अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा नेपाल टेबल फुसबल संघले पोखराको शिशु विकास केन्द्रमा फुसबल टेबल साँकर टेबल दान तथा स्थापना गरेको छ। ४७ वर्षदेखि सञ्चालनमा रहेको यो पुनर्स्थापना केन्द्रले डाउन सिन्ड्रोमलगायत विभिन्न न्युरो अवस्थाका बालबालिकाहरूलाई सेवा प्रदान गर्दै आएको छ।
फुसबल, जसलाई टेबल साँकर पनि भनिन्छ, फुटबलको मोडलमा आधारित एउटा टेबल खेल हो जसले ध्यान केन्द्रित गर्ने क्षमता, समन्वय र टोली भावना विकास गर्न सहयोग गर्दछ। हालका वर्षहरूमा यो समावेशी गतिविधिका रूपमा लोकप्रिय बनेको छ, जसले विभिन्न क्षमता भएका व्यक्तिहरूको मानसिक र शारीरिक विकासलाई प्रोत्साहन गर्दछ।
यो दान कार्यक्रमलाई नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले ढुवानी साझेदारका रूपमा र संकटा क्लब, काठमाडौंले तालिम साझेदारका रूपमा सहयोग प्रदान गरेका थिए। स्थापना, अभिमुखीकरण, र तालिमका सबै गतिविधि नेपाल टेबल फुसबल संघका संस्थापक तथा महासचिव उमेश घिमिरेले समन्वय गरेका थिए।
‘फुसबल केवल खेल मात्र होइन, यो सहभागिता, अन्तर्क्रिया र सीप विकासको माध्यम हो,’ घिमिरेले बताए, ‘यो टेबल शिशु विकास केन्द्रमा ल्याउन पाउँदा हामी सम्मानित महसुस गर्छौँ। यसले यहाँका बालबालिकाहरूलाई मोटर स्किल्स, सामाजिक अन्तर्क्रिया र आत्मविश्वास वृद्धि गर्न सहयोग पुर्याउनेछ।’
कार्यक्रमको क्रममा संकटा क्लबको तालिम टोलीले केन्द्रका कर्मचारी र रेखदेखकर्ताका लागि अभिमुखीकरण सत्र सञ्चालन गरी, फुसबललाई केन्द्रको दैनिक गतिविधिमा समावेश गर्नका लागि आवश्यक ज्ञान प्रदान गरेकाे छ। यो पहलले बालबालिकाहरूलाई रमाइलो र थेराप्युटिक गतिविधि प्रदान गर्दै उनीहरूको विकासलाई समर्थन गर्ने लक्ष्य राखेको छ।
शिशु विकास केन्द्रका कर्मचारीले यो सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमलाई स्वागत गरे। ‘यो फुसबल टेबलले हाम्रो रेखदेख विधिलाई नयाँ आयाम थप्नेछ। बालबालिकाहरूका लागि यो अदभूत उपहार हो,’ एक कर्मचारीले भने।
नेपाल टेबल फुसबल संघले नेपालभर फुसबलको प्रवर्द्धन गर्दै आएको छ, विशेषगरी न्युरोडाइभर्जन्ट बालबालिकाहरूलाई व्यवहार विकासका लागि संलग्न गराउँदै यो पहल संघको समावेशिता र खेलको माध्यमबाट सशक्तीकरण गर्ने लक्ष्यसँग मेल खान्छ।
यस दानद्वारा संघले फुसबललाई सबैका लागि परिवर्तनकारी गतिविधिका रूपमा अगाडि बढाउने आफ्नो यात्रालाई निरन्तरता दिएको छ। खेलले दूरी कम गर्न र हरेक योग्य अनुहारमा मुस्कान ल्याउन सक्ने प्रमाण फेरि प्रस्तुत भएको छ।