै यसलाई ‘बुझिन नसक्ने र अस्पष्ट’ भनेका छन्।
मानव अधिकारकर्मीहरूले पहिले साउदी अरेबियाले यस वर्ष तीन सयभन्दा बढी मृत्युदण्ड दिन सक्ने चेतावनी दिएका थिए। प्रतिदिन करिब एउटा मृत्युदण्ड दर्ता भइरहेको छ।