बदर मतको विवादले उदयपुरको बेलका– ९ मा रोकियो मतगणना

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

गएको रातिदेखि बदर मतको विवादले उदयपुरको बेलका नगरपालिका– ९ मा मतगणना रोकिएको छ । धेरै संख्यामा मत बदर भेटिएपछि दलका प्रतिनिधिबिच विवाद हुँदा मतगणना रोकिएको हो ।

बेलका– ९ का निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले पाँच सय मतगणना सकिएपछि सदर र बदर मतको विषयमा दलहरूबिच विवाद हुँदा मतगणना अहिले ११ः३० बजेसम्म रोकिएको बताए । उनले भने, ‘अहिले पनि हामी सर्वदलीय बैठक बसिरहेका छौँ । कसरी मतगणना गर्ने भन्ने कुनै पनि निष्कर्ष निस्किएको छैन । यो बैठकपछि हामी के गर्ने भनेर निर्णय लिने तयारीमा छौँ ।’

उनका अनुसार पाँच सय मत गणना हुँदा २२० मत बदर भेटिएको थियो । मत गणना रोकिनुभन्दा अघिसम्मको मतपरिणामअनुसार नेकपा एमालेको मोहन खड्काले ८५, नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० र नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत प्राप्त गरेका छन् । 

सर्वदलीय बैठकमा चिह्नभन्दा अन्य ठाउँमा संकेत देखिए बदर गर्ने सहमति भएको थियो । सोहीमुताबिक गणना प्रक्रिया अघि बढे पनि विवाद हुँदा रोकिएको गुप्ताले बताए । 
नेकपा माओवादी केन्द्रले भने पुनः मतगणना गर्नुपर्ने माग राखेको छ । तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको छ । बेलका नगरपालिका– ९ मा सातजना प्रतिस्पर्धामा छन् । 

गएको ०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो वडामा कांग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको थियो । 

सुझावित समाचार