तस्करीको तीन केजी सुन गायब प्रकरण : घटनामा संलग्न नेपाल प्रहरीका असइ तिवारी निलम्बनमा

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो । 

केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना प्राप्त गरेपछि प्रहरीकै मिलेमतोमा गायब पारिएको सूचना चुहिएसँगै प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो । उक्त सुन प्रकरण छानबिनमा विशेष ब्युरोमा कार्यरत तिवारीको संलग्नता देखिएपछि निलम्बन गरिएको हो । अनुसन्धान अवधिभर उनलाई प्रहरीको महाराजगन्जस्थित १ नम्बर गणमा राखिएको थियो । 

चण्डीप्रसाद घिमिरे महानिर्देशक, राजस्व अनुसन्धान विभाग 
केरुङ नाकाबाट तस्करी भई आएको तीन केजी सुन र लुटपाट घटनाबारे जानकारी प्राप्त भयो । घटना अनुसन्धानका लागि विभागले छानबिन समिति नै गठन गरेको थियो । त्यही क्रममा एकविरुद्ध पक्राउ पुर्जी पनि जारी भएको हो । तर, अर्जुनजंग थापा भन्ने व्यक्तिका बारेमा भने हालसम्म केही जानकारी प्राप्त हुन सकेको छैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले सुन तस्करीमा संलग्न भएको पाइएपछि असइ तिवारीलाई निलम्बन गरिएको बताए । ‘केरुङ नाकाबाट तीन किलो सुन तस्करी भएर काठमाडौं आउँदै रहेछ । घटनामा विशेष ब्युरोमा कार्यरत असइ सविन तिवारीको भूमिका शंकास्पद देखियो । एक त विशेष ब्युरोको प्रकृति त्यस्ता घटना अनुसन्धान गर्ने होइन । अर्को, प्राप्त सूचनालाई उनले अन्यत्र दिए । त्यसो हुँदा उनको भूमिका शंकास्पद देखियो । उनी अहिले निलम्बनमा परेका छन् ।’

असइ तिवारीको संलग्नताको सूचना पाएपछि नै अनुसन्धान गर्न प्रहरीले एसएसपी कार्कीको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको थियो । तर, घटनामा संलग्न भनिएका आफूलाई सशस्त्रको ‘डिएसपी अर्जुनजंग थापा’ बताउने व्यक्तिका सन्दर्भमा भने अनुसन्धानमा केही खुलेको छैन, जसलाई असइ तिवारीले केरुङबाट तस्करी भएर आएको सुनबारे सूचना दिएका थिए । त्यसपछि उक्त सुन रहस्यमय तरिकाले लुटिएको थियो । प्रहरी प्रवक्ता कार्कीले भने, ‘असइ तिवारीले सशस्त्र प्रहरीका डिएसपी अर्जुनजंग थापा बताउने व्यक्तिलाई सूचना दिएको देखिन्छ । ती व्यक्ति को थिए भनेर हालसम्म खुल्न सकेको छैन । यस विषयमा प्रहरी अनुसन्धानरत नै छ ।’ 

प्रहरीका अनुसार कन्टेनरचालक वाइबाले चालक सिटनजिकैको बत्ती जडान हुने ठाउँमा ‘कन्सिल’ गरी केरुङ नाकाबाट सुन ल्याएका थिए । यसका लागि तस्करले उनलाई एक लाख रुपैयाँ दिने प्रलोभन दिएका थिए । काठमाडौंमा सुन ‘रिसिभ’ गर्ने टोली आउने र सुन उसैलाई जिम्मा लगाउने निर्देशन पनि तस्करले वाइबालाई दिएका थिए । सोही निर्देशनअनुसार वाइबा सुन बोकेर रसुवाको बाटो हुँदै आउँदै थिए । तर, मनमा डर पैदा भएपछि उनले मामाका छोरा नेमा छिरिङलाई त्यसबारे सुनाए । प्रहरीले पक्राउ गरे थुनामा पर्ने, तर सूचना दिए कमिसन आउने भएपछि नेमाको मनमा जुक्ति फुर्‍यो, ‘घटनाको सूचना प्रहरीलाई दिने ।’ उनले आफ्नो योजना मामा वाइबालाई भने । उनी भान्जा नेमाको योजनामा सहमत भए । नेमाको सम्पर्क नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत असइ तिवारीसँग थियो । उनले घटनाको विवरण असइलाई भने । तर, तिवारीले आफूलाई प्राप्त सूचना आफू कार्यरत संगठनमा भनेनन् । हरिहर भवनस्थित राजस्व अनुसन्धान विभागमा कार्यरत सशस्त्रका ‘डिएसपी अर्जुनजंग थापा’ बताउने व्यक्तिलाई भने । ‘डिएसपी थापा’ले नेमालाई तत्काल भेटे । बालाजु औद्योगिक क्षेत्रमा सुनसहित तस्करीमा संलग्नलाई रंगेहात पक्राउ गर्ने योजना बन्यो । 

सूचना दिने नेमासँग सशस्त्रको डिएसपी बताउने अर्जुनजंग थापा र सशस्त्रकै सइ बताउने विशाल खड्का २५ साउनको बिहान ५ बजेदेखि नै पकनाजोलस्थित गुरुङ क्याफेमा थिए । हतियारसहित रहेका उनीहरू कन्टेनर आए÷नआएको जानकारी नेमामार्फत लिइरहेका थिए । जब सुन लुटिएको खबर प्राप्त भयो, त्यसलगत्तै सशस्त्रका डिएसपी बताउने थापा र सइ बताउने खड्काले नेमालाई पक्राउ गरेका थिए । पछि कन्टेनर चलाएर आएका वाइबालाई पनि पक्राउ गरे । 

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपाने सशस्त्रमा अर्जुनजंग थापा नामका कुनै अधिकृत नभएको बताउँछन् । उनले भने, ‘केरुङ नाकाबाट तीन केजी सुन तस्करी भएर आएको र पछि लुटपाट भएको सूचनाबारे हामी जानकार छौँ । घटनामा आफूलाई सशस्त्रको डिएसपी अर्जुनजंग थापा बताउने व्यक्तिको नामबारे हामीले पनि सुनेका छौँ । भेरिफाई गर्दा त्यस्तो नाम गरेको कुनै अधिकृत हामीकहाँ रहेको भेटिएन । त्यसो हुँदा हामीले यो घटनालाई अनुसन्धान गर्नुपर्ने आवश्यकता नै ठानेनौँ ।’
 

सुझावित समाचार